हेवा खोलाको बाढी नघट्दा खोजउद्धार प्रभावित, सुरक्षाकर्मी र जनप्रतिनिधि घटनास्थलमा – Nepal Press

हेवा खोलाको बाढी नघट्दा खोजउद्धार प्रभावित, सुरक्षाकर्मी र जनप्रतिनिधि घटनास्थलमा

विराटनगर । सङ्खुवासभा सभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढी र पहिरोका कारण धन जनाको क्षति भए पनि उद्धार र राहतमा समस्या भएको छ ।

घटना स्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी पुगे पनि खोलामा ठुलो बाढी आएका कारण खोजविनामा समस्या भएको छ । हेवा खोला र पिलुवा खोलामा आएको बाढी नघटेकाले खोजबिनमा समस्या भएको सशस्त्र प्रहरीका डिआइजी अन्जनी पोख्रेलले बताए ।

बाढीका कारण सङ्खुवासभाको चैनपुर नगरपालिकामा निर्माण भइरहेको सुपर हेवाँ हाइड्रो पावर निर्माणमा संलग्न १७ जना बेपत्ता भएका छन् ।

निर्माण भइरहेको हाइड्रो पावरको क्याम्प भएको क्षेत्रमा सुरक्षाकर्मीको टोली पुगे पनि खोज बिन हुन नसकेको चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले बताए ।

उनले भने, हाइड्रो बनाउन आएका कामदार बस्ने २ वटा क्याम्प थियो । अहिले कहाँ क्याम्प थियो भनेर निशाना समेत छैन । एउटा क्याम्पमा ९ जना र अर्कोमा ७ जना बस्ने गरेको उनले बताए ।

बेपत्ता भएका मध्ये ४ जना स्थानीय र अरू बाहिरबाट हाइड्रोमा काम गर्न आएका थिए । उनले हेवाँ खोलामा अहिले पनि ठुला बाढी आइरहेकाले खोजबिन समेत गर्न नसकिएको बताए ।

उनले दोभानेमा समेत एउटा टोली खोजीका लागि पुगेको बताए । त्यहाँ एक जनाको शव फेला परे पनि सनाखत नभएको जानकार दिए ।

 

तस्बिरहरु – दुर्गा निलम श्रेष्ठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर