शुद्धीकरणको सूची लुकाएको भन्दै प्रेस चौतारी सुनसरीको धर्ना – Nepal Press

शुद्धीकरणको सूची लुकाएको भन्दै प्रेस चौतारी सुनसरीको धर्ना

विराटनगर । नेपाल पत्रकार महासंघ सुनसरीले शुद्धीकरण सिफारिसको सूची गोप्य राखेको भन्दै प्रेस चौतारी नेपाल सुनसरी आन्दोलित भएको छ । पत्रकार महासङ्घ सुनसरीले सूचनाको हक कुण्ठित गरेको भन्दै चौतारी आन्दोलित भएको हो ।

सूचनाको हकको पक्षपातीका रूपमा मानिने पत्रकारहरूको साझा संस्था महासंघले नै आफ्ना साधारण सदस्यलाई सिफारिस सूची नदेखाएपछि प्रेस चौतारी नेपाल, सुनसरी आन्दोलित बनेको चौतारी सुनसरीका अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन्।

यसअघि महासंघ सुनसरीलाई सिफारिस सूची सार्वजनिक गर्न २ दिने अल्टिमेटम दिए पनि बेवास्ता गरेको भन्दै चौतारीले पत्रकार महासंघ सुनसरीको कार्यालयमा कालोझण्डा राख्दै विरोध स्वरूप धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानअन्तर्गत १५ बुँदे मापदण्ड अक्षरशः पालना नगरेको र कार्यसमितिका केही सदस्यले गैर पत्रकारलाई काखी च्यापेको र शुद्धीकरण अभियानअन्तर्गत सिफारिस गरिएको सूची सार्वजनिक नगरेको चौतारीको आरोप छ ।

कार्यसमितिकै सदस्यले गोजीमा सूची बोकेर तिमीहरूको मान्छे यो काटियो, त्यो काटियो भन्दै सार्वजनिक ठाउँमा अभिव्यक्ति दिने गरेको पत्रकार कृष्ण बहावले बताए ।

शनिवार महासंघ कार्यालयमा सुनसरी अध्यक्ष जनकऋषि राईलाई ज्ञापन–पत्र बुझाउँदै चौतारीका केन्द्रीय सदस्य सन्तोष काफ्लेले सिफारिसको सूची सार्वजनिक गर्न माग गरे ।

सुनसरी अध्यक्ष राईले माग सुनुवाइ हुने बताए । ज्ञापन–पत्र बुझाउँदै चौतारीले यथाशीघ्र सूची सार्वजनिक नगरे आन्दोलनको थप कार्यक्रम अघि बढाउँदै आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *