मधेशको बजेटः १२ कक्षाकी छात्रालाई ल्यापटप दिन छुट्याइएन बजेट – Nepal Press

मधेशको बजेटः १२ कक्षाकी छात्रालाई ल्यापटप दिन छुट्याइएन बजेट

जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा १२ की छात्रालाई ल्याप्टप दिने कार्यक्रम घोषणा गरेको थियो ।

तर शुक्रबार सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा भने छात्रालाई ल्यापटप दिन बजेट नै विनियोजन गरेको देखिएन । बजेटमा छात्रालाई ल्याप्टप दिने कार्यक्रमबारे चर्चा समेत गरिएको छैन ।

अर्थमन्त्री सञ्जय कुमार यादवले प्रस्तुत गरेको बजेटमा सामाजिक रुपान्तरण तथा लैङ्गिक सशक्तिकरणका लागि मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी बीमा, छात्रवृत्ति, लोकसेवा आयोग तयारी कक्षा र समाजमा रहेका विभेद अन्त्यका लागि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख छ ।

सोही कार्यक्रम अन्तर्गत कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्रालाई मासिक रुपले निःशुल्क सेनेटरी प्याड वितरण गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री यादवले बताए ।

प्रदेश सरकार बनेपछि पहिलो पटक बजेट ल्याउँदा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम ल्याउँदा देशभर चर्चा पाएको थियो । तर उक्त कार्यक्रम अन्तर्गत कक्षा ८ की छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएपछि विवादित बन्यो ।

अगामी आर्थिक वर्षका लागि सरकारले ल्याप्टप दिने योजना नीति तथा कार्यक्रममा समेट्दा संसदमा व्यापक विरोध भयो । विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुपर्नेमा ल्याप्टप वितरण गर्ने योजना ल्याएको भन्दै संसदमा सांसदहरु विरोध गरेकै कारण उक्त योजनाका लागि सरकारले बजेट विनियोजन नगरेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *