काठमाडौं महानगरको निर्णय अवज्ञा गर्दै अरनिकोले चढायो जडिबुटीबाटै यात्रु – Nepal Press

काठमाडौं महानगरको निर्णय अवज्ञा गर्दै अरनिकोले चढायो जडिबुटीबाटै यात्रु

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्णय अवज्ञा गर्दै अरनिको यातायात प्रालि लगायत केही व्यवसायीहरुले बसपार्क बाहिरबाटै यात्रु चढाएको छ ।

काठमाडौंभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक बस जीप तथा माइक्रोबस शुक्रबारदेखि नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने नियमको उल्लघंन गर्दै जडीबुटीबाटै यात्रु चढाएको हो ।

दोलखा, चाैतरा जाने बस जीपहरु  जडिबुटीबाट चलिरहेका छन् ।  अरनिको यातायातले महानगरले जबरजस्ती गरे र फोर्स गरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै शुक्रबारदेखि बस,जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भइरहेका थिए ।

तर अरनिकाे यातायातले सर्वसाधारण तथा यातायात व्यवसायी मजदुरहरुलाई लगाइएको निर्णयविरुद्धआन्दोलन स्वरुप जडिबुटीबाट यात्रु चढाएको जनाएको छ ।

काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका बस तथा माइक्रोबस पनि हिजोदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । महानगरले हिजो बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर