लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ४७ करोड ९७ लाख बजेट, आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण (पूर्ण पाठ) – Nepal Press

लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ४७ करोड ९७ लाख बजेट, आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण (पूर्ण पाठ)

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये १ करोड प्रदेश सञ्चित कोषबाट खर्च हुनेछ । यो बजेट चालू आवको भन्दा २ अर्बले कमी हो ।

बजेटमध्ये पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालूतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री मास्कीले चुनौती र अवसरलाई मनन गर्दै बजेटले राजस्व संकलन बढाउनुपर्ने दायित्व लिएको र संघीय अनुदान र थप राजस्व बढाउनुपर्ने बाध्यात्मक, राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने दाबी गरेका छन् । बजेटमा आर्थिक स्थायित्व कृषिको यान्त्रिकीकरण गरी प्रवर्द्धन गर्ने, गुणस्तरीय शिक्षामा विशेष जोड, लगानीमैत्री वातावरण बढाउने, निजी क्षेत्रसँग सहकार्य बढाउने लक्ष्य राखेर बजेट विनियोजन गरेको मन्त्री मास्केले जनाएका छन् ।

उनले आगामी वर्षका लागि चैत्र मसान्तभित्र विनियोजन विधेयक प्रदेशसभामा राखिने जनाएका छन् । त्यसैगरी कर्मचारी व्यवस्थापनका लागि दरबन्दीभन्दा बढी सेवा करारमा लिन नपाइने, खर्च व्यवस्थापनका लागि तालिम गोष्ठीमा हुने खर्च घटाइने, नयाँ संरचना निर्माण, सामान खरिद नगरिने अर्थमन्त्री मास्कीले जनाएका छन् ।

आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलोपटक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोहीअनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर २ दशमलव ६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत थियो ।

आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसक्दा आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री मास्कीले बताए ।

उनका अनुसार कूल गार्हस्थ उत्पादन चालू वर्षमा सात खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । अघिल्लो वर्ष ६ खर्ब ९८ अर्ब थियो । चालू वर्षमा प्रदेशको कूल गार्हस्थ उत्पादनको अंश १४ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यो १४ दशमलव ४२ प्रतिशत थियो ।

चालू वर्षमा कृषि क्षेत्रको ३ दशमलव ६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर १ दशमलव ५० प्रतिशत रहने प्रक्षेपण गरिएको छ । अघिल्लो वर्ष यो वृद्धिदर क्रमशः २दशमलव ४ र ५ दशमलव ९ प्रतिशत थियो ।

चालू आर्थिक वर्षमा लुम्बिनीमा प्रतिव्यक्ति आय एक हजार १२६ अमेरिकी डलर रहेको प्रक्षेपण गरिएको छ । लुम्बिनीको गरिबीको औसतदर १८ दशमलव ४ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको चैतसम्ममा लुम्बिनीमा तीन अर्ब ६४ करोड २५ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । यो लक्ष्यको ७४ प्रतिशत हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर