लुम्बिनीको बजेट आज ३ बजे, ४० अर्ब हाराहारीको आउने – Nepal Press

लुम्बिनीको बजेट आज ३ बजे, ४० अर्ब हाराहारीको आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको बजेट आज दिउँसो ३ बजे प्रस्तुत हुने भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने कार्यक्रम छ ।

झण्डै ४० अर्ब बरावरको बजेट ल्याउने तयारी गरेको बताइएको छ। चालु आर्थिक वर्षमा ४२ अर्ब बरावरको बजेट थियो। संघीय बजेट कटौती भएका कारण चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेटको आकार धेरै घट्ने बताइएपनि सत्तारुढ दल, मन्त्री तथा सांसदहरुको दवावका कारण स्रोतबिनाको बजेट थप भएको हो ।

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ। चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो तर आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ।चालु आर्थिक वर्षमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड बजेट थियो।

अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ। सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो। आगामी आर्थिक वर्षमा पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ।

समपुरकतर्फ ७३ करोड ९० लाख बजेट थियो। आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ। विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो। आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ।

बजेटको आकार घटेसँगै योजनासमेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ। रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जनाइएको छ।

जेठ २६ मा नीति तथा कार्यक्रम पेश गरेको सरकारले त्यसकै आधारमा बजेट ल्याउन थालेको हो। प्रदेश सरकारले चालु आर्थिक बर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो। तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि९बजेटमा छलफल भइरहेको थियो।

विगतको बजेटमा २० प्रतिशत कटौती गर्दा ३४ अर्ब हाराहारीमा बजेट आउने गरी तयारी गरिएपनि सांसदहरुको चित्त बुझाउन स्रोतबिनाको ठूलो आकारको महत्वाकांक्षी बजेट आउन लागेको कर्मचारीकै भनाइ छ। आन्तरिक स्रोत कम भएको र संघबाट पनि यसपटक अनुदान घटेकाले घाटा बजेट ल्याउन नहुने दवावमा थियो प्रदेश सरकार । तर चौतर्फि दवावबले घाटा बजेट आउन लागेको मन्त्रालयकै कर्मचारीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर