हर्कको हर्षको आँसुमा कलाकारको खुसी, कसले के भने ? – Nepal Press

हर्कको हर्षको आँसुमा कलाकारको खुसी, कसले के भने ?

काठमाडौं । अन्तत: धरान बजारमा कोकाहा खोलाको पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् ।

पछिल्ला दिनमा खानेपानीको चरम अभाव भोग्दै आएको धरानलाई यो पानीले तत्कालका लागि भने राहत भएको छ । कोकाहाको पानी धरान नखसालेसम्म नफर्किने बाचा गरेर खटिएका हर्कको श्रम अभियानले ४० किलोमिटर हाराहारीको दूरीबाट पानी ल्याएको हो ।

यसका लागि १८ दिन लाग्यो । कोकाहाको पानी धरानमा खसालेपछि साम्पाङको चर्चा फेरि बढेको छ । हर्कको यो अभियानलाई धेरैले प्रशंसा गरिरहँदा सेलिब्रिटीहरूले पनि तस्बिर शेयर गर्दै खुसी साटेका छन् ।

अभिनेता तथा निर्देशक दीपकराज गिरीले मेयर साम्पाङको तस्बिर शेयर गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । गिरीले धरानमा पानी आएपछि खुसीले रुँदै पानीमा भिज्दै गरेको हर्कको तस्बिर राखेर लेखेका छन, ‘हो, यस्ता फोटाले चाँहि आनन्द दिन्छ । ठूला राजनीतिक गफ होइन , विकासमात्रै लक्ष्य ।’

अभिनेत्री करिश्मा मानन्धरले आउने दिनमा हर्कलाई यस्तै कामका लागि शुभकामना दिएकी छन् ।

‘मेयर साप ! धरानवासी जनताहर”लाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउन सफल हुनुभो । यस्तै अनेकौं सफलताको शुभकामना छ ’, करिश्माले लेखेकी छन् ।

नायिका स्वस्तिमा खड्काले पनि ताली र रातो पानाको ईमोजीसहित हर्कको तस्बिर शेयर गरेकी छन् । निर्देशक, निर्माता तथा नायकसमेत रहेका असिफ शाहले पनि उनलाई सलाम दिदैँ हौसला प्रदान गरेका छन् ।

सबैले स्टाट्स र ईमोजीसहित बधाई दिइँरहँदा नायिका केकी अधिकारीले भने कविता नै लेखेकी छन् । ‘पानीसँगै झर्‍यो हर्कको आँसु’ सहितको शीर्षकको समाचार सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘कुनै आँसु यस्ता पनि, हर्ष र जितजस्ता पनि । कुनै आँसु यस्ता पनि, दु:ख बिसाए जस्ता पनि ।’

हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले साम्पाङसँगको तस्बिर शेयर गर्दै हर्कको कामले आफू हर्षित भएको बताएका छन ।

‘हुन त तपाईँको आँखाबाट हर्षका आँसु झरेका होलान् । तर, पनि तपाईँ किन रुनु मेयर ज्यू ? तपार्इँले जे बोल्नुभयो, त्यो पूरा गर्नुभयो । दिनरात नभनी धराने जनताका लागी खटिरहनुभयो । त्यसैले आज पानी ल्याउन सफल हुनुभयो । रून त तिनीहरूले पर्छ जसले बोलेका कुरा कहिल्यै पूरा गरेनन । उल्टै देशको सम्पत्तिमा रजाइँ गरेँ । तपाईँको सरल जीवन, मेहेनत र परिश्रमदेखि अत्यन्तै प्रभावित छु । तपाईँ अब क्याबिनेटमा हुनुपर्छ हर्कज्यू ! बधाईसहित हार्दिक नमन । हर्कको कामले हर्षित एक कलाकार ’, मुन्द्रेको स्टाटसमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *