काेशीकाे बजेटमा विपक्षी नेताकाे प्रतिक्रिया- कार्यान्वयन नहुने बजेटकाे के टिप्पणी गर्नु ! – Nepal Press

काेशीकाे बजेटमा विपक्षी नेताकाे प्रतिक्रिया- कार्यान्वयन नहुने बजेटकाे के टिप्पणी गर्नु !

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा जान नसक्ने विपक्षी दलहरुले टिप्पणी गरेका छन् ।

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले अल्पमतमा परेको कोशी प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा जान नसक्ने टिप्पणी गरेका छन् ।

उनले एक महिनामै अहिलेको सरकार परिवर्तन हुने भन्दै अर्को सरकारलाई कार्यान्वयनमा लैजान असहज होस् भनेर नारै नाराले भरिएको बजेट ल्याएको उनको भनाइ छ । उनले भन, ‘यो सरकारलाई थाहा छ यो बजेट कार्यान्वयनमा जाँदैन ।’

कार्यान्वयनमा नजाने बजेटको जस लिन चोर बाटोबाट बजेट ल्याएको बताए । उनले अध्यादेशबाट सरकारले बजेट ल्याएको भन्दै आलोचना गरे । नेपाल प्रेससँग कुरा गर्दै उनले भने, संसदमा छलफल नै नगरी चोर बाटो बाटो बजेट ल्याइएको छ ।

‘हामीले त राम्रै ल्याएको थियौ अर्को सरकारले कार्यान्वयन गर्न सकेन भनेर जस लिन प्रचारमुखी बजेट ल्याइएको छ । संसदमा बजेट ल्याएर छलफल गरेको भए पास गर्ने र नगर्ने विषय हुन्थ्यो’, उनले भने, ‘प्रक्रियाबाट भागेर औचित्य सकिएको सरकारले बजेट ल्याइएको छ । यसको बारेमा धेरै टिप्पणी नगरौ ।’

अध्यादेशबाट बजेट ल्याउने कार्यक्रममा आफूहरुलाई जानकारी भएको भएपनि गलत प्रक्रियाको साँक्षी बस्न आफूहरुले कार्यक्रममा नगएको बताए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि आर्थिक वर्षको पहिलो हप्तामै परिवर्तन हुने सरकारले ल्याएको बजेटको टिप्पणी नभएको बताएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आंवोले भने, ‘यो बजेट कार्यान्वयनमा जाँदैन । कार्यान्वयनमा नजाने बजेटका बारेमा के टिप्पणी गरौँ ।’

उनले अध्यादेश मार्फत बजेट सार्वजनिक गर्ने कार्यक्रममा आफूहरूलाई औपचारिक निमन्त्रणा र जानकारी नभएको बताए । उनले वित्तीय उत्तरदायी ऐनले असारको १ गते बजेट ल्याउनु पर्ने भने पनि अगाडि नै अध्यादेशबाट बजेट आएकाले आफूहरू कार्यक्रममा नगएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर