स्रोतबिनाको घाटा बजेट ल्याउने लुम्बिनी सरकारकाे तयारी – Nepal Press

स्रोतबिनाको घाटा बजेट ल्याउने लुम्बिनी सरकारकाे तयारी

मुख्यमन्त्री तथा मन्त्रीको क्षेत्रमा मात्रै बजेट खन्याउन खोजेको सत्तारुढ दलकै सांसदको असन्तुष्टि

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउन लागेको बजेटको आकार र बजेट वितरण प्रणालीका विषयमा सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

प्रदेश सभाको बैठकमा शुक्रबार आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी वर्षको बजेट प्रस्तुत गदैंछन् । यसअघि बजेटको आकार घटाउने प्रचार गरिँदै आएकोमा मुख्यमन्त्री,मन्त्री तथा सांसदहरुको दवावमा उनले स्रोतबिनाको बजेट आकार बढाउन लागेका छन् ।

करिब ४० अर्ब हाराहारीको बजेट ल्याउन लागेको स्रोतको दाबी छ । यसअघि आन्तरिक स्रोत तथा संघीय सरकारले दिने अनुदान घटेको भन्दै करिब ३३ अर्बको बजेट ल्याउने गरी तयारी गरिएको आर्थिक मामिला मन्त्रालयका कर्मचारीले जनाएका थिए ।

सत्तारुढ दलका सांसदले मुख्यमन्त्री, अर्थमन्त्री तथा अन्य मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रीत गरेको र बजेट छनौट प्रणाली ठीक नभएको गुनासो गरेका छन् ।

‘हामीले स्थानीय क्षेत्रबाट माग भइ आएका योजनाहरु राख्दा समेत बजेट छैन भन्ने तर मुख्यमन्त्री तथा मन्त्रीहरुले एकै ठाउँमा बजेट थुप्रो लगाउने सुनेका छौं, यसले राम्रो सन्देश दिँदैन, मुख्यमन्त्री, मन्त्री एक क्षेत्रको होइनन् १२ जिल्लामा समानुपातिक रुपमा बजेट दिइनुपर्ने हो तर नभएको उहाँहरुको बोलीले संकेत गरेको छ, हेरौं भोलि प्रस्तुत हुँदा कस्तो आउँछ, स्रोतबिनाका बजेट पारे भनेर मन्त्रीहरुले अब ठग्ने काम गर्नुहुँदैछ’ ती सांसदले भने ।

सरकारमा सहभागी दल, मन्त्री तथा सांसदहरुलाई खुसी बनाउनेगरी अनावश्यक योजना थपेर बजेटको आकार बढ्न थालेको हो । यसपटक प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुलाई २ करोड ७५ लाख बजेटका योजना उपलब्ध गराइने भएको छ ।

प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने र समानुपाितक सांसदलाई नदिने सरकारको तयारी सरकारले गरेकाले विरोधपछि समानुपातिक सांसदहरुलाई पनि ७५ लाख बराबरका योजना समावेश गर्न दिएर थामथुम पारिएको थियो ।

प्रदेशमा ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी समानुपातिक सांसदहरुलाई चित्त बुझाउनेगरी प्रतिसांसद ७५ लाख बराबरका योजना बजेटमा समावेश गर्न लागिएको छ । ३५ जना समानुपातिक सांसद छन् ।

पहिले वर्षको बजेटभन्दा आगामी आर्थिक वर्ष २०८०।८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको थियो । यसअनुसार गत वर्षको भन्दा करिब १० अर्ब बजेटको आकार घट्ने अनुमान गरिएपनि चौतर्फि दवावले अर्थमन्त्री मास्कीले बजेटको आकार बढाएका हुन् ।

प्रदेश सरकारले गतवर्ष ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो । तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको थियो ।

विगतको बजेटमा २० प्रतिशत कटौती गर्दा ३४ अर्ब हाराहारीमा बजेट आउने गरी तयारी गरिएपनि सांसदहरुको चित्त बुझाउन स्रोतबिनाको ठूलो आकारको महत्वाकांक्षी बजेट आउन लागेको कर्मचारीकै भनाइ छ ।

यसअघि आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले गतवर्षको बजेटमा २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको जानकारी संचारमाध्यमलाई दिएका थिए ।

अहिले सरकारको नेतृत्वमा रहेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र आर्थिक मामिला मन्त्री धनबहादुर मास्की दाङको क्षेत्र नं ३ को १ र २ बाट निर्वाचित हुन् भने स्वास्थ्यमन्त्री राजु खनाल पनि दाङ २ बाट निर्वाचित हुन् ।

सत्तारुढ दलकै सांसदले ती क्षेत्रमा बजेट धेरै पार्न आफ्ना योजना नसमेटिएको जनाएका छन् । त्यसैगरी रुपन्देही ५ को २ बाट निर्वाचित सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता र बर्दियाको २ को २ बाट निर्वाचित भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले आफ्नो क्षेत्रमा बजेट खनाउने प्रयास गरेर अन्य क्षेत्रमा अन्याय गरेको सांसदहरुको गुनासो छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीले यसअघि सारिएका विशेष योजनाका बजेट काटेर अन्यत्र बजेट छिरोल्न खोजे राम्रो नहुने बताइसकेका छन् ।

हामीले केही गाइगुई सुनेका छौं, यसअघिका योजनालाई अलपत्र पार्ने अहिले त्यसखालका योजनामा बजेट टालटुल पार्न खोजिएको सकंत पाएका छौं, हामीले सरकारलाई खबरदारी गर्न चाहन्छौं स्रोतबिनाको ठूलो आकारको बजेट नल्याउन सचेत बनाएका छौं, राम्रा काममा हाम्रो समर्थन हुन्छ तर गलत गर्नखोजे खबरदारी गर्नेछौं, उनले भनेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर