उपप्रधानमन्त्री श्रेष्‍ठ र अष्ट्रेलियाका राजदूत भोल्कबीच भेट, दुईपक्षीय हितबारे महत्त्वपूर्ण छलफल – Nepal Press

उपप्रधानमन्त्री श्रेष्‍ठ र अष्ट्रेलियाका राजदूत भोल्कबीच भेट, दुईपक्षीय हितबारे महत्त्वपूर्ण छलफल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच आज गृह मन्त्रालयमा शिष्‍टाचार भेटवार्ता भएको छ ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सधैं सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए ।

राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अष्ट्रेलिया जस्तो देशबाट साथ रसमन्वयको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । खासगरी ऊर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक भएको उनले बताए ।

राजदूत भोल्कले नेपाल जस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूहरूलाई खुशी लागेको र भर्खरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउनेतर्फ सहकार्य भैरहेको बताए ।

व्यापारमा समेत साझेदारी गर्न अष्ट्रेलिया इच्छुक रहेको र दुई देशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भैरहेको राजदूत भोल्कले बताए । त्यसका लागि यही अक्टोबरमा अष्ट्रेलियाका उच्च अधिकारीहरू नेपाल आउने उनले जानकारी गराइन् ।

त्यस्तै राजदूत भोल्कले नेपाली विद्यार्थीलाई छात्रवृत्तिका कोटाहरू बढाइएको र कर्मचारी कोटासमेत तय गरिएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर