कोशी प्रदेश सरकारको बजेट : कहाँ कति छुट्याइयो ? – Nepal Press

कोशी प्रदेश सरकारको बजेट : कहाँ कति छुट्याइयो ?

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री समेत रहेका कार्कीले पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको बजेटमा वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।

कोशी प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

यस्तै, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख र सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

यस्तै, समपूरक अनुदानबाट ७३ करोड, विशेष अनुदानबाट ७६ करोड गरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

सडक तथा पूर्वाधार

कोशी प्रदेश सरकारले सडक पूर्वाधार तथा सहरी विकासका लागि ११ अर्ब ४१ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विकास’ प्रदेशको आर्थिक, सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण स्थानहरूलाई जोड्ने गरी सुरु गरिएका ७८ वटा प्रादेशिक लोक मार्ग,६० वटा सडक पुल तथा झोलुङ्गे पुलहरूलाई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन बजेटमा उल्लेख छ ।

निर्माणाधीन लोक मार्ग आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी रु. ४ अर्ब ७५ करोड विनियोजन गरेको बजेटमा उल्लेख छ ।

यस्तै सडक यातायातले नछोएका प्रदेशका स्थानीय तहको केन्द्रलाई राष्ट्रिय राजमार्ग वा अन्य कालोपत्रे सडकसँग जोड्ने सडकहरूको निर्माण कार्यलाई प्राथमिकतामा राखेको छु। उक्त कार्य यसै आर्थिक वर्ष वाट सुरु गर्नका लागि २० . विनियोजन भएको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा

कोशी प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि जम्मा रु. ५ अब ४३ करोड ८३ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले सतह, भूमिगत तथा लिफ्ट, नयाँ/पुराना र क्षतिग्रस्त सिँचाइ पूर्वाधार मर्मत सम्भार गरी बाह्रै महिना सिँचाइ सेवा पुर्याउनको लागि २ अर्ब ६३ करोड ९८ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै, पानीका मूलहरूको संरक्षण प्रयोग सहित वर्षे पानी सङ्कलन पुनर्भरण पोखरी मार्फत सिँचाइ सेवा पुर्याउन रु. ५ करोड र प्रदेशको मध्य पहाडीका आठ जिल्लामा सञ्चालित साना सिँचाइ कार्यक्रमलाई निरन्तरता २९ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

स्वास्थ्य

प्रदेशको स्वास्थ्य सेवा विस्तार र विविधीकरणका लागि प्रदेश सरकारले ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको ।

प्रदेश सरकारले किटजन्य रोग रोकथाम तथा नियन्त्रणमा जैविक लार्भिसाइड प्रयोग गर्ने कार्यक्रम सञ्चालनका लागि रु. ५ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै, प्रदेशका नागरिकहरूलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा विशेष स्वास्थ्य सेवा सञ्चालन गर्न, मेची प्रादेशिक अस्पतालमा प्राइमरी बर्न केयर सेन्टर तथा मानसिक स्वास्थ्य वार्ड सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेश सरकारले ताप्लेजुङ, धनकुटा, दमक अस्पताल र मदन भण्डारी ट्रमा सेन्टरको स्तर उन्नति गरी गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकहरूको सहज पहुँच वृद्धि गर्न रु. २९ करोड विनियोजन गरेको छ । यस्तै सुत्केरी महिलाका लागि पोषण आहार कार्यक्रममाका लागि छ करोड बजेट विनियोजन गरेको छ ।

सामाजिक विकास

कोशी प्रदेश सरकारले सामाजिक क्षेत्रको विकासका लागि १ अर्ब ७९ करोड ३३ लाख विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले स्थानीय तहमा सञ्चालन भइरहेको साथै नयाँ विस्तार हुने ३४ स्थानीय तहहरूमा स्थानीय तह, प्रदेश सरकार र साझेदार संस्थासँगको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि रु. १० करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सन् २०२५ सम्ममा बालविवाह मुक्त प्रदेश निर्माण गर्ने अभियानका लागि प्रदेशका सबै स्थानीय तह मार्फत सामुदायिक माध्यमिक विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रमका लागि १ करोड ३ लाख बजेट रुपैयाँ बजेट छुट्टाएको छ ।

प्रदेश सरकारले तमोर, अरुण र सुनकोसीको त्रिवेणीमा अवस्थित किराँत समुदायको ऐतिहासिक सांस्कृतिक महत्वको खुवालुङ्गलाई ‘खुवालुङ्ग सांस्कृतिक सम्पदा क्षेत्र’ कायम गरी बृहत्तर विकासका लागि सम्भाव्यता अध्ययन गर्न राष्ट्रिय विभूति महागुरु फाल्गुननन्द तथा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थल अगौटे बारी ई भाङ, माङ्सेवुङ-२, तपस्या स्थल खत्रक्पा, देउमाई-९, ज्ञान प्राप्ति स्थल फुलुङ्गि माङ्सेवुङ-३ र बाह्रधार्ने माई नगरपालिका-१ को विकास, संरक्षण र प्रवर्द्धनका निम्ति विस्तृत गुरुयोजना तयार गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

प्रदेशभित्र रहेका विभिन्न जातजातिका समाधि स्थल, कब्रस्तान र घाटहरूको निर्माण, सुनसरीको राम धुनी नगरपालिका वडा नं. २ मा रहेको थारु सङ्ग्रहालयको स्तरोन्नति तथा विकासको लागि बजेट विनियोजन भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *