असार महिनामा तीन सचिव रिक्त हुँदै, यी हुन् बढुवाको लाइनमा रहेका सहसचिव – Nepal Press

असार महिनामा तीन सचिव रिक्त हुँदै, यी हुन् बढुवाको लाइनमा रहेका सहसचिव

काठमाडौं । सरकारले मुख्यसचिव शंकरदास बैरागीलाई राजीनामा दिलाएर राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गर्दै डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएपछि असार महिनाभित्र ३ जना सहसचिवले सचिवमा बढुवा हुने अवसर पाउने भएका छन् ।

सचिवको दरबन्दी घटाउने चर्चा चलिरहेका बेला यसबीचमा दरबन्दी नघटेमा तीनजना सचिवमा बढुवा हुनेछन् ।

तत्कालीन मुख्यसचिव बैरागीको कार्यकाल असार दोस्रो सातासम्म भए पनि मुख्यसचिव नियुक्त भएका अर्यालको सचिवको ५ वर्षे कार्यकाल असार ३ गते सकिन लाग्दा सरकारले वैरागीलाई राजीनामा गरायो । अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै एक सचिवको दरबन्दी रिक्त भएको छ ।

यस्तै असार ४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा कार्यरत यादवप्रसाद कोइराला ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । असारकै २४ गते राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी (सचिव) ५ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् ।

को को छन् त सम्भावित सचिव ?

राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सरकारको सचिवमा ३ जनाको दरबन्दी रिक्त भएसँगै बढुवाको लाइनमा तीन जना सहसचिव रहेका छन् । जसमा लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्याय रहेका छन् । उनीहरुमध्ये दुई असार पहिलो साता र एक जना असारको अन्तिम साता सचिवमा बढुवा भइसक्नेछन् ।

तीन जनामा पहिलो नम्बरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव लक्ष्मीकमारी बस्नेत रहेकी छन् । उनले मन्त्रालयमा महिला सशक्तीकरण महाशाखा हेर्दै आएकी छन् । वरियताका हिसाबले उनी सहसचिव हुँदा अहिले सचिव भइसकेका १० जनाभन्दा वरिष्ठ हुन् ।

उनी आफैंले सहसचिवको कार्यकाल लम्ब्याउन सचिव बढुवा हुनुअघि लिनुपर्ने तालिम नलिएर बसेकी थिइन् । बस्नेतभन्दा पछिका सहसचिव कृष्णबहादुर राउत, राजकुमार श्रेष्ठ, रविलाल पन्थ, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला, शंकरप्रसाद खरेल, विनोदप्रकाश सिंह, गोपीकृष्ण खनाल, दीपक काफ्ले र नारायणप्रसाद शर्मा सचिव बढुवा भइसकेका छन् । बस्नेत १३ वर्षअघि २०६७ साल फागुन २६ गते सहसचिव भएकी थिइन् ।

दोस्रो नम्बरमा चीनको सिचुवान प्रान्तको छेन्दु शहरस्थित नेपालको महावाणिज्यदूत दिनेशकुमार घिमिरे रहेका छन् । उनी २०७७ मंसिरदेखि त्यहाँ कार्यरत छन् । उनलाई लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले दुईपटक सचिवमा सिफारिस गरिसकेको छ ।

घिमिरे पहिलो चरणमा कोशी प्रदेशका प्रमुख सचिव दीपक काफ्ले सचिव बढुवा हुँदा तेस्रो नम्बरमा र दोस्रो चरणमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा सचिवमा बढुवा हुँदा दोस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिस भएका थिए ।

उनी २०६९ साल चैत ६ गते सहसचिव पदमा नियुक्त भएका थिए । घिमिरेसँगै एकैदिन सहसचिव भएका नारायणप्रसाद शर्मा यसअघि नै सचिवमा बढुवा भएर सुदूरपश्चिम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सहसचिव घनश्याम उपाध्याय सचिव बढुवाको तेस्रो नम्बरमा छन् । उनी यसअघि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा सचिवमा बढुवा सिफारिस हुँदा तेस्रो नम्बरमा सिफारिस भएका थिए ।

वरियतामा तेस्रो नम्बरमा भए पनि उनी सचिव बढुवाका लागि सम्भावित पहिलो नम्बरमा रहेको अनुमान गरिएको छ । वरियतामा पहिलो नम्बरमा रहेकी सहसचिव बस्नेत तालिम नै नलिएर लामो समयसम्म सहसचिवको कार्यकाल लम्ब्याइरहेकाले उनले अहिले नै सचिव बढुवाका लागि चाहना राखेकी छैनन् ।

यस्तै दोस्रो नम्बरमा रहेका सहसचिव दिनेशकुमार घिमिरे पनि चीनमा महावाणिज्यदूतको जिम्मेवारीमा राम्रै सेवा सुविधा उपभोग गर्दै आएकाले उनले पनि अहिले नै सचिव बढुवा हुने चाहना राखेका छैनन् । तेस्रो नम्बरमा रहेका उपाध्याय भने गृह प्रशासनका सबैभन्दा शक्तिशाली मानिएको काठमाडौं र ललितपुरको प्रमुख जिल्ला अधिकारी भइसकेकाले सचिव बढुवाको लाइनमा छन् ।

यी तीन जनामध्ये कुनै सचिवमा बढुवाका लागि सिफारिस भएन भने वरियताका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल, शिक्षा सेवाका सहसचिव चुणामणि पौडेल र डा. हरिप्रसाद लम्साल सचिवको प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *