गृहमन्त्री श्रेष्ठले उपत्यका बाहिर खटाए सेटिङमा कमाइ हुने ठाउँमा डेरा जमाएका शाखा अधिकृत – Nepal Press

गृहमन्त्री श्रेष्ठले उपत्यका बाहिर खटाए सेटिङमा कमाइ हुने ठाउँमा डेरा जमाएका शाखा अधिकृत

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेटिङ मिलाएर कमाइ हुने ठाउँमा खटिएका ठूलो संख्याका शाखा अधिकृतलाई उपत्यका बाहिर सरुवा गरेका छन् ।

गृह मन्त्रालयले बुधबार २८ जना शाखा अधिकृतलाई उपत्यका बाहिर दुर्गम र तराई क्षेत्रका २३ जिल्ला सरुवा गरेको हो । सरुवा भएकामा २३ जना शाखा अधिकृत त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा कार्यरत थिए ।

सामान्य प्रशासन मन्त्रालयबाट पनि पाँच जनालाई उपत्यका बाहिर सरुवा गरिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं बाहिर नजान शक्ति प्रयोग गर्ने कर्मचारीलाई खटाएकै ठाउँमा पठाएका हुन् ।

‘सेटिङ मिलाएर अध्यागमन र एयरपोर्टलगायतका अलि सहज ठाउँमा बसिरहेकाको भ्याली बाहिर सरुवा भएको हो’, स्रोतले भन्यो, ‘गृहको आदेश नमान्ने कर्मचारीलाई मन्त्रीले निर्देशन दिनुभएको छ ।’

सरुवा भएका कर्मचारीलाई बिहीबार गृहमन्त्री श्रेष्ठले बोलाएर जनताको काममा लाग्न निर्देशनसमेत दिएका छन् ।

‘कुनै शक्ति केन्द्र, मन्त्री, सचिव, कर्मचारी प्रशासन वा कुनै दलका मुख्य नेताको बलमा खटाइएको ठाउँमा नगई यतै बस्ने कल्पना नगर्नुहोला’, मन्त्री श्रेष्ठले भने, ‘त्यो बाटो बन्द भैसक्यो । अब पावर सेन्टर धाउन छोड्नुस्, खटाएको जिल्ला गएर जनताको सेवा गर्नुस् ।’

रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङलगायतका जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ ।

मन्त्रीले सरुवा हुने कर्मचारीलाई बिदाइ गरेर जिल्ला पठाएको यो पहिलो घटना हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *