बैंकको कर्मचारी भन्दै ग्राहक ठग्ने क्रम बढेपछि राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना – Nepal Press

बैंकको कर्मचारी भन्दै ग्राहक ठग्ने क्रम बढेपछि राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

काठमाडौं । अनधिकृत व्यक्तिले बैंकको कर्मचारी भनेर ग्राहकसँग ओटीपी कोड माग्दै ठग्न थालेपछि नेपाल राष्ट्र बैंकले सूचना निकालेरै सचेत हुन भनेको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीबार उक्त सूचना जारी गर्दै विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन भनेको हो ।

विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी)सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज (ओटीपी कोड) जस्ता विवरण माग्ने गरेको पाइएपछि राष्ट्र बैंकले सजग हुन आग्रह गरेको छ ।

त्यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस र वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याइ विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकले जनाएको छ ।

ठगीबाट जोगिन अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचना उपलब्ध नगर्न/नगराउ आग्रह गरिएको छ । यदि कसैले यस्तो खालको घटना घटाएमा वा घटाउन उत्प्रेरित गरेमा सोको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउनुपर्ने भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर