पत्रकार महासंघ रामेछापलाई निर्णय सच्याउन प्रेस चौतारीको ४८ घण्टे अल्टिमेटम – Nepal Press

पत्रकार महासंघ रामेछापलाई निर्णय सच्याउन प्रेस चौतारीको ४८ घण्टे अल्टिमेटम

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले जिल्लमा पत्रकार शुद्धीकरणको नाममा मापदण्ड विपरीत गरिएको कार्य सच्याउन नेपाल पत्रकार महासंघ रामेछापलाई ४८ घण्टाको समय दिएको छ ।

प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी २४ घण्टा भित्र निर्णय नसच्चिए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा रामेछापले नेपाल पत्रकार महासंघले जारी गरेको १५ बुँदे सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्डलाई स्वागत गरेको भए पनि रामेछापमा कुने दल विशेष पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रुपमा पत्रकार महासंघलाई विकास गर्न खोजिएको भन्दै चौतारीले आपत्ति जनाएको छ ।

मापदण्डमा कर्मचारी, शिक्षक, राजनीतिक दलका नेता, पत्रकारिता पेसामा नरहेकालाई महासंघको सदस्यबाट हटाउने उल्ले भएकोमा रामेछापमा ठिक त्यसको उल्टो काम भएको प्रेस चौतारी नेपालले जनाएको छ ।

प्रेस चौतारी नेपालमा आबद्ध योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यताबाट वञ्चित गर्ने गरी पत्रकार महासंघ रामेछापको असक्षम, अविवेकी र मतियार वर्तमान नेतृत्वले सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९ को बुँदा नं ८, ९, १०, १३ र १४ को ठाडो उपहास गरी प्रतिशोध र पुर्वाग्राहीपूर्ण ढङ्गबाट महासङ्घमा हाल कायम रहेका सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेसामा नै आबद्ध नरहेका, विभिन्न पेसा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने गरी निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यदि ४८ घण्टा भित्र निर्णय नसच्याए नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा तालाबन्दी र कालो झण्डा राख्ने, मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासंघले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने, पत्रकार महासंघका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार अभियान चलाउने र निर्णय नसच्चिएसम्म पत्रकार महासंघका सबै गतिविधि ठप्प गराउने अभियान चलाउने विज्ञप्तिमा जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर