विदेशमा रहेका मन्त्रीलाई सुनाउँदै सदनको डेढ घण्टा खेर, सूर्य थापाको नियमापत्तिपछि कार्यसूची हेरफेर (भिडिओ) – Nepal Press

विदेशमा रहेका मन्त्रीलाई सुनाउँदै सदनको डेढ घण्टा खेर, सूर्य थापाको नियमापत्तिपछि कार्यसूची हेरफेर (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभामा विभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलका क्रममा सम्बन्धित मन्त्रीको अनुपस्थितिबारे डेढ घण्टासम्म सदन बेखबर भएपछि एमाले सांसद सूर्य थापाले नियमापत्ति गरेर छलफल रोकाएका छन् ।

बिहीबारको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका र वन तथा वातावरण मन्त्रालयमाथिको छलफलको कार्यसूची थियो । सांसदहरूले डेढ घण्टाभन्दा लामो समयसम्म खेलकुद मन्त्रालयको बारेमा पनि बोले तर मन्त्री डिगबहादुर लिम्बू भने थिएनन् ।

राप्रपा सांसद रोशन कार्कीले बोलिसकेपछि सदनको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा राना मगरले मन्त्री लिम्बू विदेशमा रहेको र कार्यवाहक मन्त्रीलाई खबर गरिएको तथा सचिवहरूले टिपोट गरिरहेको जानकारी दिएपछि एमाले सांसद थापाले नियमापत्ति गरेका थिए ।

थापाले विदेशमा भएको मन्त्री स्वदेश आउने दिन निर्धारित गरेर त्यसबेला छलफल हुनुपर्ने भन्दै भैँसीको अगाडि बाँसुरी बजाएजस्तो मन्त्रीविनाको मन्त्रालयगत छलफल मान्य नहुने बताए ।

थापाले भने, ‘चेयरबाट सचिवज्यू हुनुहुन्छ भनियो तर सचिवलाई हामी देख्दैनौं । यो विषय कार्यसूचीबाट हटाइयोस् । मन्त्रीबेगरको अरन्य रोदन छलफलको नाममा ढोक्सल्ला नगरियोस् ।’

थापाले छलफल अघि बढ्न नसक्ने भनेर रोकेपछि उपसभामुखले सचिवालयका कर्मचारीसँग परामर्श गरेपछि सभामुख देवराज घिमिरेलाई बोलाइयो । घिमिरले परामर्श गरेपछि थापाको नियमापत्तिलाई मान्यता दिदै खेलकुद मन्त्रालयको कार्यसूचीबाट हटाएपछि सदनको कारवाही अघि बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर