संसदमा ५४ सीटको नेतृत्व गर्दै प्रचण्ड, भोलि समाजवादी केन्द्र घोषणाको तयारी – Nepal Press

संसदमा ५४ सीटको नेतृत्व गर्दै प्रचण्ड, भोलि समाजवादी केन्द्र घोषणाको तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो प्रयासपछि समाजवादी मोर्चा घोषणाको संघारमा पुगेको छ । तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका हुन् ।

मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सामेल गराउने प्रयास भइरहेको छ । तर, नेसपा भने तत्कालै सहभागी नहुने भएको छ । समाजवादी केन्द्र घोषणाबारे डा. भट्टराईसँग बिहीबार दिउँसोसम्म केही छलफल नभएको जानकारी आफूले पाएको नेसपाका नेता विश्वदीप पाण्डेले बताए । बाबुराम पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैनन् । प्रचण्डसँग दूरी बढेकै कारणले अहिले के गर्ने भन्ने निश्चित नभएको हो । उनी अहिले गोरखाबाट काठमाडौं फर्किदैछन् ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको लामो प्रयासपछि विप्लव मोर्चामा सहभागी हुन राजी भएका छन् ।

नेकपा एसका नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहेको बताए । उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दैछ । त्यो वृहत् वाम एकतासम्म पुग्ने लक्ष्यका साथ मोर्चा घोषणा हुन लागेको हो ।’

समाजवादी मोर्चाबारे छलफल गर्न नेकपा एसले शुक्रबार बिहान पदाधिकारी र सचिवालयको बैठक डाकेको उपमहासचिव गंगालाल तुलाधरले बताए ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले घोषणाको तयारीबारे छलफल भइरहेको स्वीकारे पनि घोषणा मिति खुलाएनन् । मोर्चामा कुन-कुन दललाई सहभागी गराउने भन्नेबारेमा छलफल भइरहेको जिकिर गरे ।

त्यसो त बुधबार दाङ पुगेर प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको दस्तावेज तयार भइसकेको बताएका थिए ।

उनले भनेका थिए, ‘हिजोको एकता कायम राख्न सम्भव भएन । समाजवादी मोर्चाको दस्ताबेज टुंग्याएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच समाजवादी मोर्चा घोषणा हुन्छ ।’

उनले तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने उल्लेख गर्दै फेरि नयाँ नेकपा बनाउने ठाउँसम्म आफूहरू जाने उनको भनाइ छ ।

समाजवादी मोर्चा बनेसँग प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थप शक्तिशाली बन्ने भएका छन् ।

तेस्रो निर्णायक शक्तिको सदुपयोग गर्दै प्रधानमन्त्री बनेका प्रचण्ड मोर्चा घोषणा भएपछि ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ । माओवादीको ३२ सीटमा नेसपाको दुई सांसद छन् ।

मोर्चाको भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेसम्मको लक्ष्य रहेको बताइन्छ । तर, मोर्चाको नेतृत्व आलोपालो गर्ने वा कसरी गर्ने भन्ने अझै नटुंगिएको नेताहरू बताउँछन् ।


प्रतिक्रिया

One thought on “संसदमा ५४ सीटको नेतृत्व गर्दै प्रचण्ड, भोलि समाजवादी केन्द्र घोषणाको तयारी

  1. असाध्यै खुसी लागेकाे छ । नेपालमा यस्ता समाजवादी कम्युनिस्टहरुकाे एकता हुनु नयाँ विचार धाराकाे जन्म हुनु हाे । देशकाे अावश्यकताले याे माग गरेकाे पनि हाे । तसथ अन्य व्यक्त्री तथा स‌गठन सामेल हुन जरुरी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर