पोखराका सडकमा कालो मुस्लो निकाल्दै हुइँकिन्छन् सवारी, छैन कुनै कारवाही – Nepal Press

पोखराका सडकमा कालो मुस्लो निकाल्दै हुइँकिन्छन् सवारी, छैन कुनै कारवाही

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा गत वैशाख ३० गते सवारीमा प्रदूषण जाँच गर्यो ।

ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत कास्की ट्राफिक प्रहरीले गरेको २५ सवारीको प्रदुषण चेकजाँचमा ३ सवारी साधन मात्रै चलाउन मिल्ने मापदण्डभित्र परे ।

अर्थात जाँच गरिएका २२ सवारी साधन चलाउन नमिल्ने कन्डिसनमा देखिए । सवारीको धुँवा ३० ओपासिटीभन्दा माथि पुग्यो भने त्यस्तो सवारी चलाउन अयोग्य हुन्छ ।

यातायात व्यवस्था कार्यालय, सवारी कास्कीका इन्जिनियर नवीन पौडेलका अनुसार ३० ओपासिटीभन्दा माथिका सवारी साधन चलाउन पाइदैन ।

तर, प्रहरीले चेकजाँच गरेको अधिकांश सवारी साधनमा धुँवाको मात्रा ५० ओपासिटीभन्दा बढी थियो । कुनै सवारी त ८०/९० ओपासिटीसम्म पुगेका थिए ।

‘डिजल इन्जिन स्मोक एनलाइजरले ओपासिटीमा जाँच गर्छ । यसमा ३० ओपासिटीसम्मलाई पास गरिन्छ, फेल भएका २२ सवारीसाधन ५० ओपासिटीभन्दा बढी थियो’, इन्जिनियर पौडेलले भने ।

उक्त रिपोर्ट यातायात व्यवस्था कार्यालय, पोखरा महानगरदेखि मन्त्रालयसम्म पुग्यो । छलफल पनि भयो । तर, त्यसपछि भने न कुनै चेकजाँच भयो न कुनै रोकतोक भएन ।

अहिले पनि पोखरामा चल्ने अधिकांश सवारी साधनले आँखै पोल्ने गरी कालो मुस्लो निकाल्दै हुइँकिन्छन् । सवारी धनी र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएपनि पोखरामा धुँवा निकाल्दै हुइँकिने सवारी साधनमा कमि आउन सकेको छैन । जसले मानिसको स्वास्थ्यलाई असर पारेको छ नै, वातावरण प्रदूषणमा समेत प्रत्यक्ष प्रभाव पारेको छ ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सवारी प्रदूषण जाँचपाससम्बन्धी नियमन गरेको पाइन्छ । २०७९ पुस १ पछि विभागको परीक्षणमा प्रदूषण जाँचपास हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१(२) बमोजिम १ लाखसम्म जरिवाना हुने उल्लेख गरिएको थियो । यो नियम काठमाडौंमा लागु भए पनि अन्य शहरमा भने कुनै प्रभाव परेका देखिदैन ।

पोखरा मापदण्डभन्दा बाहिर रहेका सवारी साधनलाई कारवाही गर्न पटकपटक आवाज उठिरहे पनि कारवाही हुन सकेको छैन । बेलाबखत सवारीको प्रदुषण चेकजाँच गरेपनि फेल भएका सवारी साधनलाई कारवाही गरेको पाइदैन ।

यातायात व्यवस्था कार्यालय, कास्कीका प्रमुख डिल्लीराम रिज्यालले पोखरामा सवारीको प्रदूषण जाँच अनिवार्य नभए पनि जाँच गर्ने कार्यको सुरुवात भइसकेको बताउँछन् ।

‘विगतमा स्मोक एनलाइजरले काम गर्न छाडेपछि गत वर्ष हामीले २ वटा किनेपछि पुनः प्रदूषण जाँच सुरु भएको छ,’ रिज्यालले भने, ‘अहिले इच्छुकहरु जो प्रदूषण चेक गर्नुपर्यो भनेर आउनुहुन्छ उहाँहरुको गरिदिएका छौं तर अनिवार्य गर्ने भन्ने काठमाडौंमा जस्तो पोखरामा छैन ।’

चालु आर्थिक वर्षमा १ सय ३८ सवारीको प्रदूषणको अवस्था जाँच गरिएको कार्यालय प्रमुख रिज्यालले जानकारी दिए । पोखरामा केही निजी सवारीसाधनले मात्र जाँच गर्ने गरेको उनको भनाइ छ ।

‘यहाँ हामीलाई धुँवा फाल्ने सवारी कसरी जाँच पास भयो भन्ने प्रश्न आउन सक्छ । प्रदूषण चेक गर्ने ट्रेन्ड नभएकाले हामीले नै प्रदूषण टेस्ट नगरिएको भनेर दिन्छौं,’ उनले भने, ‘सवारी नवीकरण गर्दा नै प्रदूषण जाँच गर्नुपर्ने नियम हुनुपर्छ ।’ बजार क्षेत्रमा चल्ने अधिकांश सवारी फेल हुने अवस्था देखिएकाले आगामी वर्षमा जाँचपास गर्दा प्रदूषण जाँच अनिवार्य गर्ने योजना बनाएको कार्यालय प्रमुख रिज्यालको भनाइ छ ।

‘सवारीले फाल्ने धुँवा मानव स्वास्थ्यको लागि घातक हुन्छ’

वन विज्ञान अध्ययन संस्थान, पोखराका क्याम्पस प्रमुख विनोद हेजु सवारी साधनले फाल्ने धुँवा मानव स्वास्थ्यका लागि एकदमै घातक हुने बताउँछन् ।

‘धुँवाले रुघाखोकी, आँखा चिलाउने, टन्सिल, एलर्जी देखि दीर्घकालमा मुटुसम्बन्धी रोग देखा पर्ने, हृदयघात, फोक्सो, श्वासप्रश्वासमा समस्या देखिन्छ,’ उनी भन्छन् ।

पर्यटकीय शहर पोखरामा धुँवा फाल्ने सवारी साधन नियन्त्रणमा ध्यान दिनुपर्नेमा क्याम्पस प्रमुख हेजु जोड दिन्छन् । उनी भन्छन्, ‘शहरीकरणसँगै सवारी संख्या पनि बढ्दै जाँदा जलवायु परिवर्तनका लागि कार्बन बढाउँछ । पोखरामा यो विषयमा अहिलेसम्म सोचिएको छैन तर सोच्नुपर्ने बेला आएको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *