सामाजिक सञ्जाल अपडेटबारे सबै सरकारी अड्डालाई प्रधानमन्त्री कार्यालयको ४ बुँदे सर्कुलर – Nepal Press

सामाजिक सञ्जाल अपडेटबारे सबै सरकारी अड्डालाई प्रधानमन्त्री कार्यालयको ४ बुँदे सर्कुलर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सामाजिक सञ्जाल अपडेट गर्न सबै सरकारी अड्डालाई सर्कुलर गरेको छ ।

कार्यालयले सामाजिक सञ्जाल अपडेट गरी विवरण पठाउन संवैधानिक आयोगहरु,संघीय मन्त्रालयहरु, कार्यालय, निकायहरु, ७ वटै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ४ बुँदे सर्कुलर जारी गरेको हो ।

सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना, जानकारी सार्वजनिक गर्ने तथा नागरिकका गुनासा सम्बोधन गर्ने राज्यको नीतिअनुरुप त्यहाँ निकाय र मातहत कार्यालयहरुले संचालन गरेका सामाजिक संजालका खाताहरुको नियमित सञ्चालन सुनिश्चित गरी तिनको प्रयोगको अवस्थाबारे जानकारी दिन सर्कुलर गरिएको छ ।

कुन-कुन सामाजिक सञ्जालमा खाता खोलेर प्रयोग भैरहेको छ ? ट्वीटर र फेसबुकमा खोलिएको खाताको लिंक के रहेको छ ? उक्त लिंक आधिकारिक वेबसाइटमा राखिएको छ छैन? कार्यालयका सूचनाहरु कति-कति समयमा सामाजिक संजालमा अद्यावधिक भइरहेका छन्, तीनको अवस्था के कस्तो रहेको छ ? यदि अपडेट भएका छैनन् भने के कारण अपडेट हुन नसकेको हो ? जिम्मेवार व्यक्ति कसलाई तोकिएको छ र किन अद्यावधिक भएको छैन, खुलाउन भनिएको छ ।

साथै सामाजिक संजालका माध्यमबाट कार्यालयको काम कारवाहीबारे नागरिकका गुनासाहरु ग्रहण गरिएको छ छैन? गरिएको भए अवस्था र नगरिएको भए किन सम्बोधन भएनन् त्यसको सही जवाफ पठाउन समेत निर्देशन दिएको छ ।

सर्कुलरमा नागरिकलाई त्यस कार्यालयसँग सम्बन्धित विषयहरुबारे सरल पहुँच पुऱ्याउन आवश्यक हुने खालका सामग्री नियमित रूपमा सामाजिक संजालमा राखिएको छ कि छैन? नसकिएको हो भने के कति कारणले हो, खुलाउन समेत भनेको छ ।

उक्त विषयमा सुधार गरी सरकारी कार्यालयको विद्युतीय कार्य संचालनको चुस्तताबारे सात दिनभित्र [email protected] मा वा हेलो सरकारको ट्वीटर पृष्ठ  @hello sarkarमा मेन्सन गरी जानकारी दिन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *