खाणको बचाउमा पूर्वमहान्यायाधिवक्ताद्वयको प्रश्न- हचुवाको भरमा कुनै मुद्दा हुन्छ, कसुर देखाउन पर्दैन ? – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

खाणको बचाउमा पूर्वमहान्यायाधिवक्ताद्वयको प्रश्न- हचुवाको भरमा कुनै मुद्दा हुन्छ, कसुर देखाउन पर्दैन ?

काठमाडौं । पूर्वमहान्यायाधिवक्ताद्वय खम्बहादुर खाती र रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतलाई हचुवाको भरमा मुद्दा लगाइएको जिकिर गरेका छन् । सरकारी वकिलहरुमाथि आक्रोशित उनीहरुले कसुर ठहरिने कुनै प्रमाणविनै कसैले बयानमा पोलेको आधारमा अदालतमा मुद्दा थोपरेको तर्क गरे ।

पूर्वगृहमन्त्री खाणको तर्फबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता खातीले ठगी गरेको भनी उजुरी दिने कुनै पनि व्यक्तिले किटानी जाहेरी नदिएकै अवस्थामा खाणमाथि मुद्दा चलाइएको बताए ।

खानले कसलाई ठग्यो, के कति रकम लियो भन्ने कुनै प्रमाणविनै ठगी मुद्दा हालेको उनको भनाइ थियो ।

‘कसले कसलाई ठग्यो ? के कति पैसा लियो ? केही प्रमाण छैन । किटानी जाहेरी छैन’, पूर्वन्यायाधिवक्ता खातीले भने, ‘यस आधारमा फैसलामा जाँदा भोलि कसलाई कति विगो र क्षतिपूर्ति दिने ? हचुवाको भरमा भएभरका भुद्दा ल्याएरमात्रै हुँदैन । कसुर पुष्टि हुने प्रमाण चाहिँदैन ?’

प्रहरीले दिएको मुद्दा सरकारी वकिलले विनाअनुसन्धान हचुवाको भरमा अदालतमा ल्याएर न्याय प्रभावित गरेको उनको दाबी थियो । ‘सरकारी वकिलहरुले धेरै मुद्दा लगाएर ठूलै मुद्दा देखाउन खोज्यो । मुद्दामाथि मुद्दा थपेर ल्याएरमात्रै हुँदैन’, उनले भने, ‘यसले न्याय प्रभावित भइरहेको छ । प्रहरीले ल्याएको मुद्दा अनुसन्धान नगरी अदालतमा मात्रै थुपार्दा सरकारी वकिलहरुको असफलता बढिरहेको छ ।’

पूर्वन्यायाधिवक्ता खातीले पूर्वगृहमन्त्री खाणले पदीय जिम्मेवारीअनुसार नीतिगत रुपमा प्रक्रिया अघि बढाएको अरु केही नकाम नगरेको दलिल पेश गरे । यो मुद्दामा खाणमाथि कुनै कसुर ठहर नहुने उनको जिकिर थियो ।

अर्का पूर्वन्यायाधिवक्ता श्रेष्ठले एक व्यक्तिको बयानको आधारमा एकै व्यक्तिमाथि दर्जनौं मुद्दामा कसुर पुष्टि नहुने दावी गरे ।

‘हरेक कसुरमा फरक फरक बयान हुनुपर्छ’, उनले भने, ‘एउटै बयानले सबै मुद्दालाई पुष्टि गर्दैन ।’

पूर्वन्यायाधिवक्ताद्वय खाती र श्रेष्ठको बहससँगै पूर्वगृहमन्त्री खाणको तर्फबाट बहस सकिएको छ ।
खाणको पक्षबाट मंगलबार १० र आज ५ गरी १५ जनाले बहस गरेका छन् ।

यसअघि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्वगृहमन्त्री खाणलाई फसाउन नै प्रहरीले आफैं प्रमाण खडा गरेको जिकिर गरे ।

प्रहरीले पक्राउ परेका प्रतिवादीहरुलाई दबाबमा राखेर पटकपटक बयान लिएको र सोही क्रममा खाणको नाम जबरजस्ती पोल्न लगाइएको उनको भनाइ थियो ।

केशव दुलालले खाणलाई गृह मन्त्रालयमा पुगेर बुझाएको भनिएको १ करोड २४ लाखको पनि कुनै प्रमाण नभएको घिमिरेको दाबी छ । दुलाललाई प्रहरी हिरासतमा जबरजस्ती बयान गर्न लगाइए पनि पछि इन्कारी बयान दिएको उनको भनाइ थियो ।

सचिव टेकनारायण पाण्डेले समेत प्रहरीले दबाब दिएर बयान गर्न लगाएर खाणको नाम मुछ्न लगाइएको बताएबाटै उनीमाथिको आरोप निराधर रहेको घिमिरेको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *