जिल्ला निर्वाचन कार्यालय खारेजीबारे पुनरावलोकन गर्न सरकारलाई सरोकार समितिको निर्देशन – Nepal Press

जिल्ला निर्वाचन कार्यालय खारेजीबारे पुनरावलोकन गर्न सरकारलाई सरोकार समितिको निर्देशन

निर्वाचन कार्यालय खारेज गर्ने मनशाय सरकारको छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जिल्ला निर्वाचन कार्यालय खारेज गरि प्रशासन कार्यालयमा इकाई राख्ने प्रस्तावलाई निर्वाचन आयोगसँग परामर्श गरी पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले संविधान निर्वाचन आयोगलाई आफ्नो काम कतव्र्य पुरा गर्नका लागि निर्वाचन स्वतन्त्र, स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गराउन आवश्यक सहयोग गर्नका लागि पनि सरकारलाई निर्देशन दिएको समिति सभापति दिलकुमारी रावलले बताइन् । त्यस्तै, उनले सुरक्षा लगाएत अन्य बिषयमा पुनः बैठक बसेर सरकारलाई आवश्यक निर्देशन दिइने बताइन् ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्वाचन कार्यालय खारेज गर्ने मनशाय सरकारको नभएको बताए । कानूनी हिसाबले पनि निर्वाचन आयोगसँगको परामर्शबिना यस्ता निर्णय गर्न हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको उनले बताए ।

उनले खर्च घटाउने नीति बनाउने सन्दर्भमा जिल्ला निर्वाचन कार्यालयहरु नै खारेज गर्ने भन्नेजस्तो प्रिन्ट बजेट वक्तव्यमा आएको जिकिर गरे ।

संविधान र कानूनले निर्वाचन आयोगको आफ्नै परिभाषा कल्पना गरेको र त्यसलाई सरकारले पूर्ण सम्मान गर्ने भन्दै श्रेष्ठले यस बिषयमा प्रधानमन्त्रीले समेत संसदमा स्पष्ट पारिसकेको बताए । त्यस्तै, उनले नागरिकताका बिषयमा अदालतले छिटै निर्णय गरे सरकारले आगामी कदम चाल्न सहज हुने उल्लेख गरे ।

श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निष्पक्ष अनुसन्धान गरेको भन्दै कोही निर्दोष डराउनुपर्ने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *