प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ताको एकपछि अर्को अडान, समितिको वैधानिकतामा उठाए प्रश्न – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ताको एकपछि अर्को अडान, समितिको वैधानिकतामा उठाए प्रश्न

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरू एक्लाएक्लै छलफलमा नजाने अडानका कारण संसदीय समितिको बैठक प्रभावित भएको छ । उजुरीकर्ताहरू समूह बनाएरै संसद सचिवालयमा आएका छन् । उनीहरूले एकैपटक बोलाइनुपर्ने नत्र कोही पनि नजाने अड्डी कसेपछि अहिले समिति सचिव, सहसचिवलगायतका कर्मचारीसँग छुट्टै कोठामा छलफलमा छन् ।

उजुरीकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुव श्रेष्ठले समिति सचिव पद्मप्रसाद पाण्डे र सहसचिव एकराम केसीलगायतका कर्मचारीसँग छलफल गरे । कर्मचारीसँग छलफलपछि उनीहरू वार्ताका लागि मात्र भनेर अहिले समिति बैठकमा छिरेका छन् । तर, उजुरीउपर छलफल भने नगर्ने उनीहरूको जिकिर छ ।

बैठकमा २० वटा उजुरीका २३ जना उजुरीकर्ता सम्पर्कमा आएको ज्येष्ठ सदस्य तथा समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिएका छन् । उनले प्रत्येक उजुरीकर्तालाई १० मिनेटको समय उपलब्ध गराएपछि उजुरीकर्ताले सामूहिक रूपमा विरोध जनाएका थिए ।

उजुरीकर्ताले संसदीय सुनुवाइ समितिकै वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘संवैधानिक परिषद्को अवैधताको विषयमा मैले निवेदन दायर गरेको छ । तर, सर्वोच्च अदालतले नौ दिनसम्म होल्ड गरेर राख्यो । हामीले १० औं दिनमा प्रेस मिट गराइएपछि दरपीठ भएर जानकारी गराइयो । त्यसको विरुद्ध अर्को मुद्दा लाग्छ । त्यो मुद्दा पनि उठायौं । त्यसको आजसम्म चार पटक पेशी तोकिएको छ तर हेर्न नभ्याउने भनेर हामीलाई यातना दिइरहेको छ । हामी मुद्दा लडिरहेका छौं ।’

उनले थपे, ‘संवैधानिक परिषद् मिटिङ बस्न सक्ने, कारवाही गर्ने र कुनैपनि सिफारिस गर्ने सम्बन्धित कानुनहरु हुन्छ त्यो कानून नै ओलीको पालामा झिकिएको छ। खारेज गरिएको छ । अहिले पनि ल्याइएको छैन । त्यसैले यो संसदीय सुनुवाइ समितिको पनि वैधानिकता छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर