प्रधानमन्त्रीसहित प्रदेश र स्थानीय सरकार प्रमुखलाई प्रेस सेन्टर नेपालको ध्यानाकर्षण पत्र – Nepal Press

प्रधानमन्त्रीसहित प्रदेश र स्थानीय सरकार प्रमुखलाई प्रेस सेन्टर नेपालको ध्यानाकर्षण पत्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखलाई एकै पटक ध्यानाकर्षपत्र बुझाएको छ ।

सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटासहितको पदाधिकारी टोलीले १४ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले लिएका जन पक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता, न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारका समस्या, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषय ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझ्नै प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टर नेपाल महत्त्वपूर्ण मोर्चा भएको भन्दै सरकारलाई बुझाएको ध्यानाकर्षणपत्र अध्ययन गरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले अहिलेसम्म प्रेस सेन्टरले राम्रो काम गर्दै गएकोमा प्रंशसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधवार बिहान प्रेस सेन्टर नेपालले प्रधानमन्त्री प्रचण्डलाई, ७ वटै प्रदेश समितिले प्रदेश सरकारका मुख्यमन्त्रीलाई, ७७ वटै जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारीलाई र पालिका समितिले पालिका प्रमुख र अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

केन्द्रीय समितिले नै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ ।

जनपक्षीय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ साधारणसभाको निर्णय अनुसार नै बुधवार देशैभर सरकार प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउने क्रममा जानकारी गराए ।

प्रधानमन्त्रीलाई बिहान ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाइएको छ भने अन्य प्रदेश, जिल्ला र स्थानीय तहमा बिहान ११ बजे ध्यानाकर्षण पत्र बुझाउने कार्य तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *