न आमा रहिन्, न शिशु – Nepal Press

न आमा रहिन्, न शिशु

पोखरा । तनहुँको व्यास नगरपालिका १२ कमलबारीकी २६ वर्षे शर्मिला दरै चिकित्सकले तोकेको सुत्केरी हुने मितिमै अस्पताल पुगिन् । जेठ २१ गते उनी तनहुँ जिल्ला अस्पताल पुगेकी थिइन् ।

२१ गते दमौली अस्पताल पुग्दा उनलाई चिकित्सक नभएको भन्दै स्वास्थ्यकर्मीले घर फर्काइदिए । उक्त समयसम्म शर्मिलाको स्वास्थ्य अवस्था सामान्य थियो । दमौली अस्पताल गएको बेला स्वास्थ्यकर्मीले १ सातापछि पोखरा जान सुझाव दिए ।

दमौली अस्पतालकै सुझावअनुसार शर्मिला जेठ २८ गते पोखरा आइन् । श्रीमतीको सुत्केरी हुने मिति नजिकिएपछि गत सातामात्रै नेपाल फर्किएका श्रीमान कृष्ण दरैको साथमा शर्मिला पोखरा आएकी थिइन् । पोखरा आएर उनी गण्डकी प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वास्थ्यकर्मीले सोमबार बिहान ११ बजेतिर शर्मिलालाई बेथा लाग्ने औषधी दिएका थिए । आफन्तका अनुसार दिउँसो ४ बजेतिर अर्काे डोज औषधी दिएलगत्तै शर्मिलाको अवस्था बिग्रेको थियो । त्यसपछि राति ११ बजेतिर शर्मिला संसारबाट बिदा भइन् । शर्मिलाको मृत्यु लगत्तै पेटबाट शिशु निकालिएको थियो । आमा र नवजात शिशुको दुवैको मृत्यु हुन पुग्यो ।

चिकित्सकले शिशुको पेटमै निधन भइसकेको बताउँदै आएका छन् । शर्मिलाको पति कृष्णसहित आफन्तले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीकै कारण आमा र शिशुको निधन भएको आरोप लगाएका छन् ।

अस्पताल प्रशासनले अस्पतालका तर्फबाट कुनै पनि लापरबाही नभएको बताउँदै आएको छ । अस्पतालका निर्देशक डा भरत खत्रीले आमा र शिशु बचाउन विषयमा अस्पतालको तर्फबाट कुनै पनि लापरवाही नभएको बताएका छन् । आमा र शिशुलाई बचाउन हरसम्भव प्रयास गरे पनि नसकिएको स्वीकारे ।

पाठेघरमा बच्चा बस्ने ठाउँको पानी फोक्सोमा गएका कारण शर्मिलाको निधन भएको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ राजेन्द्र अधिकारीले बताएका छन् ।

‘पाठेघरमा बच्चा बस्ने ठाउँको पानी फोक्सोमा गएका कारण शर्मिलाको निधन भएको हो, यसलाई मेडिकल भाषामा एम्युनिटिक फ्ल्युड इम्बोलिजम भनिन्छ । निकै कममा देखिने यो जटिलता शर्मिलामा देखिएको थियो,’ अधिकारीले भने, ‘समस्या देखिएपछि चिकित्सकको टोलीले बचाउन सक्दो प्रयास गरेको थियो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर