नेकपा ब्यूँताउने माधव नेपालको प्रस्ताव- संकटबाट मुक्ति कि नेताहरू एमालेमा फर्किनबाट रोक्ने जुक्ति ? – Nepal Press

नेकपा ब्यूँताउने माधव नेपालको प्रस्ताव- संकटबाट मुक्ति कि नेताहरू एमालेमा फर्किनबाट रोक्ने जुक्ति ?

काठमाडौं । नेताहरूले एकपछि अर्को गर्दै पार्टी छाड्न थालेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा ब्यूँताउने प्रस्ताव अघि सारेका छन् । पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै नेताहरू एमालेमै फर्किने क्रम बढेपछि अध्यक्ष नेपालले ‘नेकपा कार्ड’ फ्याँकेको कतिपयको टिप्पणी छ ।

तर, अध्यक्ष नेपालले अहिलेमात्रै नभए पार्टीभित्र संकट बढ्दै गएपछि केही समयअघि देखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुरानै पार्टी ब्यूँताउन सार्वजनिकरूपमै प्रस्ताव राख्दै आइरहेका छन् ।

उनको प्रस्तावमा माओवादी केही हदसम्म सकारात्मक भएपनि एमालेले रुची देखाएका छैन । आफूलाई सत्ता बहिर्गमन गराएर पार्टी फुटाएर हिँडेपछि ओलीले अझै बिर्सेका छैनन् । त्यसैले पनि ओलीले माधवको प्रस्ताव सहजै स्वीकार्ने देखिँदैन ।

शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भनेका थिए, ‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्यूँताउँछौँ । प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्यूँताऔँ ।’

पार्टीको तेस्रो वरीयतामा रहेका नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, केन्द्रीय सचिव भागवत विश्वासी, स्थायी कमिटी सदस्य चुँडामणि जंगली, केन्द्रीय सदस्य हीराचन्द्र केसी, शारदा स्वर्णकारलगायत नेताहरूले नेकपा एस छाडिसकेका छन् ।

शीर्ष नेताहरूले नै पार्टी छाडेपछि अध्यक्ष नेपाललाई पार्टीमा नेताहरू जोगाइराख्ने चुनौती थपिएको छ । पार्टी नेताहरू जोगाउँनै मुस्किल देखेपछि नेकपा ब्यूँताउने प्रस्ताव अघि सारेको कतिपयको बुझाइ छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली माधव नेपालले कम्युनिष्ट पार्टी ब्यूँताउन प्रस्ताव गर्नु नै हास्यापद भएको टिप्पणी गर्छन् ।

उनले भने, ‘उहाँहरूले अब कम्युनिष्ट नाम नै छाड्दिए हुन्थ्यो । अझै नेकपा ब्यूँताउने उहाँको प्रस्तावमा एमालेको कुनै रुचि छैन र त्यो सम्भावना पनि छैन ।’

सत्ता गठबन्धनमा अप्ठ्यारो परेको बेलामा बार्गेनिङका लागि यस्तो प्रसंग उठाएको उनको बुझाइ छ । अहिले बजेटको बिषयलाई लिएर माधव नेपाल सन्तुष्ट छैनन् । ज्ञवालीको भनाई झैं प्रचण्ड नेतृत्वको गठबन्धनको सरकार ढाल्ने चेतावनी पनि उनले नेकपा ब्यूँताउने प्रस्ताव अघि सारेका हुन् ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि नेकपा ब्यूँताउने कुरा बेमौसमी बाजा भएको टिप्पणी गर्छन् ।

उनी भन्छन्, ‘हामीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने लक्ष्यका साथ प्रचण्डजीको नेतृत्वमा सुरकार बनायौं । तर, उहाँले धोखा दिनुभयो । त्यसपछि कम्युनिष्ट पृष्ठभूमिका व्यक्तिलाई राष्ट्रपति बनाऔं भनेर माधवजीलाई प्रस्ताव गरेका थियौं । तर, त्यो प्रस्तावमा पनि उहाँले लात हान्नुभयो । त्यसैले अहिले उहाँको प्रस्तावको अर्थ छैन ।’

नीति, कार्यक्रम, लक्ष्य र सिद्धान्तमा कुरा नभइ एकतर्फीरूपमा भएको अनौपचारिक आह्वानको अर्थ नहुने उनको बुझाइ छ । एमाले अहिले स्पष्ट अवधारणासहित समाजवादको आधारहरू तयार गर्दै अगाडि बढिरहेको उनले बताए ।

नेताहरू एमालेसँग संवादमा

त्यसो त नेता गौतमले नेकपा एसका नेताहरू एमालेसँग संवादमा रहेको दाबी गर्छन् ।

उनले भने, ‘मुकुन्द न्यौपानेसहित ठूलो टीम पार्टीमा प्रवेश गरिसकेका छ । अहिले ठूलो टीम हामीसँग छलफलमा हुनुहुन्छ । युवा र तल्लो तहका कार्यकर्ताहरू पनि आइरहेका छन् । हामीले हाम्रो पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले पारित गरेको एजेण्डालाई स्वीकार गर्नेहरूलाई भित्राइरहेका छौं ।’

एमालेका अर्का नेता पार्टी सदस्यदेखि पदाधिकारी तहसम्मका नेताहरू संवादमा रहेको बताए ।

ती नेताले भने, ‘सांसदहरू पनि छलफलमा हुनुहुन्छ । उहाँहरूले पनि दलको भविष्य हेर्ने हो । गन्तव्यहीन, दिशाहीन अलमल भएपछि छलफल विकल्प खोज्नु स्वाभाविक हो ।’

परिस्थिति बिग्रने भएकाले अहिले नाम खुलाउन नहुने ती नेताको भनाइ छ । यता, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडा पार्टीले औपचारिकरूपमा कसैलाई एमालेसँग संवाद गर्न नपठाएको बताए ।

उनले भने, ‘पार्टीले आधिकारिक रूपमा एमालेसँग छलफलका लागि कुनै नेतालाई भनेको छैन । भन्ने अवस्था पनि छैन । व्यक्तिगतरूपमा गर्नुभएको भए पार्टीमा जानकारी छैन ।’

पार्टीका नेताहरू एकपछि अर्को गर्दै एमाले फर्किने थाले नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘आउने जाने भइरहन्छ त्यसले खासै अर्थ हुँदैन । पार्टीबाट बाहिर निस्कनु पलायन मात्रै हो । कोही जान्छन् कोही आउँछन् त्यो नियमित प्रक्रिया हो । राजनीतिमा त्यसलाई ठुलो लिनु हुँदैन ।’

अध्यक्ष नेपालको कार्यशौलीप्रति सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्रीसहित केही नेताहरू सन्तुष्ट बन्न सकेका छैनन् ।

सम्भव छ ?

एमाले नेताहरू झैं माधव नेपालको प्रस्ताव अहिले सम्भव नभएको माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘नेकपा ब्यूँताउनेबारे पार्टीमा छलफल भएको छैन । नेकपा ब्यूँताउने अहिले मैले सम्भावना देखेको छैन । जुनबेला सर्वोच्चले एमाले र माओवादीलाई छुट्याइदियो त्यही बेलामा हाम्रो बहुमत भएको बेलामा भएको भए पार्टी हाम्रै हुन्थ्यो । त्यो बेलामा आयोगमा जानुपर्थ्यो ।’

तर, उनले सकारात्मक कुरा भएपनि अहिले सम्भव नभएको उनको भनाइ छ ।

नेकपा ब्यूँताउने तागतका साथ हिँड्न सक्यो भने मात्रै कम्युनिष्ट आन्दोलनले नयाँ गतिमा अगाडि बढ्ने नेकपा एसका प्रवक्ता खतिवडा बताउँछन् ।

उनी भन्छन्, ‘नेकपालाई समाप्त गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन ओरालो लागिरहेको छ । यस्का दोषी ओली हुन् । त्यसैले नेकपा ब्यूँताउने तागतका साथ हिँड्न सक्यो भने मात्रै कम्युनिष्ट आन्दोलनले नयाँ गति पाउँछ भन्ने अर्थमा त्यो आह्वान गर्नुभएको हो ।’

पार्टी बनाउन नसकेपछि नेताहरूले छाडे : विश्लेषक आचार्य

तर, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले माधव नेपालले आफ्नो राजनीतिक जोगाउनको लागि नेकपा ब्यूँताउने प्रस्ताव अघि सारेको बताउँछन् ।

उनी भन्छन्, ‘माधवजीको पार्टी राष्ट्रिय पार्टी हुनसक्यो न पार्टीको विकास गर्न सक्नुभयो । उहाँको पार्टी नै तरलतामा जाला जस्तो छ। उहाँले आफ्नो राजनीति र पार्टी जोगाउनको लागि पुरानो कम्युनिष्ट पार्टी उठाऔं भन्ने बासुरी बजाउन थाल्नुभएको छ। त्यसमा प्रचण्ड मान्ने र ओलीलाई मनाउन पर्‍यो भन्नेजस्तो कुरा उहाँको छ ।’

आफ्नो र पार्टी नेताहरूको राजनीति जोगाउन खोजाउन खोजेको बताए ।

उनले भने, ‘उहाँले पार्टी बनाउन सक्नुभएन । पहिला एमाले पार्टी मैले नै बनाएको भन्ने कन्फिडेन्स थियो । तर, त्यस्तो फुटेपछि अहिले पार्टी बनाउन गाह्रो छ । उहाँले वामदेव, शेरबहादुरजीबाट पनि शिक्षा लिन सक्नुपर्थ्यो अहिले आफैंले भोग्नुभयो । अहिले फेरि आफ्नो राजनीतिक जीवनको लागि पनि पुरानै पार्टी ब्यूँताउनुपर्छ भन्ने जरुरी भयो ।’

पार्टीमा नेताहरूले छाड्दै गएपछि नेकपा ब्यूँताउनुपर्छ भन्ने रियला भएको हुनसक्ने उनले सुनाए ।

उनले भने, ‘एकतिर पार्टी बनाउन सक्नुभएन । अर्कोतिर भएकाले पनि छाड्दै गए केही महिना अघि उहाँमा दम्भ देखिन्थ्यो पार्टी बनाउछु भन्ने । अहिले उहाँको उमेर र एजेण्डा, माहोल नभएपछि पुरानै पार्टी ब्यूँताउनुपर्छ भन्ने लाग्यो होला ।’

फेरि नेकपा ब्यूँतने सम्भावना कति देख्निुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सबै यिनीहरूको हातमा हुँदैन। अन्तराष्ट्रिय शक्तिले पनि काम गर्छ । तर, पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विघटनतिर उन्मुख छ । उहाँको मात्रै होइन एमाले पनि कमजोर भइरहेको छ । सबै गम्भीर भएर लागे हुनसक्ला भन्ने आश नहोला भन्न सकिन्न ।’


प्रतिक्रिया

2 thoughts on “नेकपा ब्यूँताउने माधव नेपालको प्रस्ताव- संकटबाट मुक्ति कि नेताहरू एमालेमा फर्किनबाट रोक्ने जुक्ति ?

  1. मेरा आदर्शवादी नेता प्रदिप ज्ञवालीको जवाफ सटिक लाग्यो । अब माधव, वामदेव, झलनाथलाई एमालेमा भित्र्याए म एमाले छोडछु र अरूलाई पनि छोडन आग्रह गर्दछु किनकी हामी दुख गरिरहने पार्टी राम्रो होस्, त्यसले जनताको हितमा काम गरोस् भनेर । अनि माधव, वामदेव, झलनाथहरू अरूको ईशारामा पार्टी फुटाईरहने । हाम्रो मिहेनत जति पानीमा ।

  2. एकातिर माधब कमरेडलाइ पार्टी बनाउन नसकिने रहेछ भन्ने लाग्यो।हिजो ओलिको दास होइनौ भन्ने हरु आज प्रचण्ड र देउबाको दास भै रहदा त्याहाभित्रका अन्य नेता कार्यकर्ता जोगाइन मुस्किल भयो भने अर्को तिर प्रचण्डलाइ घुर्की पनि हो।मलाइ लाग्छ निकट भबिश्यमा माधब नेपाल भेटमणी र जगन्नाथ खतिओडा जस्ता केही लघुताभासी इर्श्याप्रेमि बाहेक नेपाल कम्युनिस्ट पार्टिको मुल प्रबाहमा सामेल नभै शुखै छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर