रुपन्देहीमा निजी लगानीमा २५ हजार दर्शक अट्ने क्रिकेट रंगशाला निर्माण सुरु – Nepal Press

रुपन्देहीमा निजी लगानीमा २५ हजार दर्शक अट्ने क्रिकेट रंगशाला निर्माण सुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण सुरु भएको छ । यसलाई खेलका जानकारहरुले निजी लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला भनेका छन् ।तिलोत्तमा वडा नंं १७ पूर्व दरखसवामा ५ बिघा क्षेत्रफलमा यस्तो रंगशाला बनाउन सुरु भएको हो ।

९ वर्षदेखि अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रको व्यवसाय गर्दै आएका बिनोद कुँवर र सुदिच्छा गौतमको लगानीमा बन्ने एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सोमबार शिलान्यास गरे ।

संचालक कुँवरका अनुसार पहिलो वर्ष ५ हजार दर्शक क्षमताको हुने र हरेक बर्ष ५ हजार क्षमता थप्दै ४ बर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ । यो क्रिकेट रंगशाला होस्टेल, एकेडेमी र तालिम केन्द्र सहितको हुने एक्स्ट्राटेक ओभल प्रालिका प्रबन्द निर्देशक बिनोद कुंवरले बताए । आफू क्रिकेटको पारखी भएकाले यो खेलको विकासमा निजी क्षेत्रबाट योगदान गर्ने उद्देश्यले रंगशालामा लगानी गरेको बताए ।

चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालीम केन्द्र संचालनका लागि पूर्ब राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिच्छा गौतमले बताइन् । एक बर्षमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्माउने काम भैसकेको बिनोद कुंवरले बताए । रंगशाला चार वर्षमा पूरा हुने उनले बताए ।

सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले रुपन्देही जिल्ला क्रिकेटको उर्बरभूमि भएको र अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला बनेपछि खेलाडी उत्पादन र प्रतियोगिता आयोजना मात्र नभई खेल पर्यटनमार्फत समग्र नगरको विकासमा योगदान पुग्ने बताए । उनले निजी क्षेत्रबाट लगानी भएपनि यो नगरकै गौरवको आयोजना हुने बताए ।

नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले यो रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने बताए ।

कुँवरले आफूले कमाएको रकमबाट रुपन्देहीको तिलोत्तमा १७ दखरसवाका २९ जना किसानबाट ५ विगाह जग्गा किनेर यस्तो मैदान बनाउन लागेका हुन् । ‘विदेशमा बसेपनि ४२ डिग्रीको तापक्रममा म आफै मैदानमा खटेर यो अवस्थामा ल्याएको छु, ५ वर्षमा जसरी पनि यसलाई पूरा गरेर छाड्नु, खेलप्र्मी, स्थानीय र सरकारको साथ पाइरहनेछु’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर