कृषिमा चाहिने अनुदानको मल प्लाइउड कारखानाहरुले प्रयोग गरिरहेका छन् : कृषिमन्त्री भुसाल (भिडिओ) – Nepal Press

कृषिमा चाहिने अनुदानको मल प्लाइउड कारखानाहरुले प्रयोग गरिरहेका छन् : कृषिमन्त्री भुसाल (भिडिओ)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुलाई चाहिने अनुदानको मल प्लाइउड कारखानाहरुले प्रयोग गरिरहेको बताएका छन् । अनुदानको मल दुरुपयोग भइरहेको उनको दाबी थियो ।

२०औं राष्ट्रिय धान दिवस मूल समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुलाई दिइने मलको अनुदान दुरुपयोग हुने गरेको बताएका हुन् ।

अनुदानको मल गैरकिसानले लिने गरेकाले सक्कली किसान सचेत हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री भुसालले किसानहरुलाई अनुदानको मलको खोजी गर्न आग्रह गर्दै दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन दिए ।

‘अनुदानको मल वितरणमा बेथिति सहकारीहरुमा पुगेपछि हुँदोरहेछ । सहकारीमा जाँदासम्मको लागि हाम्रो एउटा सफ्टवेयर रहेछ कृषि सामग्री कम्पनीले बनाएको । त्यसले त्यहाँसम्म पुगेको पत्ता लगाउने’, उनले भने, ‘त्यहाँबाट तल वितरण कसरी हुन्छ ? त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ । बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैरकिसानले प्रयोग गरेको पनि पाइयो ।’

कृषि र कृषकका निम्ति ल्याइएको मल अथवा कृषकका लागि भनेर दिइएको अनुदान गैरकृषकलाई गएको कुरालाई कसरी नियन्त्रण गर्ने भन्ने सवाल गम्भीर रहेको उनको भनाइ छ ।

‘मैले नयाँ कुरा सुनेको छु, कोकाकोलाले पनि रासायनिक मल खासगरी युरिया मल प्रयोग गर्छ । कोकाकोला बनाउँदा जुन फोहोर हुन्छ, त्यो फोहोर नष्ट गर्न युरियाको प्रयोग हुन्छ भन्छन्’, कृषिमन्त्री भुसालले भने, ‘मलको दुरुपयोग भएको छ । किसानहरु तपाईंहरु पनि सचेत भएर यसको खोजी गर्नुहोस् । हाम्रा विभिन्न निकायहरुले पनि यो काम गर्नुपर्ने भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर