खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय खारेजी उचित होइन, तत्काल सच्याऊँ : दिनेश थपलिया (भिडिओ) – Nepal Press

खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय खारेजी उचित होइन, तत्काल सच्याऊँ : दिनेश थपलिया (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव उचित नरहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा थपलियाले संविधानमा उल्लेखित आयोगको अधिकारक्षेत्रलाई सरकारको बजेटका माध्यमबाट परिवर्तन गर्न नमिल्ने भन्दै खर्च कटौतीका नाममा कार्यालय खारेजीको प्रस्ताव अव्यवहारिक र संविधान प्रतिकूल हुने बताएका हुन् ।

अहिले आफ्ना ४२ वटा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन भइरहेको र अन्य स्थानको भाडा वापत २ करोड खर्च हुने गरेको भन्दै उनले आयोगको खर्च कटौतीका कारण आर्थिक व्यवस्था सुधार हुने भए अरु शीर्षकबाट २ करोड छाड्न तयार रहेको बताए ।

उनले संवेदनशिल बिषयमा हचुवाका भर निर्णयमा पुग्नु उचित नहुने धारणा राख्दै अरु पनि सुधारका काम गर्नुपर्ने भए आयोग तयार रहेको उल्लेख गरे । थपलियाले यो विषयको उठान कसरी रह्यो भन्ने बिषयमा आयोगको चासो रहेको बताए ।

बैठकमा समिति सदस्यहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउनुपर्नेमा जोड दिएका थिए । बैठकमा समिति सभापति दिलकुमारी रावलले निर्वाचन कार्यालय खारेजीका बिषयमा गृहमन्त्रालयसंग छलफल गरेर आवश्यक निर्णय गरिने जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर