हराउँदै हाताहाती कारोबार : एटीएमभन्दा मोवाइल बैंकिङबाट चार गुणा बढी – Nepal Press

हराउँदै हाताहाती कारोबार : एटीएमभन्दा मोवाइल बैंकिङबाट चार गुणा बढी

काठमाडौं । पछिल्लो समय बैकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो क्रममा देखिएको छ । कुनै समय चेकबाट मात्र नगद झिक्न सकिने व्यवस्थालाई एटीमले क्रमश: विस्थापित गर्दै लगेको थियो । तर, अझै पनि ठूल्ठूला रकमको कारोबार चेकबाटै हुन्छ । एटीएमको प्रयोगलाई पनि मोवाइल बैंकिङले बिस्तारै पाखा लगाइरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो सार्वजनिक तथ्यांकअनुसार मोवाइल बैंकिङको कारोबार बढ्दो क्रममा रहेको देखाएको हो ।

वैशाखमा मात्र मोवाइल बैकिङबाट २ खर्ब १० अर्ब बराबरको कारोबार भएको छ । तर, यही अवधिमा एटीएमबाट ८३ अर्ब झिकिएको छ । गत साउनदेखि वैशाख १० महिनासम्म ३२ खर्ब २१ अर्ब ४१ करोड रूपैयाँ बराबरको कारोवार मोवाइल बैंकिङबाटै मात्र भएको छ । जबकी यो समय एटीएमबाट ७ खर्ब ९५ अर्ब १३ करोड रुपैयाँ नगद बैंकबाट झिकिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै मान्छेको हातबाट नगद हराइरहेको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल पछिल्लो समय एटीएम भन्दा बढी मोबाइल बैकिङ प्रयोगकर्ताहरू रहेको बताउँछन् ।

उनी भन्छन, ‘एटीएमका लागि मेसिन चाहिने, तर मोवाइल बैकिङ हातहातबाटै रकम कारोबार गर्न सकिने भएकाले यसप्रतिको आकर्षण बढ्दो छ ।’

अहिले बैंक तथा वित्तीय संस्थाको ४ हजार ७ सय १६ वटा एटीएम मेसिन छन् । १ करोड १७ लाख ६० हजार ५ सय ९४ डेबिट कार्ड जारी भएको छ भने २ लाख ७४ हजार ६ सय ९० क्रेडिट कार्ड जारी भएको छ । प्रिपेड कार्ड १ लाख ३३ हजार प्रिपेड कार्ड रहेको छ ।

यता मोबाइल बैंकिङका ग्राहक २ करोड ७ लाख ६३ हजार ३ सय ४६ रहेका छन् । अहिले ठूलो परिणामको रकम भने चेकको प्रयोगबाट आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट ) र ईसीसी (इलेक्ट्रोनिक चेक क्लियरेन्स) मार्फत भुक्तानी हुँदै आएको छ ।

अहिले नेपालमा ५४ ईसीसी ग्राहक छन् भने ४५ वटा बैंक तथा वित्तीय संस्थाले आरटीजीएसमा सहभागिता जनाएको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

अहिले नेपालमा विद्युतीय भुक्तानीका १३ उपकरण प्रयोगमा छन् । आरटीजीएस, एटीएम, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, ब्रान्चलेस बैकिङ, वालेट, क्यूआरमा आधारित भुक्तानी, पस (पोइन्ट अफ सेल) र इ-कमर्शमार्फत कारोबार हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर