प्रचण्डबाट बाबुरामलाई फेरि धोखा ! महरामार्फत विप्लव भित्र्याउन खुला भयो ढोका – Nepal Press

प्रचण्डबाट बाबुरामलाई फेरि धोखा ! महरामार्फत विप्लव भित्र्याउन खुला भयो ढोका

नेसपा बैठकमा गोर्खाली नेताहरूले भने- आउने चुनाव गोरखाबाट बाबुराम नै लड्नुपर्छ, प्रचण्डले गुन बिर्से

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि गोरखा २ छाडेर चुनावी राजनीतिबाट अलग्गिएका डा. बाबुराम भट्टराईलाई अबको चुनाव गोरखाबाट लड्न जिल्लाका नेताले दबाब दिएका छन् ।

नेपाल समाजवादी पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा गोरखाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले आउने चुनाव अन्तिम पटक गोरखा २ बाट लड्न बाबुरामलाई आग्रह गरेका हुन् ।

नेसपा नेता विश्वदीप पाण्डेले बाबुरामलाई गोरखाबाट अन्तिम पटक चुनाव लड्न आग्रह आएको पुष्टि गरे । तर त्यसबारे बैठकमा भट्टराईले भने कुनै जवाफ दिएनन् ।

बैठकमा गोरखाका नेसपा नेताहरूले प्रचण्डबाट फेरि धोखा हुन लागेको भन्दै पार्टी एकता गर्ने भनेर अहिले पन्छिएकोमा बाबुरामसँग जवाफ मागेका थिए ।

बाबुरामका कारण गोरखामा प्रचण्डको जित सम्भव भए पनि चुनावपछि प्रचण्डले गुन बिर्सिएको उनीहरूको आरोप छ ।

बाबुरामले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छाडेर माओवादीकै चुनाव चिन्हमा भाग लिएका थिए । हाल नेसपाबाट माओवादी संसदीय दलमा २ जना सांसद छन् । महिन्द्र राय मन्त्री समेत छन् ।

चुनावअघि भएको सम्झौता अनुसार २ पार्टीबीच चुनावपछि एकता गर्ने र वृहत समाजवादी केन्द्र बनाउने सहमति थियो । दुवै पक्षले वार्ता टोली बनाएर एकताका लागि आ आफ्ना अवधारणा साटासाट गरेका थिए । नेसपाको टोलीले एकताका आधार समेत लिखित रूपमा पेश गरेको छ ।

चुनावपछि प्रचण्ड भने पार्टी एकता गर्ने कुराबाट तर्किएको नेसपा नेताहरूको बुझाई छ । कतिपय अनौपचारिक भेटघाटमा प्रचण्डले बाबुराम वैचारिक काममा मात्र सीमित नहुने र पार्टी एक भएपछि नेतृत्वको दाबेदारका रूपमा शक्ति हत्याउन लाग्ने आशंका व्यक्त गरेका छन् ।

प्रचण्डलाई भेटेका एक नेताले भने- हिजोको सहमति अनुसार प्रचण्डले सरकार र पार्टीको नेतृत्व गर्ने, बाबुरामले वैचारिक काम गर्ने भनेर नेकपा समाजवादी बनाउने कुरा भएको हो । तर प्रचण्डमा बाबुरामसँगको भय यथावत् देखियो । भोलि पार्टी एकता हुँदा हिजोको माओवादीमा हुँदाको आफ्नो शक्ति पुनः संगठित गर्ने खतरा देखेर प्रचण्ड एकताप्रति अनिच्छुक भएका हुन् ।

अहिले बाबुरामसँग एकता भन्दा विप्लवलाई पार्टीमा भित्र्याएर आफू थप शक्तिशाली बन्ने दिशामा प्रचण्ड अग्रसर भएको ठम्याई बाबुराम पक्षको छ । प्रचण्डको प्रतिनिधिका रूपमा उपाध्यक्ष कृष्णबहादुर महरा दिनहुँजसो विप्लवसँग वार्तामा छन् ।

महराले विप्लव भित्र्याएर जनार्दन शर्मालाई साइजमा राख्न खोजेको कतिपयको आशंका छ । तर विप्लव भित्रिने बित्तिकै जनार्दन र वर्षमान पुन एक ठाउँमा आउने अनुमान निकट नेताहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर