राप्रपाको भूतपूर्व सैनिक संगठनको अध्यक्षमा महासेनानी कार्की निर्वाचित – Nepal Press

राप्रपाको भूतपूर्व सैनिक संगठनको अध्यक्षमा महासेनानी कार्की निर्वाचित

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाधिवेशनबाट अवकाशप्राप्त महासेनानी प्रकाशजङ्ग कार्की निर्विरोध निर्वाचित भएका छन् ।

जेठ २७ र २८ गते काठमाडौंमा भएको संगठनको महाधिवेशनले अध्यक्ष कार्कीसहित ११ पदाधिकारी र ५१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महाधिवेशनले उपाध्यक्षहरुमा महासेनानी (अप्रा) राजेश चन्द, प्रमुख सेनानी (अप्रा) चन्द्र प्रसाद चापागाईं, प्रमुख सेनानी (अप्रा) प्रभुकृष्ण खड्का, प्रमुख सेनानी (अप्रा) हरिशरण सुवेदी, सेनानी (अप्रा)इश्वरी पाण्डे, क्याप्टेन (अप्रा) केविन्द्र गुरुङलाई निर्वाचित गरेको छ भने महासचिवमा महासेनानी अप्रा उत्तम बोगटी, सचिव नरबहादुर क्षेत्री, अच्युत आचार्य र कोषाध्यक्षमा विष्णु बहादुर गिरी निर्वाचित गरेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना दिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीवनको लामो समय देशभक्तिपूर्ण सैनिक सेवामा बिताएका अवकाशप्राप्त सैनिकले बाँकी जीवन देश र समाजका लागि समर्पित गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाका लागि अवकाशप्राप्त सैनिकको भूमिका उल्लेख्य हुने भएकाले राष्ट्रवादी आन्दोलनको अगुवाइ गरिरहेको शक्ति राप्रपालाई सबल र सक्षम बनाउन सम्पूर्ण सामर्थ्य लगाउन नयाँ कार्यसमितिलाई अध्यक्ष लिङ्देनले आग्रह समेत गरेका छन् ।

शनिबार शुरु भएको महाधिवेशनमा एक दर्जन बढी नेपाली सेनाका अवकाशप्राप्त रथी, उपरथी, सहायक रथीहरु, दुई दर्जन बढी अवकाशप्राप्त महासेनानी, प्रमुख सेनानी, सेनानीहरु र देशभरबाट छानिएर आएका २१२ जना महाधिवेशन प्रतिनिधिहरु सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर