दक्षिण अफ्रिकाको पिचमा नेपालको ब्याटिङ ‘एक्सपोज’, जिम्बाबेमा होला सुधार ? – Nepal Press

दक्षिण अफ्रिकाको पिचमा नेपालको ब्याटिङ ‘एक्सपोज’, जिम्बाबेमा होला सुधार ?

काठमाडौं । नेपालले जिम्बाबेमा आयोजना हुने एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफायरअघि दक्षिण अफ्रिकामा दुईवटा अभ्यास खेल्यो । तर, यी दुई खेलले नेपाली टिमको मनोबल बढाउनुको साटो घटाइदिएको छ ।

इतिहासमै शानदार फर्ममा रहेको नेपालको ब्याटिङ दक्षिण अफ्रिकाको बलिङमैत्री पीचमा धर्मरायो । अभ्यास खेल भएकाले नेपालले आफ्नो ‘बेस्ट ११’ त खेलाएको थिएन, तर मुख्य ब्याट्सम्यानहरुले नै रन बनाउन संघर्ष गर्दा जिम्बाबेको टुरअघि समर्थकहरु तनावमा परेका छन् । जित-हारभन्दा पनि विदेशी मैदानमा चल्न नसक्ने नेपाली ब्याट्सम्यानहरुको पुरानै कमजोरी देखिनु चिन्ताको विषय बनेको छ ।

नेदरल्यान्ड्स र स्कटल्यान्डविरुद्ध खेलेका दुवै खेलमा नेपालले पहिले ब्याटिङ गरेको थियो । स्कटल्यान्डविरुद्ध नेपाल २८.५ ओभरमा १३५ रनमै अलआउट भयो । कुशल मल्लले आक्रामक ३७ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । १३७ रनको झिनो लक्ष्य स्कटल्यान्डले ३ विकेट क्षतिमा भेट्टायो । नेपालले ३५ रनमै ३ विकेट लिएको भए पनि त्यसपछि स्कटल्यान्डका ब्रान्डेन म्याकमुलन र रेची बेरिङटनले अविजित साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याएका थिए ।

दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पनि नेपालले सन्तोषजनक ब्याटिङ गर्न सकेन । यस खेलमा कुशल मल्ललाई बेञ्चमा राखिएको थियो । नेपालले ३६.५ ओभरमा अलआउट हुँदा १५६ मात्रै जोड्न सक्यो । नेदरल्यान्ड्सले ३६.१ ओभरमा पाँच विकेट क्षतिमा लक्ष्य भेट्टायो ।

अभ्यास खेल भएकाले यो हारजितले कुनै महत्व त राख्दैन, तर विदेशी भूमिमा नेपालले आफ्नो ब्याटिङ स्तरमाथि उकास्न बाँकी नै रहेको बोध भएको छ ।

जिम्बाबेको जस्तै ‘कन्डिसन’ हुने भएकाले नेपालले अभ्यासका लागि दक्षिण अफ्रिका रोजेको थियो । यदि साँच्चै जिम्बाबेको पीच यस्तै हुने हो भने नेपाली ब्याट्सम्यानले बलिया टिमहरुविरुद्ध के गर्लान् भन्ने प्रश्न उठ्छ । नेपालले पहिलोपटक यस प्रतियोगितामा टेस्ट मान्यताप्राप्त टिमहरु जिम्बाबे र वेस्ट इन्डिजसँग भिड्ने मौका पाएको छ । दुईमध्ये कम्तिमा एउटा टिमविरुद्ध सरप्राइज नतिजा निकाल्ने लक्ष्य टिमको छ ।

घरेलु मैदानमा भएका पछिल्ला प्रतियोगिताहरुमा नेपालका ब्याट्सम्यान र बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । नेपालको ब्याटिङ स्तर निकैमाथि उठेको महसुस भएको थियो, चाहे त्यो एक दिवसीयमा होस वा टि–२० मा । नेपालले अविश्वसनीय प्रदर्शन गर्दै विश्वकप लिग २ अन्तर्गत पछिल्ला १२ मध्ये ११ खेल जितेर यो क्वालिफायरमा स्थान बनाएको हो । कम्तिमा क्वालिफायरको सुपर ६ सम्म पुग्ने नेपालको चाहना छ ।

प्रतियोगिताको उद्घाटन खेल नै नेपाल र घरेलु टीम जिम्बाबेबीच छ । १८ जुनमा हरारे स्पोट्र्स क्लवमा हुने म्याचमा नेपालले जिम्बाबेलाई ‘अपसेट’ बनाउन सकेमा त्यो अभूतपुर्व उपलब्धी हुनेछ । टेस्ट टीमको हैसियत भए पनि जिम्बाबे पछिल्लो समय त्यति बलियो मानिँदैन । यद्यपी, जिम्बाबेसँग सिकन्दर राजा, सिन विलियम्स, रियन बर्ल, क्राइग इर्भाइन जस्ता उत्कृष्ट खेलाडीहरु छन् । सिकन्दर राजा अहिले विश्वकै उत्कृष्ट अलराउन्डरको सूचीमा पर्छन् ।

नेपालको दोस्रो भिडन्त अमेरिकासँग छ । तुलनात्मकरुपमा अमेरिकाभन्दा नेपाल बलियो टीम हो र यसमा नेपालले जितको अपेक्षा गरेको छ । तेस्रो खेल नेपालका लागि निकै महत्वपूर्ण छ, जसमा नेपाली टीमले वेस्ट इन्डिजको सामना गर्नेछ । वेस्ट इन्डिजसँग जोनाथन चाल्र्स, जेसन होल्डर, निकोलस पुरन, साइ होप, किल मेयर्सजस्ता नाम चलेका खेलाडीहरु छन् । उनीहरुमध्ये पनि आइपीएलमा समेत तहल्का मच्चाइसकेका ब्याट्सम्यान निकोलस पुरन नेपालका लागि सबैभन्दा ठूला खतरा हुनेछन् ।

नेपालले चौंथो र समूह चरणको अन्तिम म्याच नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । समूहका दुई टिमलाई पछि पार्दै टप ३ मा रहन सके नेपालले सुपर ६ मा स्थान बनाउनेछ । अन्यथा घर फर्किनुपर्ने हुन्छ । क्वालिफायरको फाइनलमा पुग्ने दुई टिमले भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

जिम्बाबेको पीचले स्पिनरभन्दा बढी फास्ट बलरलाई सहयोग गर्छ । त्यसैले नेपालको फास्ट बलिङ चल्नु महत्वपूर्ण छ । फास्ट बलरको कोटामा सोमपाल कामी, करण केसी र गुल्शन झाले प्लेइङ-११ मा स्थान बनाउन सक्छन् । नेपालका स्पिनरको प्रदर्शन भने जुनसुकै पीचमा पनि अब्बल हुने गर्छ । जिम्बाबेमा सन्दीप लामिछानेले स्पिन मोर्चाको अगूवाई गर्नेछन् भने उनलाई ललितसिंह राजवंशीको साथ रहनेछ ।

ब्याटिङ पंतिको कुरा गर्दा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सम्भवत फेरि एकपटक प्रतियोगिताभरि बेञ्चमा नै बस्नुपर्ने हुन सक्छ । अभ्यास खेलमा मौका पाए पनि उनले आफ्नो लय भेट्टाउन सकेनन् । अर्का प्रमुख ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीको स्थानसमेत धरमर बनेको छ ।

पछिल्ला धेरै म्याचहरुमा उनले रन बनाउन सकिरहेका छैनन् । उनलाई दक्षिण अफ्रिकाका दुवै अभ्यास खेलमा चान्स दिइएको थियो, तर सफल भएनन् । नयाँ प्रशिक्षक मोन्टी देसाईले दिपेन्द्रलाई ७–८ नम्बरमा घटुवा गरेपछि उनको ब्याटिङको लय बिग्रिएको छ । तर, अनुभवी ब्याट्सम्यान र बलिङमा एकदमै महत्वपूर्ण भएकाले दिपेन्द्रलाई प्लेइङ ११ मा नराख्नु नेपालका लागि जोखिमपूर्ण हुन सक्छ ।

नेपालले आधिकारिक म्याचहरु भन्दा अगाडि १३ र १५ जूनमा दुईवटा वार्म अप म्याच खेल्ने छ । ओमान र यूएईविरुद्ध खेल्ने वार्म अप म्याचमा खेलाडीहरुले गर्ने प्रदर्शनका आधारमा अन्तिम ११ फाइनल हुन सक्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर