म निर्वाचित भएको ६ महिनामै कामको परिणाम देखिन थालेको छ: विनोद चौधरी – Nepal Press

म निर्वाचित भएको ६ महिनामै कामको परिणाम देखिन थालेको छ: विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी १ को विकासका लागि व्यवस्थित रुपमा कामको सुरुवात भएको बताए ।

परासीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सांसद चौधरीले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिबद्धतापूर्ण रुपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौं । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईंहरु सबैले देख्नुभएको छ ।’

उनले चुनावी प्रतिबद्धता कार्यान्वयनमा आफू इमानदार भएको बताए । ‘यहाँका नागरिकले मलाई निर्वाचित गराएर ऋण लगाउनुभएको छ । मतदाताको ऋण म सधैं सम्झिरहेको छु’, चौधरीले भने, ‘चुनावी प्रतिबद्धता कार्यान्वयनका लागि एउटा सिस्टमको निर्माण गरेको छु र उपलब्धिलाई संस्थागत गर्न म सदैव सक्रिय छु ।’

उनले वर्षौंदेखि समस्याका रुपमा रहेको गण्डक आयोजनाको कामले तीब्रता पाएको बताए । ‘हरेक वर्ष मनसुन आउनेवित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बीसौं वर्षसम्म बिग्रेर रहेका बाँध तथा ठोकरहरुको मर्मत सम्भारको काम तीब्रताका साथ अगाडि बढेको छ’, उनले थपे, ‘सरोकारवालाहरुले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुबान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’

सांसद चौधरी निर्वाचित भएपछि नारायणघाट-बुटवल सडक खण्डको निर्माण कार्यले तीब्रता पाएको छ । ५४ महिनाको दौरानमा १७ प्रतिशतमात्रै काम भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत यो सडक खण्डमा पछिल्लो एक महिनामा तीन प्रतिशत बढी काम भएको बुझिएको छ । अबको आठ महिनाभित्रै नवलपरासी खण्डको सडक निर्माण सम्पन्न हुने प्रतिबद्धता ठेकेरदार कम्पनीले आफूसँग गरेको सांसद चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गको काम अगाडि बढेको सांसद चौधरीको दाबी छ । ‘विभिन्न प्रकारका अवरोधको भूमरीमा परेको हुलाकी राजमार्गको काम अहिले अगाडि बढेको छ । विगतमा एकले अर्कालाई दोषारोपण गर्ने काम भएको थियो । अब यो काम सुरु भएको छ’, उनले भने ।

उनले केराको उत्पादन, बीउ र बजारीकरणका विषयमा पनि आफूले काम गरिरहेको बताए । विगतमा केराको बीउ अर्को मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा नवलपरासीमै बीउ उत्पादन हुन थालेको सांसद चौधरीले उल्लेख गरे ।

हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने चौधरीले विकासका आयोजना र कामका बारेमा सरोकारवाला पक्षसँग संवाद गर्ने गरेका छन् । विकास निर्माणका काममा भएका प्रगति र समस्याका बारेमा उनले छलफल गर्दै आएका छन् ।

चुनावका बेला ६ महिनामा भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता कार्यान्वयनमा आइसकेको उनको भनाइ थियो । सांसद चौधरीले नवलपरासी १ को विकासका लागि परियोजनाको छनोट गरेको र त्यसमध्ये १५ गौरवका आयोजनाको चयन भएको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस क्षेत्र नं १ का सभापति मुकुल आचार्यले सांसद चौधरीको जीतपछि व्यवस्थित रुपमा विकासको काम अगाडि बढेको बताए ।

बर्दघाट नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद सापकोटाले नवलपरासीको विकासका लागि सांसद चौधरीबाट स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न ऊर्जा थपिएको बताए ।


प्रतिक्रिया

One thought on “म निर्वाचित भएको ६ महिनामै कामको परिणाम देखिन थालेको छ: विनोद चौधरी

  1. ए ! यी भनिएका कामहरू अहिलेसम्म अडकिएको त चौधरी साँसद नभएर पो रहेछ ? वाहियात कुरा गर्ने यस्ता पनि साँसद ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर