अत्यधिक गर्मीका कारण सुर्खेतमा जनजीवन प्रभावित, खानेपानी र विद्युतको समस्या – Nepal Press

अत्यधिक गर्मीका कारण सुर्खेतमा जनजीवन प्रभावित, खानेपानी र विद्युतको समस्या

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पछिल्लो समय गर्मी अत्यधिक बढ्न थालेपछि जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा लाग्ने प्रचण्ड गर्मीका कारण दैनिक जस्तो गरिने कामकाजमा प्रभावित बनेको हो ।

दिउँसोमा चल्ने तातो हावाले स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पारिरहेको छ । जलवायु परिवर्तनका कारण वीरेन्द्रनगर वर्षेनि विभिन्न प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ ।

बढ्दो जनघनत्व र त्यसमा पनि भरपर्दो बिजुली नहुँदा थप समस्या उत्पन्न भएको छ । मागअनुसारको बिजुली आपूर्ति नहुँदा रातको समयमा पनि सहज रुपमा सुत्न सकिने अवस्था छैन ।

गर्मी बढेसँगै सुर्खेतमा विद्युत र खानेपानीको सङ्कट समेत परेको छ । ६/७ दिनमा एक दिने आउने खानेपानी र ‘लो भोल्टेज’ का कारण गर्मीको समय थप पीडा दिएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार आइतबार राजधानी वीरेन्द्रनगरको तापमान ३९.४ डिग्री सेल्सियस रहेको छ । वीरेन्द्रनगरमा मापन भएको यो तापमान हालसम्मको दोस्रो रेकर्ड हो । जुन पश्चिम नेपाल अन्तर्गत पर्ने नेपालगन्ज र धनगढी सहरपछि तेस्रो स्थानमा पर्छ ।

वीरेन्द्रनगरको न्यूनतम तापक्रम २०-२५ डिग्रीको हाराहारीमा रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत मौसमविद् अर्जुन भुसालका अनुसार अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको छ । गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह गरिएको छ । उनका अनुसार वीरेन्द्रनगरको यो पटकको तापक्रम विगत १० वर्ष यताकै उच्च हो ।

२०६९ जेठ ३२ गते वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४२.८ डिग्री सेल्सियस मापन भएको थियो । जसमा सबैभन्दा कम तापक्रम २०६९ पुस २५ गते माइनस शून्य दशमलव सात डिग्री सेल्सियस मापन भएको रेकर्ड छ ।

यस्तै, सुर्खेतमा सरदर वर्षाको औषतमा सबैभन्दा धेरै २०७१ साउन ३० गते चार सय २३ मिलिमिटर वर्षा मापन भएको थियो ।

गर्मी बढेसँगै वीरेन्द्रनगरका शैक्षिक संस्थाहरू बन्द भएका छन् । त्यस्तै, अनियमित विद्युत् र खानेपानीको अभावका कारण घरभित्रको बसाइसमेत असहज बन्दै गएको छ ।

विद्युत अनियमित र ‘लो-भोल्टेज’ले नागरिकको दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव परिरहेको छ । ‘लो भोल्टेज’का कारण पङ्खा पनि राम्रोसँग नचल्ने गरेको स्थानीय यामुना शाही बताइन् । उनले,ञ पंङ्का मात्रै नभएर चिसो पानी खान खोज्दा पनि ‘लो भोल्टेज’का कारण चिसो पानी खान पनि पाइदैन् ।,

कर्णालीमा आउने कोहलपुर-सुर्खेत ३३ केभीको पुरानो संरचनाका कारण विद्युतको लोड धान्न मुस्किल पर्ने गरेको विद्युत् प्राधिकरण शाखा कार्यालय सुर्खेतले जनाएको छ ।

जेठ १६ गतेदेखि बढ्न थालेको तापक्रम पछिल्ला चार दिनयता अत्यधिक गर्मी बढेको छ । अहिले तराई तथा भित्री मधेशका अधिकांश स्थानको तापक्रम ४० डिग्रीभन्दा माथि छ । सरदर खडेरीमा २८ देखि ३० डिग्री औषत तापमान पुग्ने सुर्खेतमा यसपटक ३९.४ डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर