‘ओलीलाई फेरि अध्यक्ष बनाउन उमेर हद हटाएको होइन’ – Nepal Press
नेपाल टक

‘ओलीलाई फेरि अध्यक्ष बनाउन उमेर हद हटाएको होइन’

अष्टलक्ष्मी शाक्य भन्छिन्- आफ्नै ठाउँमा मात्रै केन्द्रित भएर पार्टीको समस्या थाहा हुँदैन त्यसैले फरक भूगोल खटाइएको हो

काठमाडौं । नेकपा एमालेले नेताहरूको पार्टी रूपान्तरणसहित आगामी निर्वाचनको रणनीति अख्तियार गर्दै एकपछि अर्को अभियान चलाइरहेको छ ।

हालै मात्रै दुई महिने मिसिन ग्रासरुट अभियानको समीक्षा गरेलगत्तै नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएर पठाएको छ । तर, पार्टीको निर्णयप्रति केही नेताहरू सन्तुष्ट बन्न नसकेपनि पार्टी सुदृढीकरण र एकताबद्ध बन्न बल पुग्ने नेताहरूको बुझाइ छ ।

त्यसो त एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेरहद पनि हटाएको छ । यो निर्णयले दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा छिट्टै पुग्ने सम्भावना अवरोध गर्छ। तर, नेताहरूले त्यसबारेमा खुलेर विरोध गरेका छैनन्।

कतिपयले एमालेमा तत्काल नेतृत्व लिन सक्ने अध्यक्ष केपी शर्मा ओलीपछि अर्को नेता नै नभएको कारणले उनैलाई अध्यक्ष बन्न बाटो खुला गरिएको बताउँदै आइरहेका छन्। पार्टीका नेताहरूलाई अर्को भूगोलमा पठाउनुको कारण, ७० वर्षे उमेरहद किन हटायो ? उमेद हद हटेपछि पार्टी छाडेलाई ल्याउनेबारे के हुँदैछ ? यही विषयमा केन्द्रित रहेर नेपाल प्रेसका लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग गरिएको संक्षिप्त कुराकानी :

– एमालेले नेताहरूलाई किन फरक भूगोल पठाएको हो ?

हामीले अहिलेमात्रै होइन, पहिला पहिला पनि गर्थ्यौं । आफ्नै जिल्लामा बसेर भन्दापनि नेतृत्वले एकअर्कामा सबै कमजोरी थाहा पाउनुपर्छ भन्ने कुरा हो ।

पहिला पहिला पनि हामीले गर्ने गरेको थियौं । तर, संसदीय राजनीतिमा आइसकेपछि हामी देशव्यापी रूपमा केन्द्रित हुन सकेनौं । हामी आफ्नै जिल्ला र आफ्नै क्षेत्रमा केन्द्रित भयौं । नेताहरूले एउटै क्षेत्रमा केन्द्रित हुँदा पार्टीको समस्या पहिचान हुन सकेन ।

पार्टीको समस्यासँग जानकारी होस् र सहयोग पनि होस् भन्नेका लागि नेताहरूलाई अर्को क्षेत्रमा पठाएका हौं ।

यसले पार्टीलाई एकढिक्का बनाउन सहयोग पुग्छ । एक ठाउँबाट अर्को ठाउँमा नेताहरू गइसकेपछि पार्टीमा नयाँ ढंगले छलफल हुन्छ । त्यसले पार्टी विस्तारका गतिविधिमा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।

– तर, अर्को भूगोलको जिम्मेवारी दिएर पठाउँदा नेताहरू सन्तुष्ट त देखिँदैनन् नि ?

पार्टीले नेताहरूलाई एक वर्षको लागि मात्रै पठाएको हो । तर, चुनाव अगाडि त सबै नेताहरूलाई आ-आफ्नै क्षेत्रमा खटाउनै पर्छ, खटिनुपर्छ जोजो जहाँ जहाँ भएपनि । यसले संगठन व्यवस्थित बनाउनका लागि नेतृत्वले भनेपछि सबैले काम गर्नुपर्छ।

आफ्नै ठाउँमा मात्रै केन्द्रित भएर पार्टीको समस्या थाहा हुँदैन । अहिले पार्टीका नेताहरू आफ्नो ठाउँमा मात्रै केन्द्रित भइरहेका छन् । यसो गर्दा पार्टीको समस्या मात्रै नभएर पार्टीभित्रको अन्तरविरोधको पनि अन्त्य गर्न सहयोग पुग्छ।

– एमालेले केही समयअघि मिसन ग्रासरुट पनि चलाएको थियो । लगत्तै फेरि नेताहरूलाई अर्को भूगोलमा पठायो । पार्टी रूपान्तरण गर्न लागेको हो ?

अहिले पार्टीमा समस्या त ठूलो त्यस्तो केही छैन । जिल्ला तहमा पनि नयाँ नेतृत्व भएपछि पार्टी रूपान्तरण गर्न सजिलो हुन्छ भन्ने हो । पार्टीलाई एकताबद्ध भएर अन्तर्विरोधलाई कम गर्नुपर्छ भन्ने हो ।

यसअघि पार्टीले चलाएको मिसन ग्रासरुट पनि सफल नै भएको छ । त्यसबारे सबैतिरबाट हामीले छलफल गरेर पार्टीको केन्द्रीय समितिको बैठकमा पनि छलफल गरेर यो निर्णयमा पुगेका हौं । पार्टीभित्र अन्तरविरोधलाई अन्त्य गरेर आगामी निर्वाचन केन्द्रित हुनुपर्छ भन्नेमा पार्टीको जोड छ ।

– युवा अनुहारलाई नेतृत्वमा आउन दबाब बढिरहेको पार्टीले ७० वर्षे उमेद हद किन हटायो ?

अहिले पार्टीले निर्णय गरेको छ । तर, यसलाई विधान महाधिवेशनबाटै निर्णय गराउनुपर्ने हुन्छ । अहिले हामी एउटै टीमको धेरै नेताहरू ७० वर्ष कटिसक्यौं । यो टीम नै एक पटक बाहिरिनुपर्ने भएपछि पार्टी नेतृत्वमा समीक्षा आइहाल्छ ।

अनुभवी, पार्टीको पुरानो टीम भएकाले अटाउनुपर्छ भनेर धेरै नेताहरूको कुरा आयो । उमेरको कुरा हुँदैन कामको कुरा हुन्छ भन्ने कुरा गरेर अलिकति खुकुलो बनाउन खोजेको हो । पहिला हामीले नै राखेको व्यवस्था हो । एउटै नेता कति पटक अध्यक्ष हुने ? कति पटक प्रधानमन्त्री हुने भनेको जस्तै हो ।

– तर, केपी ओलीलाई नै फेरि अध्यक्ष बन्न बाटो खुला गर्नको लागि यो व्यवस्था ल्याइएको भन्ने चर्चा छ नि ?

होइन, होइन । त्यो विल्कुल हुन सक्दैन । दुई पटकभन्दा धेरै अध्यक्ष बन्न नमिल्ने विधानमै भनिएको छ । उमेरहद हटाएपछि मान्छेहरूले आँकलन गर्ने त भइहाले । तर, त्यस्तो होइन । ठूलो टीम नै एकैपटक ७० वर्ष पुगेकाले पार्टीलाई असर गर्छ भनेर नै हटाएका हौं ।

– उमेरहद हटेपछि वामदेव गौतमले पनि अध्यक्षबाट बोलावट भयो भने तयार छु भन्नुभएको छ । पार्टी फर्काउने कस्तो पहल हुँदैछ ?

उमेरहद हटाइसकेपछि उहाँ आफैँले ढोका खुल्यो भनिसक्नुभएको छ । हामीले आउन चाहनेहरूलाई हामीले रोकेका छैनौं । तर, उमेर भइसकेपछि आउनै नमिल्ने भन्ने पनि होइन।

७० कटिसकेका कतिपय नेताहरू पनि सल्लाहकार परिषद्लगायत विभिन्न जिम्मेवारी लिएर काम गर्दै गरिराख्नुभएकै छ । उहाँहरू आफै पार्टी छाडेर जानुभएको हो । त्यो कुरा महसुस गर्न सक्नुपर्छ।

पार्टीलाई एकताबद्ध बनाएर कसरी लाने भनेर सोच्नुपर्‍यो । हाम्रोमा पार्टी फुटाउने कुरा रोग नै भयो । तर, एकजुट भएर जान तयार हुन्छु भन्नु राम्रो कुरा नै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर