धरानमा पानीको चरम अभाव : हर्क साम्पाङको श्रम अभियानले मुहान त थप्यो, खडेरीले सुक्यो – Nepal Press

धरानमा पानीको चरम अभाव : हर्क साम्पाङको श्रम अभियानले मुहान त थप्यो, खडेरीले सुक्यो

विराटनगर । धरानको तापक्रम शुक्रबार दिउँसो ३९ दशमलब ३ डिग्री सेल्सियस पुग्यो । धरानको यो तापक्रम अहिलेसम्मकै धेरै हो ।

सन् २०१३ मा धरानमा ३८ दशमलव ८ डिग्रीसम्म मापन भएको थियो । अचाक्ली गर्मी भएपनि धरान १० की सुमित्रा राईको घरमा पानी थिएन । डेरामा बसेकी सुमित्राले नुहाउन नपाएको दुई दिन भइसक्यो ।
धारामा पानी नआएपछि उनले ट्यांकर बोलाइन् । तर, तीन दिनसम्म ट्यांकरले पनि पानी ल्याउने छनक छैन । नुहाउने, लुगा धुने, भाँडा माझ्ने पानी नभएपछि उनी हिजोआज पिउँनदेखि सबै काममा जारको पानी चलाइरहेकी छन् ।

उखरमाउलो गर्मीमा पानी अभाव भएपछि उनले भनिन्, ‘ केही दिनलाई गाउँ फिर्ने तयारी गरिरहेको छु । पानी नै नभएपछि धरानमा कसरी बस्ने ? यो जागिरले कसरी के धान्ने ?’

सुमित्रा स्थानीय एक सहकारीमा काम गर्छिन् ।

सुमित्रा त एक उदाहरणमात्र हुन् । मेडिकल शिक्षामा दक्षिण एसियामै नाम कमाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खानेपानीको अभाव भएपछि एक साताका लागि पठनपाठन बन्द गरिएको छ । खानेपानी अभाव भएको भन्दै यहाँका विद्यार्थीहरूले प्रदर्शन गरेपछि एक साताका लागि प्रतिष्ठानले कक्षा नै स्थगित गर्‍यो ।

दैनिक २६ सयभन्दा बढी बिरामी आउने यस प्रतिष्ठानमा पानी अभावले उपचार सेवासमेत प्रभावित भइरहेको छ । पानी अभावलाई समाधान गर्न नसकिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असिस्टेन्ट डिन विम्मी सिंहले सूचना जारी गर्दै जेठ २३ गतेदेखि ३० गतेसम्मका लागि कक्षा स्थगन गरेका हुन् ।

उनले कक्षा स्थगन गर्नुअघि प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले जुलुस नै निकालेका थिए । खानेपानीको चरम अभाव भएपछि धरान-१४ का स्थानीयले १ घण्टा लगाएर डोकोमा पानी बोकिरहेका छन् ।
धरान-१४ स्थित पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रका बासिन्दाले खत्री धाराबाट खानेपानी बोकेर ल्याइरहेका छन् । यीनै मध्येकी हुन्, स्थानीय पवित्रा सुब्बा । उनी खानका लागि एक घण्टा लाएर पानी बोकेको बताउँछिन् । खत्री धारामा समेत निकैबेर पालो कुर्नुपर्छ, पानी पनि पर्याप्त छैन ।

खानेपानी समस्या साबिकको धरानमा मात्रै छैन । धरान खानेपानी व्यवस्थापन बोर्डले साबिक धरान नगरपालिकाका १९ वटा वडामा मात्रै खानेपानी वितरण गरिरहेको छ । धरानमा पछि गाभिएका गाविस पाँचकन्या र विष्णुपादुकाका केही स्थानमा खानेपानीको समस्या धरानको जस्तै छ ।

साबिक पाँचकन्या गाविसको वडा ५ र ९ हालको धरान-५ र सबिकको १, २, ३ ९ हालको ६ नम्बर वडामा खानेपानीको चरम अभाव छ । धरान-६ का रणध्वज लोहारको घरमा ३ दिन बिराएर पानी आउँछ । उनको धरामा आउने पानी कुलोको हो ।

‘कुलोको पानी पनि फिल्टर गरेर खानु परेको छ । कहिले लेदो आउँछ ट्यांकरको पानी मगाउँदा पनि पालो कुर्नुपरिरहेको छ’’ उनले भने ।

धरानमा खानेपानीको माग दैनिक ३ करोड लिटरभन्दा बढी छ । धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल अहिले दैनिक २ करोड लिटर वितरण भइरहेको बताउँछन् । जसमा ४० लाख लिटर जलाधार क्षेत्रका मुहानबाट आपूर्ति हुन्छ भने डेढ करोड लिटर चारकोसे जंगलका १० वटा वेलबाट आपूर्ति भइरहेको छ । धरानमा दैनिक १ करोड लिटर पानी अभाव भएका कारण मागको अनुपातमा आपूर्ति कम भएकैले समस्या भएको पोखरेल सुनाउँछन् ।

खानेपानीको सहज आपूर्तिको माग गर्दै धरानमा आन्दोलन हुँदै आइरहेको छ । यस वर्ष पनि स्थानीयले १३ नम्बर वडा कार्यालयमा घेराउ गरे । सामाजिक सञ्जालमा खानेपानीको अभावका गुनासा त्यत्तिकै पोष्ट छन् ।

खानेपानीको समस्या लिएर खानेपानीको कार्यालय, उपमहानगर र वडा कार्यालयहरूमा सेवाग्राही दैनिक सयौं छन् । खानेपानी बोर्डका कार्यकारी निर्देशक पोखरेल भन्छन् ‘खानेपानी आएन भनेर त दैनिक सेवाग्राही कार्यालयसम्म आइपुग्नुहुन्छ, हामी गुनासो सुन्दै व्यवस्थापन गर्न रातदिन खटिरहेका छौं ।’

४० को दशकदेखि पानीको समस्या

धरानमा खानेपानी समस्या भएको दशकौँ भयो । २०५० सालतिर धरानमा पानीको समस्या नभएको धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बो बताउँछन् ।

आफ्नो पहिलो कार्यकाल सम्झँदै उनले भने, ‘हाम्रो पालामा खानेपानी समस्या त्यति सार्‍हो थिएन । त्यस बेला बस्ती र जनसङ्ख्या पनि अहिलेको भन्दा धेरै कम थियो ।’

धरानमा खानेपानी व्यवस्थापन बोर्डका बाहेक ८० भन्दा बढी खानेपानी उपभोक्ता समितिले पानी वितरण गरिरहेका छन् । जसमध्ये वडा १३ मा मात्र १० वटा उपभोक्ता समिति छन् । ३, ४, ५, ६, ११, १३, १४, १५, १६ र १७ नम्बर वडामा पनि खानेपानी उपभोक्ता समिति छन् । ती उपभोक्ता समितिमध्ये कतिपयले सुख्खायाममा आफ्नै बेल बनाएर भूमिगत पानी प्रयोग समेत गर्दै आइरहेका छन् ।

करिब दुई वर्षअघि खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको सर्वेअनुसार उपमहानगरभित्र ९ हजार १ सय २४ धाराबाट ११ हजार ४६ घरपरिवारका ६० हजार ३ सय ७८ जनसङ्ख्यालाई ८२ वटा खानेपानी आयोजना र उपभोक्ता समितिमार्फत खानेपानी वितरण भइरहेको खानेपानी मन्त्रालयको अभिलेखमा उल्लेख छ ।

यीबाहेक दर्ता नभएका समितिहरू पनि छन् । समितिहरूमध्ये अधिकांशमा उपभोक्ता सङ्ख्यामा वृद्धि भए पनि खानेपानीको स्रोत र वितरण प्रणाली भने पुरानै रहेको पाइन्छ ।

मेयरको श्रमदानले थपेका मुहान पनि खडेरीले सुक्यो

खानेपानी समस्या समाधानको लागि धरानका मेयर हर्क साम्पाङ श्रम अभियानमा व्यस्त छन् । मेयर हुनुअघि पनि उनले खानेपानी आपूर्तिका लागि निरन्तर अभियान चलाएका थिए । खानेपानी माग गर्दै दिनहुँजसो विभिन्न निकाय धाउँथे । धरानेले जिताउनुको विभिन्न कारणमध्ये उनको खानीपानीको एजेण्डा पनि प्रमुख थियो ।

मेयर साम्पाङले धरानको खानेपानी समस्या समाधानका लागि विभिन्न दातृ संस्था र श्रम अभियानबाट तीनवटा खानेपानी आयोजना सम्पन्न गरिसकेका छन् । तर, उनको धरानमा खानेपानी समस्या समाधान गर्ने योजनाले भने अझै सार्थकता भने पाउन सकेको छैन ।

मेयरको अभियानले सार्थकता पाउला ? भन्ने जिज्ञासामा धरानका पत्रकार भैरव आङ्ला अहिले नै सबै सार्थक होला भन्न सक्ने अवस्था आइसकेको छैन तर सुधारको प्रयास जारी रहेको बताउँछन् ।

मेयरमा निर्वाचित भएको भोलिपल्टदेखि श्रम अभियानमा व्यस्त हर्क साम्पाङले धरानको पकुवा, निशाने, सर्दुखर्दु जस्ता बर्खे मुहानलाई खानेपानी लाइनमा जोडेर स्रोत थपेका छन् । तर, हिउँद लागेसँगै ती मुहान सुकेपछि धरानको समस्या जस्ताको तस्तै छ ।

साम्पाङ धरानको मेयर भएपछि सुरुमा उनकै नेतृत्वमा पकुवा खोलाबाट पानी संकलन गरे । पकुवा खोलामा ड्याम बनाएर उनले धरान ११ र १७ का लागि पानी पनि ल्याए तर हिउँदमा मुहानै सुक्यो । त्यसपछि सर्दु, लर्दु र निशानेको पानी जम्मा गरेर धरानमा पानी ल्याउने अभियान सुरू गरे ।

१ लाख २३ हजार क्षमताको ट्यांकीमा फिल्टर राखेर उनले त्यहाँको पानी धरान ११ को स्वस्तिक चोकमा झारे पनि त्यो मुहानबाट अहिले पानी वितरण भएको छैन । मुहानमै पानी सुकेपछि धारामा सोचे जसरी पानी आएको छैन । भालु खोलाबाट पनि धरान पानी ल्याउने योजना सुरु भई काम सम्पन्न भइसकेको छ । त्यहाँको पानी विजयपुरमा ल्याउने योजना छ । तर, अहिलेसम्म त्यहाँ पानी आइसकेको छैन । अहिले मेयर साम्पाङ धरानको वडा २० मा पर्ने कोकाहा खोलाको पानी ल्याउन श्रमदान अभियानमा छन् ।

करिब ४५ किलोमिटर टाढाबाट धरान पानी ल्याउनका लागि श्रमदानसँगै सहयोग पनि आइरहेको छ ।

यी सबै आयोजनाको इन्जिनियरिङको काम गोर्खा वेलफेयरले गरेको छ भने कतिपय योजनामा सहयोग पनि गरेको छ । विदेशमा बस्ने धरानेहरूले पनि यो अभियानमा आर्थिक र भौतिक सहयोग गरिरहेका छन् ।

मेयर साम्पाङले आज बिहानमात्र फेसबुकमा लेखेका छन्, ‘पानीको राजनीति नगर । सबैलाई मिलाएर खुवाउँदैछौँ । पहिले असोजदेखि अभाव हुन्थ्यो । अहिले दुईचार दिन अघिदेखि देखिएको खडेरीले गर्दा हो । धेरै हल्ला नगर । एक दिन बगाउने गरी पानी पठाउनेछु ।’

अहिले कोकाहाको पानी आधा बाटोसम्म आइपुगेको धरानका उप मेयर आइन्द्रविक्रम बेघा बताउँछन् ।

‘धरानको खानेपानी समस्या समाधानका लागि लागिपरेका छौं, तर अहिले नै समस्याको समाधान भइसकेको छैन’, उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *