प्रधानमन्त्रीले नदी बेचे, संकटमा परेको देशलाई बचाउन पूर्व सैनिकको आवश्यकता छ : राप्रपा अध्यक्ष लिङ्देन (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीले नदी बेचे, संकटमा परेको देशलाई बचाउन पूर्व सैनिकको आवश्यकता छ : राप्रपा अध्यक्ष लिङ्देन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरू भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकिर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरूलाई आह्वान गरे ।

उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी समेत गरे ।

उनले भने-

यो लडाइँ देश जोगाउने लडाइँ, धर्म जोगाउने लडाइँ, यो लडाइँमा उभिनु पर्ने भयो । यसमा एकचोटी तपाईँहरूको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु । तपाईँहरूले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो । आज हेर्नुहाेस् त देशको जिम्मा लिएको राजनीतिक दलहरू र व्यक्तिहरूका क्रियाकलाप कस्तो प्रकारका छन् ? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अङ्कित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दाखेरि यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ । तपाईँहरूले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोली तपाईँको भावी सन्ततिले देख्न नपाउने खतराहरू बढेर गएको छ ।

अध्यक्ष लिङदेनले भूतपूर्व सैनिकहरूका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताए । उहाँले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरूले चुप लागेर बस्न नमिल्ने पटक पटक दोहोर्‍याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर