तन्दुरुस्ती र फिटनेसमा रमाएका आले – Nepal Press

तन्दुरुस्ती र फिटनेसमा रमाएका आले

रुपन्देही । मान्छेका आफ्नै रुचि र इच्छा हुन्छन् । कोही त्यही त्यही रुचि र इच्छाअनुसार पाएको सफलतामा रमाएका हुन्छन् भने केही भने साना सफलताबाट पनि त्यति खुसी हुन सकेका हुँदैनन् । तन्दुरुस्ती र फिटनेसमा रमाएका रुपन्देहीको देवदहका सुनिल आले अहिले उदाहरणीय पात्र बनेका छन् ।

व्यस्त जीवनशैलीका बाबजुद पनि शारीरिक तन्दुरुस्ती र फिटनेसको लागि मानिसहरू व्यायाम गर्ने गर्दछन् । समयको परिवर्तनअनुसार खेतीबारीको कामबाट परिवर्तन हुँदै मर्निङवाकदेखि जिम हाउससम्म पुगेर आफूलाई फिट राख्नेको कमी छैन ।

अव्यवस्थित खानपान र अस्तव्यस्त जीवनशैलीले पुट्ट निस्केको भुँडी घटाउन जिम हाउस पुग्ने हुन वा साह्रै दुब्लो भएर मोटाउन जिम पुग्ने हुन सबैको ध्यान तान्छन् बुटवल फिटनेस एण्ड जिम सेन्टरमा जिम गर्न आउने सुनिल आलेले ।

पेशाले शिक्षक आले केही समयअघि सम्पन्न भएको प्रथम मिस्टर उजिर सिंह रुपन्देही जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्दै ३४ प्रतिस्पर्धीलाई पछि पार्दै ओभरअल च्याम्पियन बनेका हुन् । ६५ केजी तौल समूहका विजेतासमेत रहेका सुनिलले उपाधिसहित ५० हजार रुपैयाँ, ट्रफि र व्यानेट प्राप्त गरे ।

यो पुरस्कार उनले सहजै जित हात पारेका भने होइनन् । बुटवल दिपनगरमा जन्मेपनि हाल देवदह चरंगेबाट दैनिक बिहान ५ बजे जिम आइपुग्छन् आले । जिम नजानको लागि विभिन्न बाहानाहरु बनाउनेहरूका बीचमा जिम जाने बाहाना बनाएर नियमितता दिनसक्नु सामान्य कुरा भने होइन ।

बुटवल ८ सुख्खानगरमा रहेको बुटवल फिटनेस एण्ड जिम सेन्टरमा आउने सबैले आलेसँग यस्तै शरिर बनाउने टिप्स माग्ने गरेको बताउँछन् । उनी भन्छन्,‘शरीर फिट भएको सबैलाई मन पर्छ, मेरो शरिर मन परेर आफ्नो पनि यस्तै बनाउन टिप्स माग्ने धेरै हुनुहुन्छ । जिममा आउनेले त भन्नु नै हुन्छ बाहिरको साथीहरुले पनि भन्नुहुन्छ ।’

आले बुटवलको त्रिभुवन युनाइटेड एकेडेमीमा सामाजिक विषय अध्ययापन गर्ने गर्दछन् । उनको शारीरिक तन्दुरुस्ती र शारीरिक कसरतकै कारणले विद्यालयको अतिरिक्त क्रियाकलाप इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

विद्यालयमा विद्यार्थीहरुले फिगर (शरीर) देखाउन भन्ने गरेको बताउँदै आलेले शारीरिक फिट रहन विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने गरेको बताउँछन् । उनी भन्छन्–‘विद्यालयमा विद्यार्थीहरु शरीर देखाउनु न सर भन्नुहुन्छ, कहिलेकाहीँ देखाउँछु पनि । यो फिल्डको बारेमा बिद्यार्थीहरुलाई सहि सूचना प्रवाह गर्न पाएको छु । फिजिकल फिट बन्नुपर्छ भन्ने सन्देश दिन सकेको छु ।’

२०६९ वैशाख ३ गतेबाट जिम शुरु गरेका आलेले अहिलेसम्म नियमित रुपमा जिममा शारीरिक कसरत गर्दै आएका छन् । कोरोना महामारीमा लकडाउनले जिम हाउस बन्द भएको ३ महिनामा जिम नआएका आलेले घरमै कसरत गरेको स्मरण गर्छन् । उनी भन्छन्,‘मैले जिम शुरु गरेदेखि नियमित आइरहेको छु । कोरोना कालमा तीन महिना जिम आइन् । तर मैले घरमै कसरत भने गरिरहेको थिएँ ।’

उनलाई शरीर देखेर सोध्नेहरुले के खान्छस्, कति खान्छस् भन्ने गरेको बताउँदै शारीरिक सुगठनकै लागि सप्लिमेन्ट नै विकल्प नभएको उनी बताउँछन् । उनले शरीरको बनावट परिवर्तन र सहि ढंगले परिवर्तन गर्नको लागि समय लाग्ने बताउँदै कुनैपनि सर्टकर्ट बिधिको प्रयोग गर्न नहुने बताउँछन् ।

आले भन्छन्– ‘नयाँ नयाँ जिममा आउनेहरुलाई मेरो जस्तै शरिर बनाउन मन हुन्छ तर मैले त यो सब १० वर्ष लगाएर बनाएको हो । यो कुरा बुझ्दैनन् । सप्लिमेन्ट माग्ने गर्छन् । ’शरीरको बिकास हुनको लागि कसरत, खानपान, आराम सबैको व्यवस्थापन सहि हुनुपर्ने बताउँदै आलेले यसो नभएमा शरिरको बनाबट झन बिग्रने बताउँछन् ।

मगर समुदायका आलेको स्वभाव बाल्यकालदेखि नै शारीरिक कसरतमा बढी ध्यान दिने थियो । साथीहरु सँग पनि कुरा हुँदा बोडी(फिगर)कै कुरा हुनेगरेकोले यसमा बिशेष चासो बढ्दै गएको बताउँछन् । परिवारले शारीरिक कसरतको बारेमा निकै नराम्रो सोचाई रहेको भएपनि बिस्तारै त्यो सोच परिवर्तन गर्न सफल भएको बताउँछन् ।

‘मैले शारीरिक कसरतको लागि जिम आउँदा खर्च मात्रै भन्नेहरु पछिल्लो समय जिम आउने गरेका छन् । पहिले मेरै परिवारले पनि मलाई साथ दिएको थिएन्, आलेले भने ‘अहिले परिवारको साथ पाएको छु । परिवार पनि सकारात्मक हुनुहुन्छ ।’

२०६९ सालयता आले सबैजसो प्रतियोगिताहरुमा सहभागी हुँदै आएका छन् । पटक पटकको असफलताबाट पाठ सिक्दै आलेले आफूलाई अब्बल बनाउँदै ५० हजार राशीको प्रथम मिस्टर उजिर सिंहको उपाधि जित्न सफल भए । जिल्लास्तरीय प्रतियोगिताहरुमा पनि भाग लिँदै आएका उनले सन् २०१३ मा आयोजना भएको मिस्टर नेपालमा पहिलो राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए ।

तर पहिलो पटकको प्रतिस्पर्धामा उनी असफल साबित भए । तर त्यसगलत्तै बुटवलमा भएको बुटवल श्रीमा सहभागी भए । यसमा भने उनी आफ्नो उमेर समूह बिजेता बन्न सफल भए । यहि सफलताको यात्रालाई अगाडि बढाउँदै आलेले बि.सं.२०७४ मा धरानमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा ५५ केजीमा गोल्ड मेडलिस्ट भएका थिए । अन्य प्रादेशिक, जिल्ला तथा राष्ट्रियस्तरका खेलहरुमा द्वितीय, तृतीय हुँदै आएका छन् ।

फिटनेशका सञ्चालक बिजेन्द्रमान श्रेष्ठ दैनिक कसरत गरिरहेको देखेपछि जिममा आउनेहरुले आलेको जस्तो शरीर कति समयमा बन्छ भन्दै सोध्ने गरेको बताउँछन् । यद्यपि उनको उनको शरिर पनि उस्तै राम्रो छ, प्रशिक्षकको भूमिकामा शरीर पूरै ढाकिने लुगा लगाउने श्रेष्ठले पनि विभिन्न उपाधिहरु जितिसकेका छन् ।

यसअघि बुटवल फिटनेस एण्ड जिम सेन्टरबाट २०६५ मा भएको मिस्टर लुम्बिनीमा अनित घताने, २०७१ मा पोखरामा भएको मिस्टर पश्चिमाञ्चल र २०७१ मा नै बुटवलमा भएको मिस्टर बुटवल श्री मा फिटनेस सञ्चालक श्रेष्ठ विजयी भइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर