जनमोर्चा महासचिव भट्ट भन्छन्- नागरिकता विधेयक राष्ट्रघाती हो, नेपाली अल्पमतमा पर्छन् – Nepal Press

जनमोर्चा महासचिव भट्ट भन्छन्- नागरिकता विधेयक राष्ट्रघाती हो, नेपाली अल्पमतमा पर्छन्

रुपन्देही । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नभएको बताएका छन् ।

भारतलाई खुशी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दबाब दिएर नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेता भट्टको आरोप छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीको बुटवलमा शुक्रबार सुरु भएको छैटौं जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा महासचिव भट्टले सरकारले नागरिकता विधेयक ल्याएर गैरकानूनी काम गरेको दावी गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा मुछिएको उनले बताए ।

‘नागरिकता विधेयक ल्याउनुको प्रचण्डको प्रमुख उद्देश्य भारतलाई खुशी पार्नु हो’, नेता भट्टले भने, ‘अहिलेको नागरिकता विधेयक आएसँगै राष्ट्रियतामाथि खतरा बढेको छ । सार्वभौम सत्ता र अखण्डतामाथि भारतीय एकाधिकार बढेको छ ।’

विधेयकले एक करोड भारतीयलाई नागकिरता दिन बाटो खुलेको बताउँदै उनले अब नेपाली अल्पमतमा पर्ने चिन्ता बढेको औंल्याए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नेपालको हितमा नभएको दावी गर्दै उनले भारत र अमेरिकाले चीनविरुद्व लड्न सरकारलाई प्रयोग गर्नसक्ने बताए ।

‘भारतसँग बोल्न डराउने अनि नेपाल फर्केर भ्रमण देशको लागि ऐतिहासिक भयो भन्नु नेपाल र नेपालीमाथि गरिएको बेइमानी हो’, नेता भट्टले भने, ‘नेपालको भूमिलाई भारतले अखण्ड भारतको नक्सामा समावेश गर्नु सांस्कृतिक नक्सा नभई राजनीतिक नक्सा हो । त्यहीबाट पनि प्रस्ट हुन्छ, भारतले नेपालको हित चाहेको छैन ।’

संघीयता असफल भैसकेकाले प्रदेश संरचना खारेज गरेर देशलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

जिल्ला सम्मेलनको अवसरमा जनमोर्चाले ७५ वर्ष नाघेका कम्युनिष्ट नेता पुरुषोत्तम कँडेल र दिलप्रसाद नेपालीलाई सम्मान गरेको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रतिक्रिया

One thought on “जनमोर्चा महासचिव भट्ट भन्छन्- नागरिकता विधेयक राष्ट्रघाती हो, नेपाली अल्पमतमा पर्छन्

  1. राष्ट्रघाती नागरिकता विधेयक पारित गर्ने गठबन्धन नछोडने अनि गफ दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर