स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै २८ गते सुदूरपश्चिम प्रदेश बन्दको घोषणा – Nepal Press

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै २८ गते सुदूरपश्चिम प्रदेश बन्दको घोषणा

कैलाली । कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै भइरहेको आन्दोलन चर्किन थालेको छ । यस अघि सरकारविरुद्ध शालीन आन्दोलन गर्दै आइरहेको संघर्ष समितिले अब भने माग पुरा गराउन आम हड्ताल गर्ने समेत भएको छ ।

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघर्ष समितिले जेठ २८ गते सुदूरपश्चिम प्रदेशभरि आम हड्तालको घोषणा गरेको छ ।

संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै शालीन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दा पनि माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै कडा आन्दोलन गर्न बाध्य भएको जानकारी गराएको हो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा ८८ वटै पालिकामा रहेका सम्पूर्ण कार्यालयहरू, यातायात, उद्योग-कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयहरू बन्द गरिने जनाइएको छ ।

आम हड्ताल गर्दा पनि माग सुनुवाइ नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि यहाँ आन्दोलन सुरु भएको हो ।

यस अघि २०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । संघीय संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पनि उक्त विषय समेटिएको थियो ।

सरकारले निर्णय गरेर नीति तथा कार्यक्रममा समेटिसकेपछि पनि बजेटमा त्यसलाई काटिएको भन्दै कैलालीमा आन्दोलन सुरु भएको हो । यहाँ विभिन्न राजनैतिक दलका नेताहरू सहभागी सबै दलीय सङ्घर्ष समितिले र नेकपा एमालेले पनि छुट्टै आन्दोलन गरिरहेको छ ।

यस अघि प्रदर्शन नाराबाजी गरेको समितिले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड समेत राखिसकेका छन् । त्यस्तै यहाँबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन एसएमएस समेत पठाइने गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *