उद्योगको छतबाटै दैनिक ५०० किलोवाट सौर्य ऊर्जा उत्पादन – Nepal Press

उद्योगको छतबाटै दैनिक ५०० किलोवाट सौर्य ऊर्जा उत्पादन

रुपन्देही । वातावरण संरक्षण, थोरै लगानीबाट विद्युतको विकल्पमा उद्योगीले सौर्य ऊर्जाको उत्पादन गर्न थालेका छन् ।

नेपालमा ९७ प्रतिशत ऊर्जा जलविद्युतबाट उत्पादन हुन्छ । तर, हिउँद र सुख्खायाममा जलविद्युत उत्पादन कम हुने भएकाले उद्योगीहरुले वैकल्पिक ऊर्जा उत्पादनमा ध्यान दिन थालेका छन् । गर्मीयाममा विद्युत भारतबाट आयात गर्नुपरेको, पटक पटक अघोषित लोडसेडिङले उद्योगबाट उत्पादनमा कमी आएको तथा मेशिनरी समानहरु पटक पटक विद्युत काटिँदा क्षति भएकाले पनि उद्योगीहरुले यस्तो ऊर्जा उत्पादनमा ध्यान दिएका हुन् ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा रहेको राज ब्रुअरीले उद्योगको छत (रुफटप)मा दैनिक ५०० किलोवाट सौर्य ऊर्जा उत्पादन गर्न थालेको छ । देशको ऊर्जा विविधीकरणमा योगदान दिनुका साथै राज ब्रुअरीको सोलार रूफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कम गर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कम गर्न मद्दत गर्ने योजना उद्योगले राखेको छ ।

सोलारबाट उत्पादन भएको ऊर्जाले आफ्नो कारखाना सञ्चालन गर्ने र अतिरिक्त ऊर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुने कम्पनीले जनाएको छ ।

सिम्पल इनर्जीको सहकार्यमा बनेको यो सोलार परियोजना नेपालको ब्रुअरी उद्योगमा पहिलो र सबैभन्दा ठूलो हो । उद्योगले वार्षिक ८ लाख ४४ हजार युनिट सौर्य ऊर्जा उत्पादन गर्छ ।

रामग्राम नगरपालिका १६ हकुईमा रहेको साढे ३ अर्ब लागतको उद्योगको उक्त सोलार परियोजनाको केही दिनअघि उद्घाटन गरिएको छ ।

ऊर्जा उत्पादनका लागि उद्योगको टिनको छानामा १११० वटा सोलार प्यानल जडान गरिएको छ । राज ब्रुअरीका कार्यकारी निर्देशक शशिन जोशीले उत्पादित ऊर्जा उद्योगले खपत गर्ने र उद्योगलाई बढी भएको नेपाल विद्युत प्राधिकरणलाई दिन राष्ट्रिय ग्रिडमा जडान भइसकेको बताए ।

बडबाइजर बियर उत्पादन गर्दै आएको यो उद्योगबाट उत्पादन हुने ऊर्जाले उद्योग सञ्चालनसँगै बचत हुने अतिरिक्त ऊर्जा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय ग्रिडबाट वितरण हुने जोशीले बताए ।

करिब चार करोड लागतमा दुई महिनामै सम्पन्न यो सोलार परियोजनाले उद्योगमा खपत हुने वार्षिक एक करोड रुपैयाँ बराबरको विद्युत महसुल बचत गरेको सिम्पल इनर्जीका प्रमुख कार्यकारी निर्देशक अपार न्यौपानेले बताए ।

सौर्य ऊर्जा वातावरण संरक्षणका हिसाबले पनि निकै उपयुक्त भएको उल्लेख गर्दै न्यौपानेले ५०० किलोवाट सौर्य ऊर्जाले वार्षिक ३९ मेट्रिक टन कार्बन डाइअक्साइड ग्यासको उत्पादन (उत्सर्जन) रोक्ने बताए ।

हालसम्म सिम्पल इनर्जीले काम गरेका ६ वटा उद्योगमा २६ सय किलोवाट सौर्य ऊर्जा उत्पादन भएको र अन्य उद्योगमा समेत गरी देशभर ३५०० किलोवाट उत्पादन भएको उनले बताए । नेपालमा ९७ प्रतिशत ऊर्जा जलविद्युतबाट उत्पादन हुने तर हिउँद र सुख्खा याममा जलविद्युत उत्पादन कम हुने भएकाले भारतबाट आयात गर्नुपरेको हुँदा सौर्य ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने न्यौपानेले बताए ।

सौर्य ऊर्जाले वातावरण संरक्षणमा धेरै ठूलो भूमिका खेल्ने र छोटो अवधिमा आयोजना सम्पन्न हुने भएकाले सरकारले यसलाई प्रोत्साहन दिनुपर्ने न्यौपानेले बताए ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले पहिलो सोलार परियोजना सफल देखिएकाले ग्रुपअन्तर्गत चितवन, पर्सा र पश्चिम नवलपरासीकै अर्को गरी थप तीनवटा उद्योगमा पनि सौर्य ऊर्जा उत्पादन थाल्ने बताए ।

ग्रुपले उद्योग सञ्चालन गर्दा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको र सोलार परियोजनाले प्रदूषण नियन्त्रण गर्ने भएकाले अन्य उद्योगमा पनि शुरु गर्ने बताए । यसले ग्रीनहाउस ग्यास उत्सर्जन घटाउँदै दिगो विकास लक्ष्य १३ः जलवायु कार्यलाई पनि समर्थन गर्ने कम्पनीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *