बजेट नुवाकोट केन्द्रित भएकोबारे केसीको टिप्पणी- जिल्ला होइन निश्चित पालिका र वडामा लगिएको छ – Nepal Press

बजेट नुवाकोट केन्द्रित भएकोबारे केसीको टिप्पणी- जिल्ला होइन निश्चित पालिका र वडामा लगिएको छ

काठमाडौं । नुवाकोटबाट निर्वाचित सांसदसमेत रहेका कांग्रेस नेता अर्जुननरसिंह केसीले विकास बजेट नुवाकोट, डडेलधुरा र गोरखामा खन्याइएको भनिए पनि ती जिल्लाको समेत सबै ठाउँमा समान वितरण नभएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि धारणा राख्न रोष्टममा उभिएका केसीले जिल्लाबासी अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो निर्वाचन क्षेत्रको पनि निश्चित स्थानीय तहमा बजेटकेन्द्रित गरेको बताए ।

केसीले भने, ‘यहाँ नुवाकोटको सांसदको रूपमा उभिएकाले जिल्लामा बजेटकेन्द्रित भयो भन्ने सन्दर्भमा मैले धेरै बोल्न मिल्दैन । तर, जिल्ला होइन निश्चित निर्वाचन क्षेत्र र त्यसको पनि गाउँपालिका र वडाको हिसाबले बजेट गएको छ । यही तरिका हो भने माननीय सञ्जय गौतमले बर्दियामा रुखमुखी अनसन बसेजस्तै जनस्तरबाटै विरोध हुने अवस्था छ ।’

केसी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने समानुपातिकबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री महत क्षेत्र नम्बर १ का हुन् । उनले सोही क्षेत्रबाट चुनाव लड्न प्रयास गरेपनि माओवादीलाई छाड्नु परेकाले समानुपातिकको एक नम्बरमा बसेका थिए । महतले आफ्नो निर्वाचन क्षेत्र सोही ठाउँलाई बनाइरहेका छन् ।

नुवाकोटमा केसी र महत परिवारबीच लामो समयदेखि लडाइँ छ ।

केसीले संसदमा प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न दिएको भन्दै सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् ।

उनले भने, ‘संसद्को संरक्षक सभामुख हो । उहाँले नै हो संसद् र विशेष अधिकारको संरक्षण गर्ने । प्रधानमन्त्री संसद्को नेता हो । सार्वजनिक प्रस्ताव दर्ता भएपश्चात् सवाल जवाफ गरेर प्रमुख प्रतिपक्षालाई बोल्न दिन हुँदैन । प्रमुख प्रतिपक्षी दलको नेताको सम्मानित भूमिका छ त्यसमा मेरो कुनै विवाद होइन । तर, जुन गरियो त्यो परम्परा ठीक भएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर