प्रतिवादी सन्देश शर्माको दाबी- म आफैं जाहेरीवालाहरुबाट ठगिएको पीडित हुँ – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतिवादी सन्देश शर्माको दाबी- म आफैं जाहेरीवालाहरुबाट ठगिएको पीडित हुँ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको तर्फबाट वकिलहरुको बहस जारी रहेको छ । आज सानु भण्डारी र सन्देश शर्मा पक्षका वकिलहरुले बहस गरिहेका छन् ।

बहसमा सन्देश शर्माका वकिलहरुले उनी आफैं जाहेरीवालाहरुबाट ठगिएका पीडित भएको जिकिर गरेका छन् । उनीहरुले यो प्रकरणलाई बाहिर ल्याउनमा समेत सन्देशको प्रमुख भूमिका रहेको दाबी गरे । सन्देशले आफ्नो बयानमा समेत यही कुरा दोहोराएक छन् । उनलाई जाहेरीवालाहरुले पैसा फिर्तास्वरुप दुइटा चेकसमेत दिएका छन् ।

‘सन्देश आफैं अमेरिका जान चाहन्थे । उनलाई जाहेरीवालाहरुले अमेरिका लान्छु भनेका थिए’, सन्देशका वकिलहरुको तर्क थियो, ‘पछि आफूले रकम दिएर पनि अमेरिका जान नपाएपछि सन्देशले नै अरु पीडितहरु खोजेर यो घटना सार्वजनिक गरेका हुन् ।’

सन्देशको पक्षमा बिहीबार अधिवक्ताहरु सुशील कार्की, मंगल महत, नगेन्द्र चौहानलगायतले बहस गरेका छन् ।

यसअघि प्रतिवादी सानु भण्डारीका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अवैध कामका लागि लेनदेन भएको कारण जाहेरी र मुद्दा दर्ता हुने अवस्था नरहेको बताएका थिए ।

नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्ने अवस्थामा मात्रै मुद्दा चल्ने उनको जिकिर थियो ।

शंका र अनुमानलाई प्रमाण मान्न नमिल्ने भएकाले प्रतिवादीहरुलाई थुन्नुपर्ने कुनै कारण नरहेको उनको तर्क छ ।

मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारबाट अभियुक्त पक्षका वकिलहरूको बहस अघि बढेको छ । सो बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसाोसियसनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिन समय पाएका थिए । अभियुक्त पक्षका वकिलहरूलाई भने ६ दिनको समय दिइनेछ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाइ अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् । १२ जना अझै फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर