जनमतलाई सरकारमा भित्र्याउन माओवादी तयार, ‘डेन्जर जोन’ मा सुदन र मोदी ? – Nepal Press

जनमतलाई सरकारमा भित्र्याउन माओवादी तयार, ‘डेन्जर जोन’ मा सुदन र मोदी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई फेरि सरकारमा भित्र्याउने तयारी गरेका छन् । यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएर सरकारबाट बाहिरिएको जनमत पार्टी फेरि सरकारमा जान लागेको हो ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आफूहरु सरकारमा जान तयार रहेको बताए । उनले भने, ‘हामी सरकारमा जानकै लागि समर्थन गरेका हौं । अब केही दिनमै प्रधानमन्त्री फेरि सरकारमा सहभागी गराउने तयारीमा हुनुहुन्छ ।’

उनले कुन मन्त्रालय लिएर जाने भन्ने कुरा अहिले टुंगो नलागेको बताए । पहिला उद्योग मन्त्रालय नपाएपछि सरकार छाड्नुभएको थियो । अहिले कुन मन्त्रालयमा दाबी हो भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘अहिले त सबै मन्त्रालय प्याक छन् । अब प्रधानमन्त्रीले कुन मन्त्रालय मिलाउनुहुन्छ, हेरौं ।’

उद्योग मन्त्रालयको दाबी गरिरहेको जनमतका अब्दुल खान केही खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाले । तर, मन्त्रिपरिषद् पूर्ण विस्तार गर्दा पनि त्यही मन्त्रालयमै सीमित राखेपछि सरकार छाडेको थियो ।

तर, माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले पनि जनमतलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘हिजोको पदाधिकारी बैठकमा पनि सामान्य छलफल भएको थियो । उहाँलाई सरकारमा ल्याउनुपर्छ भन्नेमा छौं ।’

कुन मन्त्रालय दिएर ल्याउने भन्ने शीर्ष नेताहरूबाटै टुंगिने उनको भनाइ छ । जनमतलाई सरकारमा ल्याउने पार्टीले कुनै एक मन्त्रालय छाड्न तयार हुनुपर्नेमा नेताहरु एकमत रहेको आचार्यले बताए ।

भनेपछि माओवादीले नै मन्त्रालय छाड्ने हो जनमतलाई सरकारमा ल्याउन भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘आवश्यकताअनुसार त्यो त पहल कसै न कसैबाट त हुनै पर्‍यो नि ! त्यसमा सबै सहमत नै हुनुहुन्छ ।’

सरकारमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्रीमा रेखा शर्मा, ऊर्जामन्त्रीमा शक्ति बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी र पर्यटनमन्त्रीमा सुदन किराँती छन् ।

संघीय मामिलामन्त्री मोदी र पर्यटनमन्त्री किराँतीमध्ये एकलाई माओवादीले फिर्ता बोलाउने तयारी गरेको बताइन्छ । माओवादीका एक नेताले भने, ‘उहाँहरुमध्ये एकजनालाई फिर्ता बोलाउनसक्ने अहिलेसम्मको परिस्थिति छ हेरौं के हुन्छ ।’

प्रधानमन्त्री प्रचण्ड पर्यटनमन्त्री किराँतीको कार्यशैलीबाट सन्तुष्ट छैनन् । प्रचण्डले उनैलाई फिर्ता बोलाउने बलियो सम्भावना रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर