प्रतिवादीका वकिलहरू आक्रामक- प्रहरी र सरकारी वकिलमाथि यसरी खनिए – Nepal Press
नक्कली शरणार्थी प्रकरण थुनछेक बहस

प्रतिवादीका वकिलहरू आक्रामक- प्रहरी र सरकारी वकिलमाथि यसरी खनिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको थुनछेक बहसमा यसअघिका तीन दिन निराश देखिएका प्रतिवादीहरु बुधबार भने डायरी र कलम बोकेर सुरुवातदेखि नै उत्साही थिए ।

प्रतिवादीका कानून व्यवसायीहरुको बहस सुरु भएकाले उनीहरुले चनाखो भएर सुने ।

तीन जना प्रतिवादीका तर्फबाट बहस भएर बुधबारको समय सकिँदा प्रहरी कार्यालयको हिरासत कक्ष फर्कन लागेका उनीहरुको अनुहारमा साधारण तारेख वा धरौटीमा छुट्न सक्ने आत्मविश्वास देखिन्थ्यो ।

यो प्रकरणमा योजनाकार भनिएका केशव दुलाल र सानु भन्डारीसहित अर्का प्रतिवादी टंक गुरुङका पक्षमा बुधबार बहस भएको थियो । तीनै जनाका कानून व्यवसायीले यो प्रकरणमा संलग्नता अस्वीकार गरे । कुनै प्रमाणबीना र नगद नै बुझाएको भनिएको पैसाका आधारमा प्रतिवादी बनाइएको उनीहरुको दाबी थियो । दुलाल आफैं पीडित भएको उनका कानून व्यवसायी विकास थापाले जिकिर गरे ।

‘जाहेरवालामध्ये रोशन खरेलले मात्र उहाँको खातामा २० लाख रुपैयाँ जम्मा गर्नुभएको भन्ने छ । त्यो अर्कै प्रयोजनका लागि थियो र त्यो पैसा दुलालले फर्काइसकेको प्रमाण हामीसँग छ । तर सरकारी वकिलले दन्त्यकथा बनाएर अभियोग ल्यायो । दुलाल स्वयंले प्रतिक थापालाई २५ लाख रुपैयाँ बुझाएर आफू पीडित बनेको बताउनु भएको छ’, थापाले भने ।

यस्तै, उनका अर्का कानून व्यवसायी विश्वास आचार्यले दुलाललाई जाहेरवालाले नगद नै पैसा बुझाएको भनेर हचुवाका भरमा ठगी गरेको भनिएको दाबी गरे ।

‘नगदै पैसा बुझाएको कुरा कसरी प्रमाणित गर्ने ? पुष्टि गर्ने ? अर्को कागज नभएसम्म नगदै पैसा बुझाएको घटनामा अदालतले आजसम्म कसुरदार ठहर गरेको छैन । अनि दुलाललाई नगदै पैसा बुझाएको भन्नेबाहेक जाहेरवाला र सरकारी वकिल पक्षले उनीविरुद्ध कुनै प्रमाण पेश गर्न सकेका छैनन्’, आचार्यको जिकिर थियो ।

गृह मन्त्रालयमा रहेको प्रतिवेदन दुलाल जस्ता सामान्य मान्छेले कीर्ते गरे भन्नु कल्पनाबाहेक केही हुन नसक्ने उनका कानून व्यवसायीको तर्क थियो । भण्डारीका कानून व्यवसायी विनोद शर्माले भण्डारीविरुद्ध गजेन्द्र बुढाथोकीको नाममा ६१ जनाले जाहेरी दिएको भनिएकोमा ५/६ जनाबाहेक अन्यलाई प्रहरीले सम्पर्कमा ल्याउनै नसकेको बताए ।

‘चिन्दै नचिनेका ५५/५६ जना मान्छेले आफूविरुद्ध जाहेरी दिएपछि उहाँले बयानकै क्रममा आफूले आत्मदाह गर्छु भन्नुभएको हो । अन्य चार जनाले उहाँलाई पैसा दिएकोमा त्यो बेग्लै प्रयोजनका लागि थियो । त्यो पैसा भण्डारीले फिर्ता पनि गरिसक्नु भएको प्रमाण हामीसँग छ । उहाँले कुनै जाहेरवालाको पैसा पनि ठगी गर्नु भएको छैन । गृह मन्त्रालयमा रहेको डकुमेन्ट उहाँले कीर्ते गर्न सक्ने हैसियत कसरी राख्न सक्नु हुन्छ’, शर्माको भनाई थियो ।

उनले प्रहरीले नै सम्पर्कमा ल्याउन नसकेका जाहेरवालाहरु काल्पनिक भएको र यो मुद्दाले उनीहरुलाई चिन्न नसक्ने पनि बताए ।

भण्डारीको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालले १० लाख रुपैयाँ भन्दा बढी रकम बोकेर हिँड्न नपाइने र ५० हजार रुपैयाँभन्दा बढी रकमको कारोबार चेकबाट हुने कानूनी व्यवस्था रहेकाले जाहेरवालाले लाखौँ रुपैयाँ नगदै बुझाए भन्नु काल्पनिक मात्र भएको दाबी गरे ।

दुलालका कानून व्यवसायी राजन भट्टराईले २ रुपैयाँको साग किन्न पनि ग्राहकले ओल्टाइपल्टाई गर्ने भएकाले कसैले लाखौँ रुपैयाँ प्रमाण नराखी कसरी दिन सक्छ ? भन्दै प्रश्न गरेका थिए ।

अधिवक्ता चुणामणी पोखरेलले टंक गुरुङ उनले सञ्चालन गर्ने रेस्टुरेन्टमा मिठो खाना पाक्ने गरेकै कारण प्रतिवादी बनेको बताए । ‘कुनै होटलमा जो पनि पुगेर खान सक्छ । फलानो मान्छे त्यहाँ गएर खाएको थियो भन्ने आधारमा भात पकाएर जीविका गरिरहेको मान्छेलाई कसरी प्रतिवादी बनाउन मिल्छ ? गुरुङ आफैं पनि आर्थिक संकटमा छन् । तर आफ्नो रेस्टुरेन्टमा आएर खाना खाएकासँग परिचय थियो भन्ने आधारमा उनी प्रतिवादी बनेका छन् । यसरी प्रतिवादी बनाउने हो भने त यहाँ सबै होटल सञ्चालकहरुलाई प्रतिवादी बनाउने अवस्था आउँछ’, अधिवक्ता चुणामणि पोखरेलले भने ।

गुरुङले कुनै जाहेरवालालाई पनि नचिन्ने र कसैले उनको नाममा पैसा पनि नबुझाएको उनको भनाई थियो ।

सरकारी वकिल र प्रहरीमाथि खनिए कानून व्यवसायी : न्यायलयमाथि धावा बोलियो

प्रतिवादीका तर्फबाट बहस सुरु भएको पहिलो दिन कानून व्यवसायी अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलमाथि खनिएका छन् । वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले न्यायालयमाथि सुनियोजितरुपमा धावा बोलिएको बताए ।

‘मान्छे पक्राउ गर्ने वित्तिकै कसुरदार झैँ सार्वजनिक गरेर, मिडियाबाजी गरेर न्यायलयमाथि धावा बोलिएको छ । न्यायालयले फैसला नगर्दासम्म कोही पनि व्यक्ती दोषी हुँदैन । अभियोग दाबी गर्नु तथा कसुर लगाउनु र मुद्दा स्थापित हुनु फरक विषय हुन्’, वरिष्ठ अधिवक्ता अधिकारीले भने, ‘भए भरका सबै मुद्दा लगाउने अनि प्रमाण केही दिन नपर्ने ? अनि प्रतिवादीलाई थुनिदिनु पर्यो भन्न पाइन्छ ?’, उनले कसुर लगाएर मात्र नहुने र प्रमाणका आधारमा मात्र कसुर स्थापित हुने भन्दै धेरैवटा मुद्दा थोपरेर भ्रम छर्न खोजिएको दाबी गरे ।

अर्का वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालले जाहेरी प्रारम्भिक सूचना मात्र भएको र त्यसैलाई मात्र आधार बनाएर कसैलाई कसुरदार ठहर गर्न नमिल्ने बताए । सरकारी पक्षले गरेको अभियोजन पूर्वाग्रही रहेको उनको भनाई थियो ।

‘सरकार बाज हो र जनता चल्ला । चल्लालाई माउ बनेर जोगाउने काम अदालतको हो तर मिडियामा आउला भनेर डराउने, न्याय परिषद्ले तान्ला भनेर डराउने हो भने हाम्रो न्याय प्रणाली कता जान्छ’, रिजालको भनाई थियो ।

उनले सरकारी वकिललाई कानूनले स्वतन्त्रपूर्वक अनुसन्धान गर्ने अधिकार दिएको भएपनि हचुवाका भरमा काम सकेर अदालतमा मुद्दा थोपरिएको उनको भनाई थियो ।

‘फौजदारी अपराधमा प्रत्येक प्रतिवादीविरुद्ध उविरुद्ध लगाइने हरेक कसुरमा के कति कारणले के कति सजाय हुनुपर्ने हो भन्ने उल्लेख हुनुपर्छ । तर हाम्रा सरकारी वकिलले भएभरका सबै कसुरहरु लगाएर अदालतमा मुद्दा थोपर्ने मात्र काम गरेका छन् । यही कारण सरकारी वकिलको मुद्दा सफलताको दर निकै कम छ । कतिसम्म भने कतिपय अनुसन्धान र हिसाबकिताब अदालत आफैंले गरिदिनुपर्ने अवस्था छ’, उनले भने ।

सानु भण्डारीका कानून व्यवसायी शालिकराम सापकोटाले सरकारी वकिल र प्रहरीले सानु भण्डारीको काँधमा बन्दुक राखेर अरुलाई ड्यामेज गराएको दावी गरे । ‘सानुलाई जबर्जस्ती पोल्न लगाएर आफूले पक्राउ गर्न चाहेकालाई पक्राउ गरि मुद्दा चलाइएको छ । पोलिएका कतिलाई त्यत्तिकै छाडिएको छ । मन लागेका मान्छेलाई चलाउने र अरुलाई नचलाउने भन्ने हुन्छ ?’, उनले प्रश्न गरे ।

जाहेरवालालाई प्रतिवादी नबनाइएको भन्दै आपत्ति

प्रतिवादीका कानून व्यवसायीले जाहेरवालाबाटै गैरकानूनी काम भएको भन्दै उनीहरुलाई प्रतिवादी नबनाइएकोमा आपत्ति जनाएका छन् ।

‘कतिसम्म भने पीडितहरुबाट पैसा संकलन गरेर बुझाएको भनिएका गजेन्द्र बुढाथोकीलाई उन्मुक्ति दिइएको छ’, भण्डारीका कानून व्यवसायी शरदप्रसाद कोइरालाले भने ।

‘घुस खाने मात्र होइन, घुस दिने पनि अपराधी हुन् । तर यहाँ जाहेरवालालाई मतियार समेत बनाइएन ?’, वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले प्रश्न गरे ।

दुलालका कानून व्यवसायी विकास थापाले प्रतिवादीहरुलाई गैरकानूनी काम गर्न जाहेरवालाले नै उक्साएको आरोप लगाए । ‘हामी नक्कली भुटानी शरणार्थी बन्न तयार भएर अमेरिका जान तयार छौँ भन्दै उफ्रिएर आएपछि यो घटना भएको देखिन्छ’, अधिवक्ता थापाले भने ।

अमेरिका नपुगेकै कारण जाहेरवाला पीडित भन्ने हो भने प्रतिवादीहरुले पनि अमेरिका पुर्याई नसकेको अवस्था भएकाले उनीहरु कसुरको भागिदार नभएको जिकिर गरे । वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले टुडिखेल मिलाई दिन्छु भनेर ठगी गर्यो भन्न नमिल्ने बताए ।

अधिवक्ता विनोद शर्माले थुनछेक बहसमा सरकारी वकिलले अन्तर्राष्ट्रिय समुदायले अदालतलाई हेरिरहेको छ भनेर दबाबमा पार्न खोजेको बताए । ‘यो प्रकरणलाई पनि ३३ केजी सुनकान्डको अनुसन्धानजस्तै बनाइएको छ । हचुवाका भरमा अभियोग लगाइएको छ । २८ करोडभन्दा बढि बिगो दाबी गरिएपनि को, कसले, कसरी र कति ठगी गरेको भनेर अभियोगमा खुलाउन नसकेको उनले तर्क गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर