एमालेको विश्लेषण- पार्टीमा अहंकारी सोच देखियो, अविश्वासले अराजकता बढ्यो – Nepal Press

एमालेको विश्लेषण- पार्टीमा अहंकारी सोच देखियो, अविश्वासले अराजकता बढ्यो

पार्टीका निर्णय कार्यान्वयन सुरू नै नगरी आलोचना गर्ने प्रवृत्ति रोक्न निर्देशन

काठमाडौं । नेकपा एमालेले पार्टीमा पार्टी पंक्तिमा संगठानात्मक अराजकता बढेको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा समाजवादको आधार निर्माण गर्ने पार्टीको राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको भूमिकालाई जोड्न नसकिएको उल्लेख छ ।

अपानिमा भनिएको छ, ‘निर्वाचनमा आफ्नै पार्टीको बागी उमेद्वार बन्ने र घात-अन्तर्घात गर्ने समस्या देखापरेको, आफू उमेद्वार भए पार्टीको उमेद्वार, अरु भए नातावाद कृपावादबाट उमेद्वारी पाएको जस्ता आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी-अहंकारी सोच देखापरेको छ ।’

कतिपय जनप्रतिनिधि पार्टी कमिटीको मातहत हुन नचाहने र कतिपय निर्वाचित प्रतिनिधिले पार्टीका कार्यकारी पद समेतको दोहोरो भूमिकामा रहने कुराले पार्टी कमिटी र जनप्रतिनिधिबीच दूरी बढेको निष्कर्ष पनि निकालेको छ ।

पार्टी र जनसंगठनका विभिन्न कमिटीमा दोहोरो जिम्मेवारी लिने तर दुवैतिर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति, कतिपय स्थानमा कमिटी सदस्यबीच आन्तरिक एकता, विश्वासको कमी र गुटगत व्यवहार देखापरेको, पार्टीमा युवा सहभागिता न्यून हुँदै गएको, नेताहरुको सामाजिक अभियानहरु र काममा संलग्नता घट्दै गरेको, पार्टी नेता र जनताबीचको सम्बन्ध पातलो बन्दै गएको भनेको छ ।

पार्टीभित्र देखा पर्नसक्ने अन्तरविरोधको समाधानमा समुचित ध्यान नपुगेको, जनसंगठनहरुलाई संगठनात्मक स्वायत्तता र पार्टीको वैचारिक नेतृत्वका आधारमा सञ्चालन गर्ने कुरामा कमी रहेको, दक्षिणपन्थी अवसरवाद, संकीर्णतावाद, व्यक्तिवाद र अवसरवाद विरुद्धको संघर्ष गर्न निर्देश गरेको छ ।

पार्टीका निर्देशन र कार्यक्रमबारे टिकाटिप्पणी गरिहाल्ने र निर्णय कार्यान्वयन सुरु नै नगरी आलोचना र स्व–विश्लेषण गर्न थाल्ने प्रचलन बढेको, सामाजिक सत्तामा हाम्रो वर्चस्व कायम हुन नसकेको, जनजीविकाका सवालमा पर्याप्त सक्रियता र संवेदनशीलता नदेखिएको, निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको, सामान्य कार्यकर्ताले धान्नै नसक्ने स्थिति बनेको र अधिकांश उम्मेदवारहरु ऋणमा रहेको उल्लेख गर्र्दै निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने सुझाव प्रायः सबै प्रतिनिधिको रहेको उल्लेख गरिएको छ ।

पार्टी आन्तरिक जीवनको मुख्य चुनौती भनेको अस्वस्थ्य प्रतिस्पर्धा, प्राप्त जिम्मेवारी बहन नगर्ने, दोहोरोभन्दा बढी जिम्मेवारी रहेको देखिएको छ ।

अपानिमा भनिएको छ, ‘निर्वाचनका क्रममा विभिन्न स्तरमा असमझदारी, असहयोग र अन्तर्घातका गुनासा विभिन्न स्थानमा देखिएका छन् । जहाँ विजय हासिल गरिएको छ, त्यहाँ पनि आंशिक रुपमा असहयोगको अवस्था आएको गुनासो छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर