नेपाल-बंगलादेश ऊर्जा व्यापारमा तगारो भारत: भूमि सट्टापट्टाबारे प्रधानमन्त्रीको भनाइमा विज्ञ विभाजित – Nepal Press

नेपाल-बंगलादेश ऊर्जा व्यापारमा तगारो भारत: भूमि सट्टापट्टाबारे प्रधानमन्त्रीको भनाइमा विज्ञ विभाजित

काठमाडौं । ‘दुई देशबीच रहेको सीमा समस्याबारेमा यस पटक अलिक गम्भीर कुरा भएको छ । भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ । त्यसको समाधान गर्नुपर्छ भनेर त लेखेकै छन् । हामीले भारतीय पक्षसँग छलफल गर्दा विभिन्न विकल्पमा कुरा भएको छ । एउटा त बंगलादेशको जस्तै विकल्प छ’, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको समयमा सञ्चारकर्मीसँग भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डको भनाइअनुसार नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा दिएर बंगलादेश छुने गरी भारतको जमिन लिन सकिन्छ ।

तर, यही विषयमा नेपालका विज्ञहरु विभाजित देखिएका छन् । एकथरि विज्ञहरु प्रधानमन्त्रीले लिम्पियाधुरा र कालापानीसँग बंगलादेश पुग्ने भारतीय बाटोको सौदाबाजी गरेको बताउँछन् । यसले समस्या समाधान हुन नसक्ने भू-राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी बताउँछन् ।

अरुणकुमार सुवेदी ।

उनी भन्छन्, ‘सीमा समस्या समाधानका लागि बंगलादेश-भारत मोडेल एक ठाउँमा मात्र लागू हुन्छ । त्यो भनेको क्रस बोर्डर इनह्याभिटेसन एण्ड प्रोसेसन अफ प्रोपर्टी हो । पहिला बोर्डहरु सबै मार्किङ भएको थिएन । मार्किङ हुँदा नेपालीहरुको गाउँ भारततिर पर्‍यो । भारततिर परे पनि त्यसको अभिलेख नेपालीकरण भए । केही भारतीय नेपालमा परे । तर, उनीहरुको सम्पत्तिको अभिलेखीकरण भारतीय अड्डामा भयो । यसलाई समाधान गर्न बंगलादेश र भारतको मोडेल ठीक हुनसक्छ ।’

सुवेदीले नदीले कोर्स परिवर्तन गरेर समस्या भएको अवस्थामा यो मोडेलबाट समाधान नहुने बताए । ‘सुस्ता नेपालकै हो । फूलबारी बंगला बाटो उपलब्ध गराउने भनेर यसअघि नै तय भइसकेको छ । त्यसका लागि प्रधानमन्त्रीले कालापानी र लिम्पियाधुराको विषय उठान नै गर्नु पर्दैनथ्यो’, उनले भने, ‘नेपाल र भारतको सीमामा कालापानी, लिपुलेक र लिम्पियाधुरा छुट्टै विषय हो । यसको कहीं पनि सौदाबाजी हुने स्थिति छैन ।’

दुई पक्षीय राजनीतिक, कूटनीतिक र प्राविधिक वार्ताबाट बंगलादेशकै बाटोको मात्र विषयमा रहेर समस्या समाधान गरिनुपर्ने उनको तर्क छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भने अन्तर्राष्ट्रिय स्तरमै जमिन सट्टापट्टा वा लिज वा क्षतिपूर्ति दिएर तीन किसिमबाट लिन सकिने प्रावधान रहेकाले प्रधानमन्त्रीले उठाएको विषय त्यही प्रावधानअन्तर्गत रहने बताउँछन् ।

बुद्धिनारायण श्रेष्ठ ।

श्रेष्ठ प्रधानमन्त्रीले सारेको विकल्प अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको वैकल्पिक उपाय भएको बताउँछन् । ‘सट्टापट्टा गरियो भने लगभग क्षेत्रफलमा कति पनि कम नहुने गरी दिने चलन छ’, उनले भने ।

भारत र बंगलादेशले सन् २०१५ मा जमिन सट्टापटट गरेर सीमा विवाद मिलाउने सम्झौता गरेका थिए । सो सम्झौताले उनीहरुको भूमि विवाद समाधान पनि भएको थियो ।

श्रेष्ठ भन्छन्, ‘बंगलादेशले उनीहरुको बन्दरगाह प्रयोग गर भनेको छ । तर, भारतले नदिएकाले भारतकै बन्दरगाह प्रयोग गर्नुपरेको र अरु तेस्रो देशको बन्दरगाहको उपयोग गर्न सकेको छैन ।’

यद्यपि सीमा समस्या छलफल, वार्ता र सम्झौताबाट समाधान गर्नुपर्ने उनको तर्क छ । यसबाट पनि समस्या समाधान नभए मध्यस्थता खोज्ने र त्यसबाट पनि भएन भने अन्तर्राष्ट्रिय अदालतमा जान सकिने श्रेष्ठले बताए ।

केही विज्ञले भने एउटा पोर्ट र एउटा इन्ट्री प्वाइन्ट भूपरिवेष्ठितको अधिकार भएको बताएका छन् ।

के छ नेपाल-बंगलादेश व्यापारको स्थिति ?

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा अन्य सामान आयात निर्यातका लागि भारतको बाटो प्रयोगमा रहेको बताउँछिन् । अहिलेको सवाल विद्युत व्यापारको भएको उनले बताइन् ।

‘हामीले अन्य सामानको आयात निर्यातका लागि भारतको बाटो अहिले पनि प्रयोग गरिरहेका छौं । अब विद्युत प्रसारणलाइनको विषय हो’, राणाले भनिन्, ‘यसमा प्रधानमन्त्रीले भने जस्तै भयो भने नेपालको बिजुली बंगलादेशसम्म पुर्‍याउन सहज हुन्छ ।’

इप्पानका अध्यक्ष कृष्ण आचार्य बंगलादेश ऊर्जाको हंगर भएकाले नेपालले डेडिकेटेड लाइन बनाएर जानुपर्ने बताउँछन् । उनका अनुसार बंगलादेश नेपालसँग ९ हजार मेगावाट बिजुली किन्न तयार भएको छ । तर, भारतले बंगलादेशसम्म पुग्ने प्रशारणलाइन जाने बाटो नदिँदा समस्या भएको हो । भुटान, बंगलादेश, भारत र नेपाल मिलेर बनेको विकास समिति (बीबीआईएन)ले नेपाल-भारत-बंगलादेश ट्रान्समिसन लाइनका विषयमा कुरा उठाइरहेको छ । अहिले सबैभन्दा राम्रो सम्भावना ऊर्जा व्यापारमा भएको आचार्यको भनाइ छ ।

नेपाल र बंगलादेशबीच २०३२ सालमै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भएको थियो । तर, आर्थिक वर्ष २०५४/५५ बाट मात्रै व्यापार सुरु भएको थियो । नेपालबाट बंगलादेशको दूरी २७ किलोमिटर छ । दुई देशबीच व्यापार सुरु भएको २५ वर्ष भयो । नेपालबाट मुसुरो दाल, गहुँ, ह्याण्डीक्राफ्ट, जडिबुटी, पस्मिना र धागोजन्य सामग्री प्रमुख रूपमा बंगलदेश निर्यात हुने गरेको छ । बंगलादेशबाट भने ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, टमाटरको सस, बिस्कुट, प्लास्टिकका फर्निचर, मोबिल, आलु, दूध पाउडर, कस्मेटिक आइटम आयात भइरहेको छ ।

पछिल्लो समय नेपालले बंगलादेशसँगको व्यापार सन्तुलन गुमाउँदै गएको छ । नेपालले ऊर्जा व्यापार गर्न पाए बंगलादेशसँगको व्यापार नाफामा जानेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर