पर्वतको कुश्मामा बाँदर धपाउन आलो-पालो प्रणाली – Nepal Press

पर्वतको कुश्मामा बाँदर धपाउन आलो-पालो प्रणाली

पोखरा । खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् । तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्छन् ।

बाँदर एउटा दुइटा आए त छाप्रोमा बस्नेले नै धपाउँछ । हुल बाँधेरै आए त साध्य हुँदैन । अनि गाउँले सबैलाई खबर गर्नुपर्छ । यस्तो पिरलो दिनहुँ भइरहेको छ, जहिलेदेखि मकैमा घोगाा पस्न थाल्यो । यो नै पर्वतको कुश्मा नगरपालिका ९, ज्ञादीबासीका लागि दैनिकी बनेको छ ।

खेतबारीमा लगाएका बाली जोगाउन ज्ञादीबासीलाई हम्मेहम्मे परेको छ । पानीपरेपछि वैशाखमा लाएका बालीहरु पाक्नै लाग्दा बाँदर आतंक बढेको छ । ज्ञादीका करिब साढे २ सय रोपनीमा मकै लगाइएको छ । मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो त्यति घोगा खान मकैबारीमा छिर्छन् ।

बाँदर आतंक बढेपछि ज्ञादीबासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन् । कुश्मा नगरपालिका ९, ज्ञादीका वडाध्यक्ष राम शर्मा लामिछाने गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बसेको बताउँछन् ।

‘अब १ महिना बाँदरबाट बाली जोगाउन एकदमै कठिन हुन्छ, बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छ’, उनले भने, ‘यसपालि चाहिँ पालो नै बनाएर बाँदर धपाउन खेतबारीमै बसेका छौं ।’

उक्त क्षेत्रमा बाँदर आतंक नयाँ भने होइन । अघिल्लो वर्षहरुमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले सुनाउँछन् ।

‘अघिल्लो वर्षहरुमा पनि बाँदरले बाली खाइदिन्थ्यो, बाँदरबाट जोगाउन धेरै कोसिस गरियो । तर, नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बसेका छौं’, उनी भन्छन्, ‘बाँदर आएपछि कराउने हल्ला गर्ने अनि बाँदर भाग्छ, त्यसरी बालीनाली जोगाउँन सकिन्छ ।’

बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ । पालो परेको व्यक्ति सोही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि संकेत गर्ने गरिन्छ ।

‘हामी खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौं । सबैको पालो लगाएका छौं, कसले कति गते पालो परेको छ, त्यतिअनुसार छाप्रोमा बस्नुहुन्छ, र बाँदर आयो भने त्यहाँबाट संकेत गरिन्छ, संकेत पाउँदा वित्तिकै सानो झुन्ड रैछ भने आफै धपाउछन्, ठूलै भुन्ड रैछ भने सबै गाउँले गएर धपाउँछौं’, वडाध्यक्ष लामिछानेले भने, ‘७० घरको कमै त्यसरी जोगाउँछौं ।’

बाँदर धपाउने क्रृतिम उपायहरु अपनाए पनि बाँदर नभागेपछि उक्त उपाय नपनाएको वडाध्यक्ष लामिछाने बताउँछन् । ‘बाँदर धपाउन धेरै उपाय अपनाऔं, पड्काउने, बजाउने सबै गरियो । तर, भागेन’, उनले भने, ‘अहिले पालो लाएरले खेतबारीमा बसेपछि बाली जोगिन थालेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर