कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा – Nepal Press

कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

विराटनगर । माओवादीबाट कोशी प्रदेश सरकारमा रहेका माओवादीबाट मन्त्री भएका दुईजनाले राजीनामा दिएका छन् । माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।

‘कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनीतिक परिस्थितका कारण नेकपा माओवादी केन्द्र पार्टीले तपाईँको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले मैले तपाईँको सरकारमा रही निरन्तरता दिन नसक्ने अवस्था सृजना भएकोमा आजको मितिबाट लागु हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ,’ राजीनामा पत्रमा उल्लेख छ ।

मंगलबार प्रदेश पदाधिकारी र संसदीय दलको बैठकले माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट पनि मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर