भुईं मान्छेहरुले पछ्याइरहेका भुईं नेता – Nepal Press
ब्लग

भुईं मान्छेहरुले पछ्याइरहेका भुईं नेता

धरानका मेयर हर्क साम्पाङले श्रमदान अभियान सुरु गरेको ठ्याक्कै एक वर्षपछि म उनको श्रम शिविरमा पुगें । मध्य जेठको चर्को घामलाई चुनौती दिँदै करिब तीन हजार श्रमदाताबीच म पनि कोकहा जंगलमा पाइप तान्दै थिएँ । शारीरिक श्रम गर्ने बानी नभएको म जस्तो मान्छेको लागि १२० केजीको पाइप दश जनाको समूहमा अनकण्टार भीरमा तान्दै हिँड्नु कुनै मनोरञ्जन थिएन । कहिले काँधमा, कहिले हातमा र कहिले भुईंमा धिसार्दै ६० मिटर लामो पाइप बाँदर लड्ने भिरमा तान्नु थियो र तानियो पनि ।

धरानलाई पानी खुवाउने एकल सूत्रीय एजेण्डा बोकेर मेयर बनेका साम्पाङले धरान वरपरका सानातिना खोला खोल्सीका पानी त चुनाव जितेको ६ महिनामै ल्याएर खुवाइसकेका थिए । श्रमदानबाट पानी खुवाउने उनको अभियानमा विगत एक वर्षदेखि लाखौं मानिस सहभागी भइसकेका छन । उनको महत्वाकांक्षी योजना भनेको धरानदेखि पश्चिम उत्तर पर्ने कोकाहा खोलाको पानी धरान ल्याउनु हो । जसको लागि हरेक शनिबार श्रमदानमा हजारौं मानिस जुटिरहेका छन् ।

परिचित अपरिचित मानिसहरुको बीचमा पाइप तान्दै जंगलमा कुदिरहँदा मनमा अनेक तर्कनाहरु आइरहे । दुई-तीन किलोमिटर लामो मान्छेको लस्कर, सिंगो पहाड नै थर्काउने गरी मान्छेको चिच्याहट, ठाउँठाउँमा मेडिकल टीम, जंगलको बीचमा खाना पकाउने ठूलो मेस, पानी खुवाउने स्वयंसेवकहरुको बेग्ला बेग्ला समूह, हाते माइकबाट निर्देशन दिइरहेका श्रम कमाण्डरहरुको चर्को आवाज हेर्दा यस्तो लाग्थ्यो, यो कुनै युद्धमा हिँडेको एउटा ठूलो फौजीको यात्रा हो ।

हजारौंको भीडमा सँगैको साथी छुटेपछि फेरि भेट्न निकै मुस्किल पर्थ्यो । एक बेला एक साथी अर्को बेला अर्कै साथीसँग काँध मिलाएर पाइप तान्नुपर्ने हुन्थ्यो । यसो गर्दा अनेक किसिमका मान्छे भेटिए । धरानभित्रका मान्छेहरु श्रमदानमा आउनु स्वाभाविक नै थियो । तर, धरानभन्दा धेरै टाढा र देश बाहिरका मान्छेहरु पनि श्रमदान गर्न आएका थिए । लगभग ७७ जिल्लाकै मानिसहरु भेटिने ठाउँ थियो श्रमस्थल । अचम्मको कुरा दार्जिलिङ, सिक्किम, गान्टोक र पश्चिमा देशका नागरिकहरु पनि श्रमदान गर्न आएका थिए ।

दुई-तीन किलोमिटर लामो मान्छेको लस्कर, सिंगो पहाड नै थर्काउने गरी मान्छेको चिच्याहट, ठाउँठाउँमा मेडिकल टीम, जंगलको बीचमा खाना पकाउने ठूलो मेस, पानी खुवाउने स्वयंसेवकहरुको बेग्ला बेग्ला समूह, हाते माइकबाट निर्देशन दिइरहेका श्रम कमाण्डरहरुको चर्को आवाज हेर्दा यस्तो लाग्थ्यो, यो कुनै युद्धमा हिँडेको एउटा ठूलो फौजीको यात्रा हो ।

आखिर किन यसरी मान्छेहरु हर्क साम्पाङलाई पछ्याइरहेका छन् त ? एक दिन होइन, दुई दिन होइन, लगातार वर्ष दिनसम्म लाखौं मान्छे श्रमदानमा सहभागी भएका छन् र बाँकी दिनमा पनि यसरी नै सहभागी हुने पक्कापक्की जस्तै छ । रानी माहुरीलाई कर्मी माहुरीले पछ्याइरहे जस्तै हर्क साम्पाङलाई पछ्याइरहने मान्छेहरुको मनोविज्ञान बुझ्नुअघि हाम्रो समाज र राष्ट्रिय राजनीतिको थोरै विश्लेषण गर्नु जरुरी छ ।

पागल बस्ती र पागल नेता

एमालेका एक नेताले मेयर हर्क साम्पाङलाई ‘बहुला’ भनेपछि सामाजिक सञ्जालमा एमाले नेताप्रति गालीको बाढी आइरहेको बेला मैले चाहिँ साहित्यकार सरुभक्तको मदन पुरस्कार विजेता उपन्यास ‘पागल बस्ती’ सम्झिरहेको थिएँ । त्यस उपन्यासमा देखाइएको पोखराको नौडाँडापारिको काल्पनिक पागल बस्ती र उपन्यासका नायक प्रशान्तसँग धरानका काकाकुल जनता र मेयर हर्क साम्पाङ मिल्दोजुल्दो लाग्छ ।

पागल बस्तीमा अशिक्षित, अनपढ, निमुखा, रोगी, अपहेलित मानिसहरु ठूलो जमात छ । जसलाई आफ्नो पुत्रपुत्री बनाएर आदि गुरु प्रशान्तले बस्तीको नेतृत्व गरिरहेको हुन्छ । बस्ती निकै आदर्शवान हुन्छ । सबैले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छन् । आदिगुरु प्रशान्त आफैं श्रम गर्छन् । उनको पछिपछि चेलाचेलीहरु श्रमको लागि लाइन लाग्छन् । एउटा साम्यवादी समाज जस्तो हुन्छ पागल बस्ती । जहाँ कोही उँचो कोही होचो हुँदैनन् । आदिगुरुको आदर्श र सिद्धान्तमा पागल बस्ती नियमति चलेको हुन्छ ।

धरानका जनता पनि पागल बस्तीका मान्छेहरु जस्तै सीमान्तकृत छन् । आर्थिक हिसाबले सुसम्पन्न देखिने धरान शहर खानेपानीको समस्याले आक्रान्त बनेको वर्षौं भयो । धराने जनतालाई पानी खुवाउने भनेर राजनीतिक दलहरुले राजनीति गरेको करिब तीन दशक भयो । दलहरुको आस गर्दागर्दै धराने जनता काकाकुल भएर मर्ने अवस्थामा पुगिसकेका थिए । एसियाली विकास बैंकले धराने जनतालाई पानी खुवाउने भनेर ३ अर्ब पैसा सक्यो । तर, सफल भएन । धराने जनताको धैर्यताको बाँध भत्कनै लाग्दा एउटा पागल नेताको जन्म भयो ।

पागल बस्तीको आदिगुरु प्रशान्त जस्तै हर्क साम्पाङ पनि धराने जनताको लागि आदिगुरु भएका छन् । प्रशान्त प्रेमको अहमतामा पागल भएका हुन् भने हर्क साम्पाङ विकासको अहमतामा पागल भएका छन् । राजनीतिक दलले दशकौंदेखि पानीको आस देखाउँदै झूटको राजनीति गरेपछि साम्पाङ त्यसैको बदला लिन अहिले पागल जस्तै भएर लागेका छन् । उनलाई साथ दिन धराने जनतामात्र होइन, देश बिदेशबाट समेत प्रत्येक हप्ता हजारौं मान्छे साम्पाङको पागल बस्ती (श्रमस्थल)मा ओइरिन्छन् ।

धरानभित्रका मान्छेहरु श्रमदानमा आउनु स्वाभाविक नै थियो । तर, धरानभन्दा धेरै टाढा र देश बाहिरका मान्छेहरु पनि श्रमदान गर्न आएका थिए । लगभग ७७ जिल्लाकै मानिसहरु भेटिने ठाउँ थियो श्रमस्थल । अचम्मको कुरा दार्जिलिङ, सिक्किम, गान्टोक र पश्चिमा देशका नागरिकहरु पनि श्रमदान गर्न आएका थिए ।

भुईं नेता

हर्क साम्पाङ भुईं नेता हुन् । उनी सरकारी गाडी चढ्दैनन् । आफ्नै थोत्रे मोटरसाइकल भुटुटु बजाउँदै जहाँ पनि पुग्छन् । कार्यालय जाँदा सामान्य सर्ट, पाइन्ट, इस्टकोट र ढाका टोपी लगाउँछन् । अरु बेला पुरानो ट्राउजर, टीसर्ट र जुत्ता लगाएरै हिँडिरहेका हुन्छन् । बोल्दा ज्यादा आदरार्थी शब्द प्रयोग गर्दैनन्, आममान्छे जस्तै सामान्य भाषामा बोल्छन् । बरु विरोधीलाई सक्दो गाली गर्छन् ।

उनलाई जहाँ पनि भेट्न सकिन्छ, उनीसँग जहाँ पनि बोल्न पाइन्छ । उनलाई भेट्न कार्यकक्षमा पास लिनुपर्दैन । उनीसँग सेल्फी खिच्न, टिकटक बनाउन अनुमति मागिरहनु पर्दैन । उनी पनि आममान्छे जस्तै फेसबुकमा लाइभ गर्छन्, टिकटकमा लाइभ बस्छन् । उनी जहाँ भए पनि फुर्सदमा गीत गाउनु उनको पहिलो रुचि हो । आफैं गीत कोर्छन्, संगीत भर्छन् र गाइदिन्छन् ।

साम्पाङ एक सामान्य मान्छेको जीवन जिइरहेका छन् । आममान्छेलाई मनपर्ने उनको पहिलो विशेषता भनेकै यही सामान्य जीवनशैली हो । सुरु सुरुमा मानिसहरुले उनको यो शैलीलाई ढर्रा भनेर आलोचना पनि गरे । धेरैले भाइरल हुन गरिएको अवाञ्छनीय हर्कत भनेर टिप्पणी गरे । जब धराने जनतालाई पानी खुवाउन उनले गरेको श्रम अभियान सफल हुँदै गयो, तब सबैले उनको शैलीलाई स्वीकारमात्र गरेनन्, अनुशरण पनि गर्न थाले ।

हुन पनि जब हर्क साम्पाङ हाते माइक लिएर श्रमदाताहरुलाई कामको विवरण सुनाउन थाल्छन्, सबै जना उनको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्न अग्रसर हुन्छन् । प्रत्येक हप्ता शनिबार बिहान साढे सात बजेसम्म घोपा चोकमा श्रमदाताहरु भेला भइसक्छन् । त्यहाँ श्रमदाताहरु बोक्न पन्ध्र बीस वटा ठूला बस तयार हुन्छन् । बसमा नअटेका श्रमदाताहरु टेम्पो र निजी सवारीसाधनमा चढेर श्रमस्थलतिर लाग्छन् ।

श्रमस्थलको कमाण्डर त साम्पाङ आफैं हुन्छन् । तर, हजारौं मानिसलाई उनी एक्लै कमाण्ड गर्न सक्ने अवस्था हुन्न । कामको बाँडफाँट गरेर अरु सहायक कमाण्डरको साथमा मानिसहरु विभाजित हुन्छन् । सहायक कमाण्डरहरु पनि हाते माइकबाट श्रमदाताहरुलाई निर्देशन दिइरहेका हुन्छन् । श्रमस्थलमा पायक पर्ने केन्द्र बनाएर खानाको मेस स्थापना गरिन्छ । बिहानको खाजामा प्रत्येक श्रमदाताको लागि एक एक प्याकेट चाउचाउ र बिस्कुटको साथमा एक बोतल पानी वितरण हुन्छ । दिउँसोको खाना १२ बजेपछि हुन्छ । त्यसको लागि औसतमा ३ हजार मानिसको लागि दाल, भात, तरकारी, अचार र दुईथरि मासु पाक्छ । मासुमा प्रायः बङ्गुर र कुखुरा हुन्छ । तर, श्रमदाताले एक थोकमात्र रोज्न पाउँछ ।

दिनभरिको काममा साम्पाङसँगै काम गर्ने मौका थोरैले मात्र पाउँछन् । तिनीहरु आफूहरुलाई भाग्यमानी ठान्छन् । किनकि फुर्सदमा साम्पाङसँग भिडियो बनाउन भ्याएका हुन्छन् । धेरैजसोले टाढैबाट साम्पाङलाई हेरेरमात्र चित्त बुझाउनुपर्ने हुन्छ । कामको बाँडफाँटअनुसार मानिसहरु ठाउँठाउँमा झुण्ड बनाएर काम गर्नुपर्ने हुन्छ । प्रायः अपरान्ह ४ बजे कामबाट फर्कने समय तालिका हुन्छ । त्यो बेला तोकिएको स्थलमा जम्मा भएर साम्पाङले धन्यवाद मन्तव्य दिने गर्छन् ।

रोचक कुरा के हुन्छ भने मान्छेहरु दिनभरि काम पनि गर्छन् र पैसा पनि दिइराख्छन् । विभिन्न ठाउँबाट मानिसहरु समूह बनाएर ब्यानरसहित आएका हुन्छन् । कसैले नगद र कसैले जिन्सी सहयोग गरेर जान्छन् । सहयोग रकमको विवरण राख्ने छुट्टै टीम छ । कोही वृद्धवृद्धाहरु साम्पाङलाई भेट्न र हेर्नमात्रै पनि टाढा टाढाबाट आएका हुन्छन् ।

रोचक कुरा के हुन्छ भने मान्छेहरु दिनभरि काम पनि गर्छन् र पैसा पनि दिइराख्छन् । विभिन्न ठाउँबाट मानिसहरु समूह बनाएर ब्यानरसहित आएका हुन्छन् । कसैले नगद र कसैले जिन्सी सहयोग गरेर जान्छन् । सहयोग रकमको विवरण राख्ने छुट्टै टीम छ । कोही वृद्धवृद्धाहरु साम्पाङलाई भेट्न र हेर्नमात्रै पनि टाढा टाढाबाट आएका हुन्छन् । प्रायः लाहुरे परिवारका बयोवृद्धहरुले निकै मोटो रकम साम्पाङको हातमा थमाउँछन् । कोही कोही त भावुक भएर साम्पाङको हात ढोग्दै रुन्छन् पनि ।

राजनीतिप्रति अविश्वास

श्रमदानमा जति पनि मान्छेहरु आउँछन्, उनीहरुसँग दुइटामात्र कुरा हुन्छ । एउटा हो- दलीय राजनीतिप्रति तीब्र अविश्वास र अर्को हो- हर्क साम्पाङप्रति उच्च विश्वास । एकापसमा कुराकानी गर्दा श्रमदाताहरु यही दुइटा कुराको सेरोफेरोमा टीका टिप्पणी गरिरहेका हुन्छन् । विगत एक वर्षदेखि यही विश्वास र अविश्वासको घनचक्करमा साम्पाङको श्रम अभियान चलिरहेको छ । न साम्पाङ थाक्छन् न त श्रमदाताहरु गल्छन् । बरु श्रमदानको अभियान दिन दुई गुणा र रात चौगुना बढिरहेको छ ।

मेयर हर्क साम्पाङको कोकाहा खानेपानी अभियानमा अहिलेसम्म साढे चार करोडभन्दा बढी नगद र जिन्सी सहयोग उठिसकेको छ । फागुन दोस्रो सातादेखि लगातार ३ महिनाभन्दा बढी प्रत्येक शनिबार हजारौंको संख्यामा श्रमदाताले श्रमदान गरिसकेका छन् । श्रमदाताहरुको श्रमलाई रकममा परिवर्तन गर्ने हो भने यो पनि करोडौंभन्दा माथि नै हुन आउँछ । देश बाहिर दक्षिण कोरिया, जापान, यूकेबाट सहयोग रकम आउने क्रम जारी छ ।

एक व्यक्तिमाथिको यस्तो जनविश्वास फगत भावनात्मकमात्र होइन । राज्यप्रति जनताले विश्वास गुमाउँदै गइरहेको अशुभ संकेत पनि हो । जब राज्य प्रणाली र राजनीति असफल उन्मुख हुन थाल्छ तब नागरिकहरु विद्रोहको तयारीमा हुन्छ । नेपाली जनता वर्तमान राजनीतिप्रति तीव्र असन्तुष्ट छन् । पछिल्लो समयमा आएको भ्रष्टाचारका अनेकौं काण्डहरुको कारणले त झन नागरिकहरु आक्रोशित छन् । नागरिकहरुको आक्रोश, निराशा, असन्तुष्टिले कुनै न कुनै बेला विद्रोहको रुप अवश्य लिन्छ । हर्क साम्पाङ त्यही विद्रोहको एक रुप हुन् ।

अहिले बुलेट विद्रोहको सम्भावना छैन । त्यसैले नागरिकहरु परम्परावादी राजनीतिको विरुद्धमा ब्यालेट विद्रोहमा उत्रिएका छन् । धरान भनेको वामपन्थीहरुको लालकिल्ला हो । तर, लगभग तीन दशक वामपन्थीहरुले धरानमा शासन गरे पनि खानेपानीको समस्या समाधान गर्न नसकेपछि धराने जनताले ब्यालेट विद्रोहमार्फत वामपन्थीहरुलाई पाखा लगाई स्वतन्त्र व्यक्ति हर्क साम्पाङलाई आफ्नो नेता बनाए ।

राज्य प्रणाली राजनीतिले चल्छ । तर, राजनीति नै विकृत भएपछि राज्य असफल उन्मुख हुन्छ । त्यो अवस्थामा राज्यप्रति आम नागरिकको विश्वास गुम्दै जान्छ र कुनै अमुक व्यक्तिमाथि नागरिकको विश्वास जम्न थाल्छ । हर्क साम्पाङप्रति पनि आम नागरिकको यति विश्वास छ कि उनीबाहेक धरानमा अरु कोही इमानदार नेता नै छैन जस्तो भएको छ । हुन पनि उनी न आफू एक पैसा भ्रष्टाचार गर्छन् न अरुलाई गर्न दिन्छन् । ठेक्कापट्टाको भूमरीभन्दा निकै टाढा छन् मेयर साम्पाङ । अवस्था यही रह्यो भने अब चार वर्षपछि आउने चुनावमा साम्पाङविरुद्ध उम्मेदवारी दिन राजनीतिक दलहरुलाई ठूलो चुनौती नै हुनेछ ।

नेपाली जनता वर्तमान राजनीतिप्रति तीव्र असन्तुष्ट छन् । पछिल्लो समयमा आएको भ्रष्टाचारका अनेकौं काण्डहरुको कारणले त झन नागरिकहरु आक्रोशित छन् । नागरिकहरुको आक्रोश, निराशा, असन्तुष्टिले कुनै न कुनै बेला विद्रोहको रुप अवश्य लिन्छ । हर्क साम्पाङ त्यही विद्रोहको एक रुप हुन् ।

आलोचना भर्सेज लोकप्रियता

यति भनिरहँदा मेयर साम्पाङ आलोचनारहित सर्वमान्य नेता भने होइनन् । उनका विरुद्धमा धरानका राजनीतिक दलहरु अहिले पनि मोर्चाबन्दीमा छन् । धरानमा कार्यरत पत्रकारहरु मेयर साम्पाङविरुद्ध आन्दोलनमै छन् । वडा अध्यक्षहरुले बारम्बार कार्यपालिका बैठक बहिस्कार गरेर उपमहानगरपालिकाको कार्यकारी काम अघि बढाउन बाधा गरिरहेका छन् । तर, यी सबले मेयर साम्पाङलाई खासै छुदैन । उनी आफ्नो नीति, सिद्धान्त र आदर्शभन्दा एक इन्च डगमगाउँदैनन् । बरु विरोध गर्नेहरु कि झुकेर आउँछन् कि आफैं थाकेर चुप लाग्छन् ।

हुन त उनका समर्थकहरु पनि उनी त्यसरी हठी भएकोमा सन्तुष्ट छैनन् । विशेषगरी उनी पत्रकारहरु सबैलाई झोले देख्छन् । राजनीतिक दलका प्रतिनिधि सबैलाई दलाल भन्छन् । चित्त नबुझे अदालतलाई समेत थुक्छन् । यही कारण उनी बेलाबखत सार्वजनिक आलोचनाको शिकार पनि बन्छन् । नियम, कानून र ऐनभन्दा पनि आफ्नै पारा र ढर्रालाई सर्वोपरि ठान्ने उनको प्रवृत्ति धेरै पटक कानूनी रुपमा अवैध भएका छन् ।

उनीमाथि लाग्ने आरोप र गरिने आलोचना केही हदसम्म सत्य पनि छन् । यद्यपि उनको लोकप्रियताले ती सब ढाकछोप हुने गर्छ । विशेषगरी सामाजिक सञ्जालको माध्यमबाट उनी संसारभर लोकप्रिय छन् । फेसबुक पेजमा साढे ६ लाखभन्दा बढी फलोअर्स छन् भने टिकटकमा २ लाखभन्दा बढी । यति धेरै उनका समर्थकको बीच कसैले उनलाई आलोचना गर्छन् भने ती पनि आलोचनाको शिकार नै हुने गर्छ ।

तर, जतिसुकै आलोचना र कमजोरीको घेराबन्दीमा परे पनि हर्क साम्पाङ भुईं मान्छेहरुका नेता नै हुन् । उनीमाथि आम भुईं मान्छेहरुको अगाध विश्वास र भरोसा छ । सुकिलामुकिला नेताहरुबाट वर्षौं ठगिएको सोझासाझा मान्छेहरु साम्पाङलाई आफ्नो आदर्श ठान्छन् । त्यही भएर दलीय राजनीतिबाट विकर्षित र अपरिचित भुईं मान्छेहरु उनलाई अविरल पछ्याइरहेका छन् । भुईं मान्छेहरुको आधारभूत जीवनशैलीमा परिवर्तन ल्याउन नसके दलीय राजनीतिविरुद्ध बदला लिन पनि उनीहरु हर्क साम्पाङको पछि पछि दौडिरहेका छन् ।


प्रतिक्रिया

2 thoughts on “भुईं मान्छेहरुले पछ्याइरहेका भुईं नेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *